महानगरका कर्मचारीहरूसँग बालेनको ‘पंगा’

उमेश थापा

काठमाडाैं

काठमाडौँ प्लाजामा रहेको काठमाडौं महानगरको कार्यालयमा अरु दिनभन्दा बिहीबार सेवाग्राही निकै कम थियो। धेरैजसो कर्मचारीका कोठाहरू त खुलै थिए तर त्यहाँ काम गर्ने कर्मचारीहरू थिएनन्।

भएका कर्मचारीहरू पनि अघिपछिजस्तो एकअर्कासँग बोलिरहेका थिएनन्। उनीहरू एकोहोरो भएर काम गरिरहेका थिए। अरु दिनको तुलनामा महानगर कार्यालय ‘शान्त’ देखिन्थ्यो।

कर्मचारीहरू देख्दा लाग्थ्यो अनुहारभरि ‘डर’ अनि चिन्तामात्रै छ, काम गर्ने मनोदशामा थिएनन् उनीहरू।

करारमा कर्मचारी नियुक्त गर्दा त्यहाँका केही ‘स्थायी’ कर्मचारीहरूले आफ्नो मान्छे राख्न खोजेको चाल पाएपछि केही दिनअघि महानगरका मेयर बालेन साहले उनीहरूलाई कारबाहीको प्रक्रिया थालेका थिए।

त्यसलगत्तै उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले प्रयोग गर्दै आएको गाडी खोसिदिएका थिए। त्यसयता प्रशासकीय अधिकृत अधिकारी कार्यालय आएका छैनन्।

कर्मचारीहरूको ‘अभिभावक’ नै कार्यालयमा नआएपछि अरु कर्मचारीहरू अहिले तनावको स्थितिमा देखिन्छन्।

कर्मचारीहरूको लफडा

महानगरअन्तर्गत् स्वास्थ्य कर्मचारीहरू भर्ना प्रक्रियामा मनोमानी गरेको भन्दै बालेनले आफ्नै सचिवालयका प्रमुख नूरनिधि न्यौपाने, स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीमाथि छानबिन गर्न भन्दै निलम्बन गरेका थिए।

उनले यी कर्मचारीहरूमाथि छानबिन गर्न एउटा समिति पनि बनाइसकेका छन्। समितिले छानबिन नगरुन्जेल उनीहरू निलम्बनमै रहनेछन्।

कार्यपालिकाको बैठकले ती पदहरूमा पाँच जनामात्रै कर्मचारी नियुक्ति गर्नेगरी निर्णय गरेको थियो। तर, छ जना कमर्चारीहरू भर्ना हुन लागेको एउटा ‘ड्राफ्ट फाइल’ बालेनले फेला पारेपछि उनले कर्मचारीहरू निलम्बन गरेका हुन्।

यसअघि नै बालेनले उच्चपदमा रहेका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने संकेत गरेपछि नै महानगरमा कार्यरत करिब २१ कर्मचारी तरंगित भएका थिए।

त्यसयता नै बालेनदेखि तर्सिरहेका कर्मचारीहरू अहिले कारबाहीको प्रक्रियासम्मै पुग्दा झन हायलकायल भएका छन्।

लफडा के थियो?

सन् २०२२ देखि महानगरले फ्रान्सको एउटा दातृ निकाय ‘मेड्सा डु मोन्ड’सँगको सहकार्यमा एउटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको थियो। त्यसमा महानगरले केही कर्मचारीहरू राखेको थियो।

तर, २०२३को अक्टोबर दोस्रो हप्तातिर त्यो कार्यक्रमको सम्झौतावधि सकिएको थियो। त्यसपछि ती कर्मचारीहरूलाई के गर्ने? भन्ने विषयमा महानगरभित्र लामो छलफल चल्यो।

अन्तत: उनीहरूलाई चरणबद्धरुपमा महानगरभित्रै समायोजन गर्ने सहमति भयो र पहिलोचरणमा पाँच जना कर्मचारीलाई समायोजन प्रक्रियाअनुसार महानगरमै नियुक्त गर्नेगरी कार्यपालिकाले निर्णय गर्‍यो।

