भर्खरै बालापन सकिएर बैंसको उकालो चढ्दै गर्दा आफ्ना दुई छोरीलाई त्यो बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘अब तिमीहरू बिहे गर।’
माहिली छोरी रेणु दाहालले प्रचण्डलाई जवाफ फर्काइन्, ‘यति सानो उमेर छ, बिहे गर्दिनौं।’
प्रचण्डले धेरै विवाद गरेनन्, छोटो शब्दमा रेणुलाई भने, ‘क्रान्तिका लागि मान्छे ज्यान दिन तयार भएका छन्, तिमीहरू यो क्रान्तिका लागि बिहे पनि गर्न सक्दैनौँ?’
रेणु र गंगा मौन भए। त्यो बिहेको मौन स्वीकृतिजस्तै बन्यो। २०५३ माघको अन्तिम सातातिर लखनउको लिला होटलमा रेणुले अर्जुन पाठक र गंगाले नारायणविक्रम प्रधानसँग टीका-माला साटासाट गरे। बिहे भयो।
त्यो प्रचण्डले ‘राज्यसत्ता’विरुद्ध हतियार उठाएर ‘जनयुद्ध घोषणा’ गरेको एक वर्षपछिको कुरा थियो। यद्यपि, बिहे भने प्रचण्डले जनयुद्ध सुरु हुनुभन्दा अघि नै तय गरिसकेका थिए।
छोरीहरूलाई भारततिरै ‘ज्वाइँ’हरूको जिम्मेवारीमा छोडेपछि प्रचण्ड फेरि ‘जनयुद्ध’ लड्न नेपाली जंगलतिरै फर्किए।
प्रचण्डले काठमाडौंको एउटा अँध्यारो छिँडीबाट ‘जनयुद्ध’ घोषणा गर्नुभन्दा दुई वर्षअघि नै उनकी जेठी छोरी ज्ञानुको भने बिहे भइसकेको थियो। छोरा प्रकाश त उनीसँगै ‘जंगल’ छिर्न तयार भइसकेका थिए। छोरा प्रकाश प्रचण्ड राजनीतिका लागि त्यो बेला आवश्यक पनि थिए।
खासमा प्रचण्डले रेणु र गंगालाई ‘ब्ल्याकमेल’ गरेको बिहे क्रान्तिका लागि थिएन, बरु नाबालक सन्तानको सुरक्षानिम्ति उनले छोरीहरूलाई ‘ठेगान’ लगाएका मात्रै हुन्। क्रान्तिका लागि ‘त्याग’ र ‘बलिदान’का लागि त उनले अरुकै छोराछोरी फकाएर हज्जारौँको ‘लालसेना’ बनाइसकेका थिए।
जनयुद्धका लागि छोरीहरूको ‘बलिदान’ त मात्रै ‘बिहे’ बन्यो।
खासमा जनयुद्धकालमा अरुका लागि प्रचण्ड जस्तो ‘निर्मम’ र ‘क्रान्तिकारी’ देखाइए अनि देखिए, आफ्ना सन्तानका लागि भने मात्रै उनी एक साधारण ‘बाउ’मात्रै रहे। परिवारका मामिलामा प्रचण्डले कहिल्यै ‘क्रान्तिकारिता’ देखाएनन्।
राजनीतिक जीवनमा प्रचण्ड जति कठोर रहे, व्यक्तिगत जीवनमा उनमा त्यत्तिकै भावना र तृष्णाहरूले पिरोलिइरहे। युद्ध जीवनमा ‘क्रान्तिकारी’ गीतका भावमा प्रचण्डका आँसु त्यसै झर्दैन्थे। पारिवारिक कुरामा त प्रचण्डले यहाँसम्म गरे कि पत्नी सीताको उपचारका लागि बाबा रामदेवको दरबारदेखि तातोपानी कुण्डमा डुबुल्कीसम्म लगाए। यो सबभित्र प्रचण्ड आफूले आफैँलाई ‘क्रान्तिकारी’ छवि नभएर एक पति, पिता र घरमूलीका रुपमा पनि विम्बित गरेका छन्।
छोरीहरूको राजनीतिक चञ्चलता
कानुनी भाषामा बिहे गर्दा दुवै नाबालिग थिए। त्यसमा पनि ‘क्रान्तिकारी’ त्यो परिवारमा १८-१९ वर्षमै बिहे आफैँमा अप्रत्याशित थियो।
