आज यो टिप्पणी लेख्दै गर्दा मलाई कलेजमा पढाउने एकजना ‘प्रोफेसर’ले हामी विद्यार्थीहरूलाई आफ्नो–आफ्नो नाम के कसरी रहन गयो? नामको अर्थ के हो?’ भनेर विस्तृत रुपमा लेख्न लगाएको प्रसंगको स्मरण भइरहेको छ। प्रोफेसरले बोकाएको दायित्व निर्वाह गर्ने क्रममै मैले आफ्नो नामको वास्ताविक अर्थ इतिहास र महत्व अझै राम्रोसँग बुझेको थिएँ।
नाम लामो र आफैँलाई असहज लाग्ने हुँदाहुँदै पनि हजुरआमाले राखिदिएको नाम हजुरआमा स्वर्गवास भइसकेको अवस्थामा नबदल्ने निचोडको जगमा मैले नफेरेको नामको अर्थ बुझ्दा आफैँ हर्षित अनि हजुरआमाप्रति धन्य पनि भएको थिएँ।
त्यसैपनि हाम्रो नाम, हाम्रो परिचय प्रारम्भिक माध्यम हो अनि हाम्रा राम्रो वा नराम्रो कर्मले हाम्रो नामलाई चम्काउने वा धमिल्याउने गर्छ भन्ने शिक्षा त सानैबाट दिइएकै पनि हुन्छ। त्यसरी हेर्दा हाम्रो नामको पृष्ठभूमि र अर्थजस्तै गर्विलो भए वा रहेपनि वर्तमानमा हामीले गर्ने कामले हाम्रो नामको सुन्दरता र वजन निर्धारण गर्ने कुरा पनि सत्य हो।
हामीमध्ये जोसुकैले पनि ‘आफूले आफूलाई म फलानो हुँ’ भनेर चिनाउन सकुञ्जेलमात्रै हामी जिउनुको अर्थ हुन्छ। तर जब हामी आफूलाई आफ्नो नामले चिनाउन सक्ने अवस्थामासमेत हुँदैनौँ वा रहँदैनौँ तब हामी चलनचल्तीको भाषामा ‘जिउँदो लास’ बन्न पुग्छौँ। याे अप्रिय तर सत्य पनि हो। कर्मले नाम चम्काउन सफल भएर जीवन सार्थक हुँदा होस् वा आफ्नै कर्मले बदनाम भएर आफूले आफ्नै नाम लिन नसकेर जिउँदो लास हुँदा होस् त्यसको जस वा अपजस जेसुकै होस् त्यसको भागिदार हामी आफैँ हो।
त्यसैले हामी सबैको कोसिस हुन्छ कि हामी आफ्नो कर्मले आफ्नो नामलाई चम्काउने काम गरौँ, जसले गर्दा हामी स्वयम् वा हाम्रा आफ्नाहरूले हाम्रो नाम लिँदा गर्व गर्न सकून्। तर, एकैछिन कल्पना गरौँ त त्यो अवस्थाको जहाँ हामीमध्ये कसैले आफ्नो कुनै कसुरबिना नै आफ्नो नाम लिनै नसक्ने, जबर्जस्ती आफ्नो पहिचान बदल्न बाध्य हुनु पर्ने अवस्था परोस्! अझै त्यस्तो अवस्था जहाँ आफूले अकल्पनीय अपराधको सिकार हुनु परेको होस् अनि सहानुभूति र न्याय हैन आफ्नो पहिचानै नलुकाएर दैनिक जीवननै जिउन बाध्य हुनुपरोस्! मलाई लाग्छ त्यो अवस्थाको सामना त के कल्पना गर्न समेत हामी सबैलाई गाह्रैपर्छ।
