गजुरेलकाे राजीनामापत्र: जनअपेक्षा पूरा गर्ने वातावरण भएन

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनअपेक्षा पूरा गर्ने वातावरण नभएकाले राजीनामा दिएकाे बताएका छन्।

एक महिनाअघि दिएकाे राजीनामा प्रधानमन्त्रीले बिहीबार स्वीकृत गरेपछि सार्वजनिक भएकाे राजीनामापत्रमा उनले यस्ताे उल्लेख गरेका हुन्।

सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका प्रयासहरुले जनतामा एकदमै राम्रो छाप परेको पत्रमा उल्लेख गरेका छन्।

भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको सङ्घर्ष गर्व गर्न लायक भएकाे भन्दै परिवर्तन विरोधीहरुको मुख बन्द भएकाे उनकाे दाबी छ।

भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुर्याएर जनतामा परिवर्तनकारी राजनीतिक दलहरुमाथि विश्वास पैदा गराउन आफ्नो तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर र ठोस सुझाव दिएको गजुरेलले भनाइ छ।

सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याउँदैन कि भन्ने जनताको आशङ्कालाई पछिल्ला दिनहरुमा मेटाउन नसकेकाे दाबी गरेका छन्।

‘सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याउँदैन कि भन्ने जनताको आशङ्कालाई हामीले पछिल्ला दिनहरुमा मेटाउन सकेनौँ। आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शङ्कालाई पनि हामीले निराकरण गर्न सकेनौँ’, उनकाे राजीनापत्रमा भनिएकाे छ, ‘हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरुले टाउको उठाउने मौका पाएका छन्। जुन अत्यन्तै दुःखद कुरा हो। जनअपेक्षा पुरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले आजकै मितिदेखि मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छु।’

यस्ताे छ गजुरेलकाे राजीनामापत्र

मिति : २०८०/०८/२०

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यू प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौँ।

विषय: राजीनामा

विगत दश महिनादेखि प्रधानमन्त्रीको मुख्य सल्लाहकारको रुपमा कार्यरत रहँदै आएको छु। असहज वातावरणमा मलाई उक्त जिम्मेवारी प्राप्त भएको कुसको राम्रो हेक्का राखेर सरकारलाई सफल पार्न पहल र प्रयत्न गरेको विषय स्पष्ट नै छ।

रासायनिक मलको अभावमा किसान र पाठ्यपुस्तकको अभावमा बालबालिकाले झेल्नुपरेको दुःखबाट राहत पाउनु सामान्य थिएन। यसपटक किसान र विद्यार्थीले देशमा सरकार भएको अनुभूति गर्न पाए। प्रधानमन्त्रीका विदेश भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्न मात्र होइन, परिणाममुखी बनाउन सफलता हासिल गरे। साथै, प्रधानमन्त्री र मन्त्री तथा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुको कामसँग सम्बन्धित भेटघाटलाई व्यवस्थित गराउन तयार गरिएको कार्यतालिका, सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन गरेका अथक प्रयास सर्वविदितै छन्

मुख्यतः सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका प्रयासहरुले जनतामा एकदमै राम्रो छाप परेको थियो। वास्तवमै भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको सङ्घर्ष गर्व गर्न लायक थियो। यसमा आमजनताको साथ र सहयोग अभूतपूर्व रह्यो। परिवर्तत्तविरोधीहरुको मुख बन्द भयो। खासगरी भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुर्याएर जनतामा परिवर्तनकारी राजनीतिक दलहरुमाथि विश्वास पैदा गराउन आफ्नो तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर र ठोस सुझाव दिएको स्मरण गराउन चाहन्छु।

तर, सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याउँदैन कि भन्ने जनताको आशङ्कालाई हामीले पछिल्ला दिनहरुमा मेटाउन सकेनौँ। आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शङ्कालाई पनि हामीले निराकरण गर्न सकेनौँ। हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरुले टाउको उठाउने मौका पाएका छन्। जुन अत्यन्तै दुःखद कुरा हो। जनअपेक्षा पुरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले आजकै मितिदेखि मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छु।

मुख्य सल्लाहकारको जिम्मेवारी दिई जनतालाई माथिवाट वुक्ने दिनुभएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दछु।

हरिबोल गजुरेल
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

प्रकाशित मिति: : 2024-01-04 17:37:00

प्रतिकृया दिनुहोस्