प्रमुख दलका नेताहरुका कारण आर्थिक संकट गहिरियाे: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिँदै गएको बताएका छन्।

आजपाद्वारा पर्साको पोखरियामा आइतबार आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिँदै गएका कारण विभिन्न समस्या देखा परेको बताएका हुन्।

‘कांग्रेस, माओवादी, एमालेलगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ। समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरुलाई फुर्सद छैन’, उनले भने, ‘सत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन्। त्यसैले आज बेरोजगारी बढेको छ। भ्रष्टाचार, कुशासन बढेको छ। देशमा आर्थिक संकट गहिरिँदै गएको छ। रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन। रोजगारका लागि विदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौँ।’

यी नेताहरुको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जानुको विकल्प नभएको बताए।

यो सरकार, दल तथा दलका मठाधीशहरु असफल भइसकेको बताउँदै अध्यक्ष साहले यो सरकार विघटन गरी अन्तरिम सरकार गठन गरेर देशलाई निकास र विकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताए।

अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगञ्जसहित पुरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताउँदै उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए।

‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडि छ। वीरगञ्जसहित मधेसलाई बर्बाद गर्ने, उजाड बनाउने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आइसकेको छ’, साहले भने, ‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे? जहिले पनि शासनमा छँदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे। के उनीहरुलाई दण्डित गर्नेबेला भएको छैन? के उनीहरुलाई यतिकै छाडने हो? मधेसलाई गुलजार बनाउने हो भने मधेसलाई उजाड बनाउनेलाई दण्डित गर्नैपर्छ।’

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाइरहको आरोप साहले लगाए। संघीय सरकारसहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा सशक्त आवाज उठाउनुपर्ने बताए।

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ। यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ।

आजपा पर्साका अध्यक्ष पदम रसुलको अध्यक्षतामा पोखरीयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सुवास कुशवाहा, जसपाका बशिष्ट कुशवाहा, जनमतका केदार कुशवाहा, लोसपाका ओमप्रकाश कुशवाहा, जसपाका महम्द इस्तिखार आजपामा प्रवेश गरेका छन्।

यसैगरी फनेश साह सोनार, सरेश मुखिया, अच्छेलाल राउत कुर्मी, राजन मण्डल, सोनालाल मण्डल, मिलन मण्डल, बैजनाथ साह, प्रयाग साह, लालबाबु साह, सुरज ठाकुर, जितेन्द्र राम, बृजा साह, शम्भु राम, कञ्चन साह, जवाहर गिरी, अम्बिका साह, मंगल साह, सोहन राम, विरेन्द्र साह, अमिरिका चौहानलगायतका सयौँ स्थानीय नेता-कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन्।

प्रकाशित मिति: : 2023-12-31 18:05:00

प्रतिकृया दिनुहोस्