सत्य यही हो। तर, यही सत्य मनन् गर्दै यो टिप्पणी पढिरहेका वा अरू थुप्रैले हाम्रो मातृभूमि नेपालको एउटा चर्चित ‘बलात्कारको घटना’, त्यसको अनुसन्धान र त्याे शृंखलालाई नियाल्नुभएको छ, जहाँ त्यस घटनाकी पीडित एक किशोरीले रहरले हैन बाध्यताले आफ्नो नयाँ नाम स्विकार्नु परेको छ। हाम्रो सामाजमा व्याप्त पुरातनवादी सोच अनि रुढिवादी व्यवहारको कारण आफू बलात्कृत भएको भनेर दोषीलाई कारबाही गरिपाउँ भनेर जाँदा सहानुभूति र सान्त्वना कम अपमान र बदनामी ज्यादा सहन बाध्य भएर नयाँ नाम स्वीकारेर पनि न्यायिक लडाइँ जारी राख्ने ती किशोरी अर्थात् अहिले संचार माध्यमदेखि सामाजिक संजालसम्म चर्चामा रहेकी उनी हुन् ‘गौशाला– २६’।
जसले अन्तत आफूलाई बलात्कार गर्ने अपराधीलाई सजाय दिलाउन सफल भइन्। हो, हामीमध्ये कोही कसैलाई पनि थाहा छैन ती पीडित ‘गौशाला– २६’को हुन् तर हामी सबैलाई थाहा छ कि उनलाई उनको परिचय लुकाएर ‘गौशाला– २६’ बन्न बाध्य पार्ने अपराधी को हुन् भन्ने।
बलात्कारजस्तो गम्भीर अपराधमा संलग्न ती व्यक्तिको नाम उल्लेख गरेर उनको चर्चा गर्न म आवश्यक र उचित ठान्दिनँ किनकि उनी को हुन्, के हुन् भन्ने सबैले चिनेको बुझेकै कुरो छ। अहिले उनी एक प्रमाणित अपराधी हुन् र उनको नाम सहितको चर्चाले यो लेखले उठान गर्न खोजेको विषयसँग खासै तालुक पनि नराख्ने हुँदा जानेर बुझेर नै नाम लेख्न नचाहेको हुँ।
किनकि अब चर्चा अपराध र अपराधीको गरिरहन परेन किनकि सम्मानित अदालतले अपराध भएको ठहर गरेर अपराधीलाई सजाय दिइसक्यो। बरु चर्चा चासो र चिन्ता त कसैको हवसकाे सिकार भएर बलात्कृत अनि समाजमा अझै बाँकी रहेको कुरीति र गलत विचारको सिकार भएर आफ्नो नाम र पहिचानसमेत लुकाउन बाध्य भएर ‘गौशाला– २६’ बन्न पुगेकी ती किशाेरीको हुनुपर्छ। जो संचार माध्यमहरूको सूचनाको आधारमा बुझ्दा अपराधबाट भोगेको पीडाको अलवा आर्थिक अभाव तनाव र दुःखबाट गुज्रन बाध्य छिन्।
लामो न्यायिक लडाइँ ‘गौशाला– २६’ले कुन सहास हिम्मतले लडिन् र त्यस दौरान उनले के कस्ता गाह्रो साँघुरो भोगिन् त्यो उनले जस्तो गहिराइमा हामीले बुझ्न सक्ने कुरै भएन। तर, आर्थिक अभाव र पारिवारिक दायित्वको दबाब बिचबाट गुज्रनुपर्ने अवस्थाको बिचमा उनले भोगेको पीडा र उनले लडेको लडाइँ सहज पक्कै थिएन भन्ने अनुमान गर्न हामीमध्ये कोही कसैलाई गाह्रो नपर्ला।
