टेरामक्स खरिद प्रक्रियाकाे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिकाे निर्देशन

सार्वजनिक लेखा समितिले दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद प्रक्रियाकाे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हाे।

बैठकले टेरामक्स खरिद अध्ययन प्रारम्भ गरी ३० दिनभित्र कार्यप्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए।

‘यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म भएका कामको विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी हुनेगरी कार्यसम्पादन गरे, गराएको पाइएमा सम्बन्धित पदाधिकारी सबैलाई हदैसम्मको कारबाहीका लागि मागदाबीसहित कानुनबमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समिति निर्देश गर्दछ’, उनले भने।

यसैगरी समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्नसमेत निर्देशन दिएको छ।

सभापति पोखरेलले भने, ‘कानुन नबनाई यो प्रणाली कार्यान्वयन हुन नसक्ने अवस्था रहेको, सर्वोच्च अदालतले पनि कानुन बनाउन भनेको तर कानुनको अभावमा नीतिगतरुपमा स्पष्ट हुन नसकेकोलगायत खरिद प्रक्रिया कानुनसम्मत नभएकाले हाल यो प्रविधि खरिदलाई यथास्थितिमा राख्न, थप कुनै पनि भुक्तानी नगर्न/नगराउन समितिको यो बैठक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देश गर्दछ।’

प्रकाशित मिति: : 2023-12-27 16:23:00

प्रतिकृया दिनुहोस्