ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ।

शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश साँसद दीपक कोइराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो।

यस्तै सदस्यहरूमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ अधिकृत ज्योती राईको नेतृत्वमा अधिकृत बासुदेव निरौला र सहायक प्रथम राजेश बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटिले प्रमाण पत्र वितरणका साथै गोप्यताको सपथ ग्रहण गराएका थिए।

संघको सम्पन्न बैठकले संघको विद्यान बमोजिम सदस्यहरू मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनित गरेको छ।

यस्तै उपाध्यक्षमा गण्डकी प्रदेश सांसद प्रकाश बराल, सुजिता बराल, सदस्यहरुमा गोपाल बहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ्ग र प्रदेशबाट नेतृत्व गर्ने गरि बागमती प्रदेशबाट ज्ञान कृष्ण प्रजापती, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनित गरेको छ।

हाल संघले गठन गरेको चार प्रदेशमध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ। यस्तै प्रदेश संघका कार्यसमिति अध्यक्षहरु संघको पदेन सदस्य रहने विधानमा प्रावधान रहेको छ।

यसैगरी संघको बैठकले विभिन्न कमिशन समेत गठन गरेको छ। जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिशन, डा. सुशन वैद्यको अध्यक्षतामा एन्टी डोपिङ्ग कमिशन, डां. प्रेम वैद्यको अध्यक्षतामा डा. नमिता श्रेष्ठ र डा. उमेश पराजुली सदस्य रहेको मेडिकल कमिशन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिशन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिशन समेत गठन गरेको हो।
 

प्रकाशित मिति: : 2024-01-07 16:09:00

प्रतिकृया दिनुहोस्