कानुनी लडाइँका दौरान उनको मर्म र उनको पीडाको वास्तविकतालाई बाहिर ल्याउने संचारकर्मी, उनलाई न्यायिक लडाइँमा साथ दिने कानुन व्यवसायीहरूदेखि उनको पीडाको वास्तविकता महसुस गरेर उनलाई सान्त्वना दिने पंक्तिको कर्म वास्तवमै सम्मान योग्य छ। त्यो यस अर्थमा पनि तारिफ योग्य छ कि हाल आएर बलात्कारी ठहर भएका ती अभियुक्तको व्यक्तित्व र उनको पेशागत पहिचानले गर्दा धेरैलाई आजसम्म पनि ‘गौशाला– २६’ले भोगेको पीडा सत्य भन्दा हैन कि भन्ने लाग्छ र उनीहरू आफ्नो बुझाइलाई यसरी प्रस्तुत गर्छन् जसले गर्दा कहिलेकाहीँ अरू त अरू ‘गौशाला– २६’लाई पनि त्यो बलात्कार नै पीडकको विरुद्ध षड्यन्त्र रहेछ कि क्या हो! भन्ने सोच्न बाध्य पारोस्।
त्यस्तो प्रतिकुलताको बिचमा पनि ‘गौशाला–२६’लाई न्यायिक लडाइँमा डटिरहँन प्रत्येक्ष रुपमा हिम्मत दिने सबैलाई हामी सबैले धन्यवाद दिनुपर्छ भने अभाव अप्ठेरोसँग लड्दै–भिड्दै, कुनै प्रोलोभनमा नपरी न्यायिक लडाइँलाई टुङ्गाेमा पुर्याउने ‘गौशाला– २६’लाई अन्तर मनबाट सलाम पनि गर्नुपर्छ।
यद्यपि, लोकप्रिय मिडिया कान्तिपुरका पत्रकार तुफान न्यौपानेसँगको कुराकानीमा ‘मलाई सिंगापुर, अस्ट्रेलिया वा अमेरिका जहाँ जाने हो, त्यहीँ सेटल गरिदिन्छौँ, पाँच लाख डलर दिन्छौं भन्न आएँ। मैले मानिनँ किनभने हिजो पल शाहको घटनामा किशोरीलाई फकाएर, फुलाएर बयान बदल्न लगाए। पीडितको आवाजलाई कमजोर बनाए। मैले अहिले बयान बदलेँ भने भोलि अत्याचारमा पर्ने कसैले पनि बोल्न सक्ने छैनन्। बोलेपछि दुनियाँले पत्याउने छैन। भोलि कुनै दिदी-बहिनीले अत्याचार सहेर बस्न नपरोस् भनेर पनि म डटिरहन्छु’ भनेर हिम्मत देखाएर आफूले बोलेको कुरा पुर्याएर अपराधीलाई सजाय दिलाउने ती साहसी ‘गौशाला–२६’लाई शाब्दिक सम्मान मात्रै काफी छैन।
उनको अभाव दु:ख र संघर्षमय जीवनलाई सहज बनाउन भूमिका खेल्न सरकारलाई बाध्य पार्ने वा त्यसो हुन नसके आफूले पनि सकेको सहयोग गरेर अबको बाँकी जीवन सहज रुपमा चलाउन सक्ने अवस्था निर्माण गरिदिन हामीले सकेको सहयोग गर्नुपर्छ।
सञ्चार माध्यमहरूमा आएको समाचारको आधारमा बुझ्दा उनले भर्खरैमात्रै कक्षा १२ पास गरेकी छन् र अब कानुन विषय लिएर थप पढेर आफूजस्तो पीडा अब कोही कसैले भोग्न नपरोस् र भोगी हालेमा पनि उनीहरूले सहज रुपमा न्याय पाउन सकुन् भन्नेमा लाग्ने कुरामा दृढता साथ दत्तचित्त भएर लाग्ने उनको सपना छ रे!
