अमेरिकामा शरण माग्ने ७,४६१ नेपालीको मुद्दा पेण्डिङ

अमेरिकामा शरण माग्ने नेपालीको संख्यासँगै पेण्डिङ भएको मुद्दाको संख्या पनि बढ्दो छ। अमेरिकाको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार अहिले यो सङख्या बढेर सात हजार चारसय ६१ पुगेको छ।

यस्ता मुद्दा सबैभन्दा बढी न्युयोर्कको अध्यागमन अदालतमा दुईहजार ६ सय ७९ रहेका छन् भने त्यसपछि टेक्सासको सान एन्टोनियोमा एकहजार सातसय ५४, क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एकहजार चारसय ३३ र टेक्सासको डलासमा दुईसय ९४ रहेका छन्।

अमेरिकामा नेपाली शरणार्थीका मुद्दाको विचाराधीन संख्या मात्र बढेको हैन, समग्रमा विचाराधिन मुद्दाको संख्या नै बढेर कीर्तिमानी संख्या पुगेको छ। एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार यस्तो संख्या बढेर करिव ३० लाख पुगेको छ। पछिल्लो वर्ष २० लाखको हाराहारीमा मात्र रहेको यो संख्या यही वर्ष करिव १० लाख बढ्दा ३० लाख पुगेको हो।

यो संख्या एकै वर्षमा यति धेरै बढ्नुको मूल कारण शरणार्थीका लागि सहजिकरण गर्ने प्रावधान टाइटल ४२ हटाइनु हो। बाइडेन प्रशासनले अप्रिलमा टाइटल ४२ हटाउनुअघि दक्षिणपश्चिमी सीमाबाट हजारौं आप्रवासी प्रवेश गरेका थिए।

अमेरिकामा शरण माग्ने अधिकांश नेपाली कम्तिमा पनि ५० लाख तिरेर तल्लो बाटो भएर अमेरिका आइपुगेका भाग्यले बाँचेका हुन्। मुद्दा पेण्डिङ हुँदा उनीहरूको एक्लोपन मात्र बढिरहेको छैन, पारिवारिक विचलन पनि बढ्दो छ। कहालिलाग्दो छ अवस्था तर पनि पर्खनुको विकल्प छैन। 

अमेरिकामा एकातिर शरणार्थीको संख्या र मुद्दा बढिरहेका छन् भने अर्कोतिर अध्यागमन न्यायाधीशको संख्या पर्याप्त छैन। अहिले अमेरिकामा अध्यागमन न्यायाधीशको संख्या छसय ८२ मात्र छ । यति सानो संख्याले लाखौं मुद्दा हेर्नु सहज छैन। 

सन् २०२४ मा यो समस्या अरू बिकराल हुने  देखिन्छ। यसै पनि यो चुनावी वर्षले ३० लाख विचाराधिन मुद्दा पाएको छ। 

अमेरिकामा आप्रवासी मुद्दा एक स्थायी मुद्दा हो । हरेक चुनावमा यो शीर्ष मुद्दा हुन्छ, चुनावको हारजीत पनि लगभग यही मुद्दाले गर्छ । यद्यपि, यो मुद्दा कुनै पनि दल टुङ्याउन इच्छुक हुदैन। आखिर राजनीति जहाँ पनि उही हो । यही मुददामा डेमोक्रेट र रिपब्लिकन दुबैलाई राजनीति गर्नु छ। डेमोक्रेट्स आफूलाई आप्रवासीमैत्री देखाउँदै उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गर्छ भने रिपब्लिकन त्यसको विरूद्धमा उभिएर आप्रवासीविरोधी मतको जोहो गर्छ ।

प्रकाशित मिति: : 2024-01-02 22:32:00

प्रतिकृया दिनुहोस्