तर, सम्बन्धित शाखाका कर्मचारीहरूले कार्यपालिकाको निर्णयविपरीत छ जना कर्मचारीहरू भर्ना गर्नेगरी टिप्पणी सदर गर्नका लागि ठिकठाक पारे। त्यो ‘ड्राफ्ट’ फाइल भने पूर्ण नहुँदै बालेनको टेबुलमा पुग्यो।

त्यसपछि खोधिखोजी गर्दा बालेनले आफ्नै सचिवालयका प्रमुखकै हात रहेको पाए। अनि उनलाई सघाउने अरु दुईजनालाई पनि छानबिनको घेराभित्र तानेर उनीहरूलाई निलम्बन गरे।

बालेन त्यतिमामात्रै रोकिएनन् बरु उनले प्रमुख प्रशाकीय अधिकृतमाथि नै जाइलागे। अरु कर्मचारीहरूलाई तर्साउन नै सही, उनले माहतका कर्मचारीलाई निगरानीमा नराखेको र मनोमानी गर्न दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत चढ्ने सरकारी गाडी खोसिदिए।

त्यसपछि अधिकारी कार्यालय आएका छैनन्।

खासमा काठमाडौं महानगरपालिकालाई कर्मचारी आवश्यकता थिएन। तर, पाँच जना कर्मचारीको बिचल्ली नहोस् भनेर उनीहरूलाई समायोजन गर्ने निर्णय भयो। महानगरपालिकामा कार्यरत आठौँ तहका अधिकृत भगवती विडारीले पाँचजना कर्मचारी नियुक्तिबारे टिप्पणी उठाइन्।

टिप्पणी उठाउने क्रममा बालेनका सचिवालयका नूरनिधि न्यौपानैले बिडारीलाई आफ्नो मान्छे थप्ने भने।

त्यो बेला न्यौपानेले आफूले ‘माथिसम्मै कुरा गरिसकेको र केही नहुने’ भनेर बिडारीलाई ढुक्क पारेका थिए।

‘उहाँले माथिसम्मै कुरा भसकेको र कसैलाई केही अप्ठ्यारो नपर्ने भन्नुभएको थियो’, महानगरका एक कर्मचारीले भने, ‘त्यही आश्वासनमा ढुक्क भएर फाइलमा भगवती बिडारीकाे छोरीको नाम पनि थपिएको हो। तर, त्यसै कारण सबै कर्मचारीहरूले सजाय भोग्नुपर्‍यो।’

तर, त्यसअघि नै ‘ड्राफ्ट’ फाइल बालेनको टेबलमा पुगिसकेको थियो।

कर्मचारी तर्साउने बालेनको यो सिलसिलाले अहिले महानगरको सिङ्गो कर्मचारी प्रशासन नै त्रसित भइरहेको छ। अहिले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ। त्यो पनि बालेनकै आदेशमा।

‘मेयरसापकहाँ कसैले सिधैं कुरा गर्न के कसैले पनि उहाँसँग सिधा नजर जुधाएर कुरा गर्नै सक्दैनन्’, महानगरमा निन्याउरो अनुहारमा भेटिएका एकजना कर्मचारीले भने, ‘अहिले त हामी अभिभावक नभएकोजस्तै भएका छौं। हाम्रा सबै अप्ठ्यारा कुराहरू मेयरसापकहाँ पुर्‍याइदिने माध्यम हामिकसाब (प्रमुख प्रशासकीय अधिकृत) नै हुनुहुन्थ्यो।’

उनकाअनुसार प्रमुख प्रशासकीय अधिकृत अधिकारीको बिदा स्वीकृत भएको छैन। तर, मेयरको आदेशमा उनको कार्यकक्षमा ताला लागेपछि अहिले उनी कार्यालय आउन छोडेका छन्।

प्रकाशित मिति: : 2024-01-11 19:45:00

प्रतिकृया दिनुहोस्