‘बलात्कारी’ बिल्लासँगै नेपाली क्रिकेटमा निभेको एउटा सन्दीप

पुस १३ गते काठमाडौँ जिल्ला अदालतले ‘बलात्कारी’ करार गरिरहँदा सन्दीप लामिछाने ‘नेपाल प्रो क्लब च्याम्पियनसिप’ खेलिरहेका थिए, पर्सा क्रिकेट टोलीको कप्तान बनेर।

त्यही कसुरमा उनलाई सजाय तोकिँदा पनि उनी काठमाडौँमै छन्। अदालतले ताेकिदिएअनुसार अब उनी ‘बलात्कारी’ करार भइ ८ वर्ष जेल सजाय काट्नुपर्नेछ भने पाँच लाख जरिवाना पनि तिर्नुपर्नेछ।

स्याङ्जाको आरुचौर हुँदै विश्वका चर्चित क्रिकेट लिग र चर्चित क्लबहरूमा समेत खेलिसकेका सन्दीपको मैदानमा धिपधिपाइरहेको ‘क्रिकेट दीप’ भने अब लगभग निभेको छ।

२०५७ साल साउन १८ गते स्याङ्जाको एउटा मध्यम परिवारमा जन्मिएका सन्दीपले कलिलै उमेरमा क्रिकेट जीवनको लामो यात्रा तय गरे। पूरा त गर्न पाएनन् तर जीवनका थोरै पाइलामा नापिएको यो यात्राका दौरान सन्दीपले ‘विश्व रेकर्ड’हरू पनि लेखे क्रिकेट इतिहासमा।

सन्दीपका बुबा भारतीय रेलवेका कमर्चारी थिए। जागिरे बुवासँगै उनको परिवार पनि भारतमै बस्यो। भारतमै उनले क्रिकेट सिकिसकेका थिए। चार कक्षा पढेर नेपाल फर्किएका उनले चितवनबाट आफ्नो क्रिकेटको ‘करियर’ सुरु गरे। चितवन क्रिकेट एकेडेमीमार्फत।

अरूभन्दा अलि फरक शैलीमा खेलिहरेका १४ वर्षीय सन्दीपमाथि नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको नजर पुग्यो। पुबुदु चितवन ट्यालन्ट हन्टको कार्यक्रमका लागि त्यहाँ पुगेका थिए। त्योबेला सन्दीपले गरेको बलिङ देखेर उनी प्रभावित भए। त्यसपछि उनलाई यू-१९ टोलीको ‘क्लोज क्याम्प’का लागि बोलाईयो।

यू-१९ प्रतियोगिताअन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा विकेटमा उनले ‘ह्याट्रिक’ गरे। त्यसपछि उनी सबको नजरमा पर्न थाले, नेपाली क्रिकेटमा उनको चर्चा सुरु भइसकेको थियो। यू-१९ प्रतियोगिता ह्याट्रिक गर्ने उनी पाँचौँ खेलाडी थिए।

सन्दीप २०१६ मा अस्ट्रेलियन कप्तान माइकल क्यालर्सको नजरमा परे। क्यालर्स उनलाई सिड्नीस्थित वेस्टर्न सर्बबर क्लबबाट खेल्न निमन्त्रणा गरेका थिए। सन् २०१७ मा एसियाली प्रतियोगितामा राम्रो प्रदर्शन गरेका उनले त्यो प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी बनेका थिए।

आयरल्यान्डविरूद उत्कृष्ट प्रदर्शन गरेका उनले केही महिनापछि नै सिनियर टोलीमा मौका पाए।

घरेलु मैदानमा आयोजना भएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरूद्ध उनले लिस्ट ए क्रिकेटबाट सिनियर टोलीमा डेब्यू गरेका थिए। नामिबियाविरूद्धको टोलीले खेलेको पहिलो खेलमा उनले ४ विकेट लिएका थिए। त्यस प्रतियोगितामा पनि सन्दीप उत्कृष्ट खेलाडी दरिए।

त्यसपछि सन् २०१८ अगस्टमा नेपाल नेदरल्यान्ड्सविरूद्ध पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो। सोही खेलबाट नै सन्दीपले राष्ट्रिय टोलीबाट एक दिवसीय किकेटमा पनि डेब्यू गरे। त्यो खेलअघि नै आइसीसीले उनलाई नेपालको लागि प्लेयर टु वाचमा राखेको थियो। सन्दीपले नेदरल्यान्डविरूद्ध एमसिसी त्रिकोणातम्क सिरिज टी-२० मा नेपालको लागि डेब्यू गरेका थिए।

आइपिएलबाट विश्वभरि छाएका सन्दीप

सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल)का लागि दिल्ली डेभिल्सले अनुबन्ध गर्दा सन्दीप १७ वर्षका थिए। २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीप आइपिएलसम्म पुगेका पहिलो खेलाडी थिए। नेपालमा त उनको चर्चा थियो नै, सिङ्गो विश्वले पनि उनको खेल प्रतीक्षा गरिरहेको थियो।

पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले बाँकी २ सिजन पनि आफैँसँग राख्यो। पहिलो सिजनमा ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए। आइपिएलमै गरेको प्रदर्शनपछि सन्दीपका लागि क्रिकेट करिअरको ढोकाहरू चारैतिरबाट उघ्रिन थाले।