विपन्न परिवारमा जन्मिएर एकल आमाकोसमेत आफैँ सहारा रहेकी भनिएकी ‘गौशाला– २६’लाई कमसेकम पढुञ्जेल खान बस्न अभाव नहोस् भन्नको लागि आवश्यक सहयोग खासमा सरकारले गर्दा राम्रो हुन्छ तर यदि भएन भने त्यसको लागि हामी आम नगरिकले पनि मन खोलेर सहयोग गर्नुपर्छ जस्तो लाग्छ।
त्यसैले सर्वप्रथम त लामो समयदेखि हाम्रो देशमा कहीँ कतै झडप भयो र कोही कसैले अनाहकमा वा भवितव्यमा ज्यान गुमायो र त्यसप्रति जनविरोध भयो भने सरकारले मृतकको परिवारलाई दस लाख रुपैयाँ दिँदै आएको र भर्खरै मात्र पनि ललितपुरको बालकुमारी र सर्लाहीको बरहथवामा भएको घटनामा दु:खद मृत्युवरण गर्ने मृतकको परिवारलाई दस लाख दिने निर्णय भएको सत्यको स्मरण गर्दै मरेर मृतक भएका ती पीडित र जिउँदै मर्न बाध्य भएर आफ्नो असली नामको साटो नयाँ नाम स्विकार्न बाध्य ‘गौशाला– २६’को पीडालाई समान दृष्टिले नै हेर्दा हुन्छ र हेर्नु पर्छ भन्ने लाग्छ। जीवन अमूल्य छ त्यसैले पनि अनाहकमा जीवन गुमाउनेहरूलाई दिइएको क्षतिपूर्तिप्रति आपत्ति गर्नु पर्ने केही छैन।
यद्यपि, यो सत्य स्मरण गर्नु गराउनु वान्छनीय छ कि मृत्यु भएकाहरू वा तिनको परिवारमात्रै पीडित हुँदैनन्, जिउँदै मर्न बाध्यहरू पनि पीडित हुन्। त्यसैले म घुमाइफिराइ गरी सिधै लेख्न चाहन्छु कि परिवारको सदस्यको निधनमा पीडित परिवारलाई क्षतिपूर्तिवापत दस लाख दिने सरकारले बलात्कारजस्तो अपराधबाट पीडित भएका अनि आर्थिक अभाव र सामाजिक तिरस्कारको सामना गर्न बाध्य बालिका, किशोरी र महिलाहरूको पीडा पनि मल्हम लगाउनुपर्छ।
त्यसैले गठबन्धन सरकार, गठबन्धन दलका नेताहरू र सम्माननीय प्रधानमन्त्रीज्युलाई समेत बलात्कारको सिकार भएर आफ्नो असली नामसमेत लुकाएर ‘गौशाला– २६’ बन्न बाध्य भएर संघर्षरत ती पीडितलाई (जो आर्थिक अभावको अवस्थाकै कारण बलात्कारको सिकार हुने अवस्थामा पुगेको त अदालतले भनेको छ।) तत्काल क्षतिपूर्ति दिन र उनको पढाइको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गर्नुस् भनेर आमरुपमा अनुरोध गरिनुपर्छ। यदि त्यस्तो अनुरोधको सुनुवाइ भएन छ भने हामी सर्वसाधारणले आफू–आफू मिलेर पनि ती पीडित किशोरीलाई सहजता साथ पढन पुग्ने पैसाको जोहो गर्ने अभियान चलाउनुपर्छ वा कमसेकम त्यसको हिस्सा बन्नुपर्छ।
बलात्कारजस्तो जघन्य अपराधको सिकार भएको पीडा लिएर पनि जिउन खोजिरहेकी, अगाडि बढन खोजिरहेकी ‘गौशाला– २६’को हिम्मत र आँट बनेर हामी सबै उभिनुपर्छ ताकि हिम्मत र आँट गरेर पनि अगाडिको जीवन जिउने सपना देख्ने ‘गौशाल २६’हरूले कमजाेर हुन वा ठान्न नपरोस्। त्यसैले हामी सबैले आफैँले आफैँसँग सवाल गरौँ कि आफ्नो निम्ति न्याय खोज्दै गर्दा आफूजस्तै अरूको धेरैको लागि प्रेरणा बन्ने गरेर लडने ‘गौशाला–२६’लाई अब चाहिँ साथ दिनुपर्दैन?’ के उनको सपनालाई सार्थक बनाउन सरकार समाज र हामी सबैले सकेको भूमिका निभाउनुपर्दैन? अवश्यपर्छ।
हामी आफ्नै लागि, हाम्रो परिवारमा, समुदाय र समाजमा रहे भएका सम्पूर्ण छोरीहरूलाई न्यायिक लडाइँ लडन पर्दा उनीहरूले एक्लै लड्नुपर्दैन सिंगो समाज उनीहरूको साथ खडा रहन्छ भन्ने विश्वास दिनपनि हामीले सकेको सहयोग गर्नैपर्छ। त्यसैले आगामी दिनमा वकिल बनेर कोही कसैलाई अन्याय हुन नै नदिने र भइहालेमा अन्यायमा परेकालाई न्याय र अन्याय गर्ने अपराधीलाई दण्ड दिलाउने ‘गौशाला– २६’को सपना अब हामी सबैको साझा सपना बन्नुपर्छ।