थारु समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारु समुदायले माघीका अवसरमा काठमाडौंमा माघी महोत्वस मनाउने भएको छ। यही पुस २९ र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउन लागेको हो। 

थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले बताए। 

उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्नेछन्। ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी पर्व मनाइँदैछ। 

माघी महोत्सव सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ। २० भन्दा बढी थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने संयोजक चौधरीले बताए।

प्रचार प्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २८ गते शनिबार बिहान ७ बजे मोटरसाईकल र्‍याली तीनकुनेबाट सुरु भइ भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभूषा, बाजागाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भइ झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक हुनेछ।

चौधरीका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ। रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्‍चले गरेको छ।

यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा) सहित दुई दर्जनभन्दा धेरै नृत्य तथा गीतहरुको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।

बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरु पनि राखिने छ। महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताइएको छ।

हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ।

साथै हस्तकलाका सामग्रीहरु भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा समेत राखिने छ। महोत्सवमा सहगी भएकाहरुले मन पराएका हस्तकला तथा पुस्तकहरु निश्चित दरमा खरिद गर्न सक्नेछन्।

महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएका छ।

प्रकाशित मिति: : 2024-01-11 18:05:00

प्रतिकृया दिनुहोस्