समानान्तर सेना निर्माण गर्ने अभियानमा प्रभु साह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन्।

अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नभएको बताउँदै आएका साहले अहिले दलतन्त्र भएकाले आम जनताको शासन हुनुपर्ने बताउँदै आएका छन्।

सरकार र अहिलेका राजनीतिक दलका नेताहरु आफूलाई नसच्याए र अन्तरिम सरकार गठन नभए साहले समानान्तर सरकार निर्माण गर्ने निष्कर्षमा समेत पुगेका छन्। त्यसैको पूर्व तयारी गर्दै साहले छुटै अर्ध सैनिक बल निर्माण गर्दै अगाडि बढ्न खोजेका हुन्।

आजपा साहले तत्काल अन्तरिम सरकार गठन गर्नुपर्ने र मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउँदै भने, ‘ढिलो चाँडो हाम्रो माग पूरा हुन्छ। यही तरिकाले देश अगाडि बढन सक्दैन्। तत्काल यो व्यवस्था खारेजी हुनुपर्छ र अन्तरिम सरकार गठन हुनुपर्छ।’

अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने उनकाे भनाइ छ। मुलुकमा ठूला दलका ठूला नेताहरुको हालीमुहाली र एकछत्र राज चल्दै आएको भन्दै यसरी मुलुक अघि बढ्न नसक्ने साहको टिप्पणी छ।

उनले भने, ‘देशमा कहाँ लोकतन्त्र छ? देश लोकतन्त्रको नाममा झन् झन बर्वादीको बाटोमा हिँडेको छ। अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको छ, र नेताहरुको लुटतन्त्र चलिरहेको छ। जनता जागरुक हुने बेला आइसकेको छ। त्यसैले हामीले यो व्यवस्थाले निकास दिँदैन भनेका छौँ।’

यही १४ पुसमा आजपा निकटको आईटी आर्मीको राष्ट्रिय भेला रौतहटको मौलापुरमा बोलाइएको छ। एक हप्तासम्म चल्ने सो भेलामा सहभागी हजारौँ युवालाई सैन्य तालिम दिन लागिएको हो।

आजपा प्रवक्ता समेत रहेका आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले भेलाबाट नयाँ नेतृत्व चयनका साथै आईटी, प्रविधि, सामाजिक सञ्जाललगायतको पहुँच एवं प्रयोगका साथै शारीरिक तालिमबारेमा समेत एक हप्तासम्म प्रशिक्षण दिने बताए।

संगठनको सांगठनिक प्रतिवेदनसमेत भेलामा प्रस्तुत गरिने उनले बताए। आवाससहितको हुने सो भेलाबाट दक्ष जनशक्ति निर्माण गर्दै अगाडि बढ्ने उदेश्य रहेको साहले बताए।

अर्ध सैनिक बल निर्माणको अभियानमा लागेका आजपा अध्यक्ष प्रभु साह भने आज काठमाडौँबाट मधेस झरेका छन्। साह एक हप्तासम्म मधेसमै रहने बताइएको छ।

अहिले मौलापुरमा त्यसका लागि तयारी तिब्ररुपमा भइरहेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

आजपाले आईटी आर्मीको पुस १४ गते हुने रौतटहको राष्ट्रिय भेलामा युवाहरुलाई शारीरिक तालिम प्रदान गर्नुको साथै सूचना तथा प्रविधिको पहुँच र उपयोगबारे पनि प्रशिक्षण गरिने केन्द्रीय सदस्य सापकोटाले जनाएका छन्।

‘अहिले विज्ञान तथा प्रविधिको युग हो, हामी युवाहरुलाई यसको अधिकतम सही उपयोगको लागि संगठित रूपमा तालिम प्रदान गर्दैछौँ। भ्रष्टाचारको विरुद्धमा हामीले यही संगठनमार्फत भण्डाफोर गर्नुका साथै जनतालाई सुसूचित गराउनेछौँ। अब हामी देशलाई पूर्ण रुपमा डिजिटल बनाउनेगरि अघि बढेका छौँ’, सापकोटाले भने।

प्रकाशित मिति: : 2023-12-28 14:09:00

प्रतिकृया दिनुहोस्