आइपिएलमा पहिलो सिजन खेलेकै वर्ष २०१८ नै उनले अष्ट्रेलियन लिग खेल्ने मौका पनि पाए। उनले मेलबर्न स्टारबाट बिग ब्यास लिग खेलेका थिए। त्यही वर्ष आइसिसीले सूचीकृत गरेका उत्कृष्ट दश खेलाडीमा सन्दीपको नाम पनि थियो। त्यसपछि उनी बंगलादेश प्रिमियर लिगमा सर्टलिस्टेड भए। र पाकिस्तान सुपर लिगका लागि लाहोर कलन्दर्स टीमले छनोट गरेको थियो।

सन् २०१९ मा सन्दीप टोरेन्टो राष्ट्रिय टोलीमा आवद्ध भए। उनले सन् २०१९ मा टी-२० क्यानडा प्रतियोगितामा खेलेका थिए। त्यसपछि २०२० मा सन्दीप जमैका तालवाज टोलीको छनोटमा परे। त्यहाँ उनले टोलीको प्रतिनिधित्व गर्दै सन् २०२० क्यारिबियन प्रिमियर लिगमा खेलेका थिए।

अनि राष्ट्रिय टोलीका कप्तान बने

सन् २०७८ मा नेपाल किकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गर्दा उनी २१ वर्षका थिए।

तत्कालीन कप्तान ज्ञानेन्द मल्ललाई पदमुक्त गर्दै क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको थियो। खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले असन्तुष्टि जनाएका थिए।

सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरण समेत सोधेको थियो। खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले ती खेलाडीलाई कारबाही गरेको थियो।

आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्र्याक्टको सुरुवातका ६ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो। त्यसबखत ज्ञानेन्द मल्ल कप्तान रहँदा दीपेन्द सिंह ऐरी उपकप्तान थिए।

बलात्कारको आरोपदेखि सजायसम्म

२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरूद्ध बलात्कारको जाहेरी दर्ता हुँदा उनी नेपाली टोलीको कप्तान थिए। त्योबेला उनी क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए।

जाहेरीकर्ता युवती(गौशाला-२६) सँग काठमाडौँको एउटा कफी सपमा भएको पहिलो भेट नगरकोट हुँदै सिनामंगलको होटल काठमाडौँ इनसम्मको ‘बलात्कार’ श्रृङ्खलासम्म पुग्यो।

आफू कप्तान भएका बेला ‘क्लोज क्याम्प’मै रहँदा सन्दीपले सोही दिन दिउँसो ती युवतीलाई लिएर नगरकोट पुगेका थिए। नगरकोटमा रात बिताउने सन्दीपको प्रस्ताव थियो। तर, युवती तयार भइनन्।

अनि, नगरकोटबाट काठमाडौँ पुग्दासम्म सन्दीपले युवतीको मोबाइल कब्जा गरेका थिए। रातको समयमा सबैतिरबाट परिबन्धनमा पारेर सन्दीपले मध्यरातमा युवतीलाई सिनामंगलस्थित होटलमा पुर्‍याएका थिए।

खेल्नका लागि क्यारेबियन पुगेका सन्दीप जाहेरी दर्ता भएको लामो समयसम्म पनि फर्किएनन्। क्यानले उनलाई निलम्बित गरेको थियो। उनी फर्किन ढिला गरेपछि असोज १० गते नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटीस जारी गर्‍यो। त्यसको १० दिनपछि असोज २० गते सामाजिक सञ्जालमार्फत् जानकारी गराएरै सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। त्यहीँबाट प्रहरीले उनलाई समात्यो। केही दिनको हिरासतपछि उनी जेल चलान भए।

तीन महिनापछि गत वर्षकाे पुस २८ गते उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा शसर्त रिहा गरेको थियो। उनी रिहा भएको दुई महिनापछि क्यानले उनलाई फुकुवा गर्दै राष्ट्रिय टोलीको क्याम्पमा बोलायो।

त्यसपछि गत वर्ष फागुनमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता सन्दीपले उत्कृष्ट कमब्याक गरे। उनले सो प्रतियोगितामा नै ४ खेलमा १४ विकेट लिएका थिए। यही प्रतियोगिताबाट उनले आफ्नो उत्कृष्ट कमब्याक गरेका थिए।

जेलबाट निस्केपछि विश्व रेकर्ड अनि फेरि जेल

लगभग डेढ वर्षसम्म लम्बिएको यो बलात्कार मुद्दामा अन्तत: सन्दीप दोषी ठहर भएका छन्। मुद्दा, जेल र आफ्नो क्रिकेट करियरको त्रिधारमा बितेको यो डेढ वर्षहरूमा पनि उनले क्रिकेटमा केही रेकर्डहरू बनाए।

गत वैशाखमा घरेलु मैदानमा भएको एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गतको खेलमा सन्दीप ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बने।

ओमनविरूद्धको खेलमा एक विकेट लिँदै लामिछानेले ४२ खेलमा १०० विकेट पूरा गरेर छिटो विकेट लिने खेलाडी बनेका थिए।

उनले अफगानिस्तानका रसिद खानलाई पछि पार्दै विश्व रेकर्ड बनाएका थिए। उनले यो उपलब्धि जेलबाट निस्केपछि गरेका हुन्। त्यसबेला उनले कायम गरेको विश्व रेकर्ड सबैतिर चर्चा भएको थियो।

सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ओडिआईमा ५१ खेल खेल्दा ११२ विकेट लिएका छन् भने २०२३ रन बनाएका छन्। त्यस्तै, टी-२० तर्फका ५८ खेल खेल्दा उनले ९८ विकेट लिएका छन्।

प्रकाशित मिति: : 2024-01-11 19:30:00

प्रतिकृया दिनुहोस्