जनयुद्धमा जंगल चहार्दा साथमा पत्नी सीता कहिल्यै छुटिनन्। साथमा राजनीतिको एउटा काँध छोरा प्रकाशले थामेका थिए। तर, दुई कलिली छोरीहरूलाई भने प्रचण्डले ‘घरबारे’ बनाएर भारतमै थन्क्याइसकेका थिए।
छोरी रेणु र गंगाहरूले भारतमै बसेर आफ्नो बाबुले लडिरहेको जनयुद्धका कथाहरू सुनिरहन्थे।
त्यसमा रेणु राजनीतिक रुपमा अलि अघि सर्न थालिन्। उसै पनि भारतलाई आफ्नो ‘सेल्टर’ बनाएको माओवादीका धेरै नेताहरूको धेरै समय भारतमै बित्थ्यो। प्रचण्ड पनि धेरैजसो भारतमै बसे।
त्यहाँ रहँदा रेणु पार्टीका संगठनहरूमा अलिअलि सक्रिय थिइन्। गंगा भने खासै राजनीतिमा अघि सरिनन्। प्रकाश दाहाल युद्धकालमै बाबुको ‘स्वकीय’जस्तो भएर उनको राजनीतिलाई सघाइरहेका थिए।
जब प्रचण्डले हतियार बिसाएर त्यो ‘क्रान्ति’को धार फेर्न खोजे अनि प्रचण्ड जीवनमा अनेकन आरोहअवरोहहरू आउन थाले। ती राजनीतिक जीवनमा पनि भए अनि उनको आफ्नै निजी जीवनमा पनि।
युद्ध थामेर संसदीय राजनीतिमा पाइला सार्दै गर्दा पार्टीभित्र केही फरक पाइलाहरू सल्बलाउन थालिसकेका थिए। जब प्रचण्ड सिंहदरबार प्रवेश गर्ने मेसो मिलाउँदै थिए, त्यो बेला पार्टीका केही अणुहरू छुट्टिन थालिसकेका थिए मूलघर ‘माओवादी’बाट।
सुरुमा मोहन वैद्य अनि विप्लव र बादलहरू अलि पर सरे। ‘क्रान्ति र जनयुद्ध’लाई ‘धोका’ भन्दै उनीहरूले जनयुद्धजस्तै तर अलि फरक बाटो रोजे। यद्यपि, त्यो बाटो समाएका उनीहरू कतै पुग्न सकिरहेका छैनन्। जहाँको त्यहीँ नै छन् र अहिले पनि प्रचण्ड वरिपरि नै भुन्भुनाइरहेका छन्।
यो प्रचण्डको एउटा अचम्मको राजनीतिक कुटिलता हो कि उनी ‘कमजोर’ होउन् कि निकै ‘शक्तिशाली’ या उनको वरिपरि नै राजनीति घुमिरहेको हुन्छ वा उनी त्यसको एउटा ‘अर्बिट’मै हुन्छन्। बाबुरामहरू अलिपछि प्रचण्डबाट अलग भए।
राजनीतिको विघटित घाँटीमा घिटीघिटी भइरहेका प्रचण्डको निजी जीवनमा फेरि एकपछि अर्को वियोगका श्रृङ्खलाहरू सुरु हुन थाले।
संसदीय राजनीतिको छोटो यात्रामै पार्टी जीवनको क्षयीकरण झेल्न सुरु गरेका प्रचण्डले २०७० सालमा आफ्नो पहिलो सन्तान गुमाउनुपर्यो। क्यान्सरसँग लडिरहेकी उनकी जेठी छोरी ज्ञानु दाहाल केसीको २०७० साल चैतमा निधन भयो।
त्यसको चार वर्षपछि २०७४ साल मंसिर ३ गते छोरा प्रकाश दाहालको पनि निधन भयो। आफ्नो निजी जीवनसँगै पार्टी जीवनको एक अभिन्न अङ्ग टुक्रिएको भन्दै प्रचण्ड त्यो बेला निकै भावुक पनि भएका थिए।
छोरी वियोगले थलिइरहेकी पत्नी सीता दाहाल छोरा प्रकाशको निधनपछि उठ्नै नसक्नेगरी ढलिन्। र, त्यसको करिब ६ वर्षसम्म ओछ्यानमै ढलिरहेकी सीता दाहाल यही वर्षको असारमा प्रचण्ड जीवनबाट सदाका लागि अस्ताइन्।
करिब ५४ वर्ष एकअर्काको सहयात्री बनेका प्रचण्ड र सीताको विवाह र त्यसपछि राजनीतिसँग गाँसिएका जीवनको लामो कथा-कहानी छन्। जीवनको सबैभन्दा प्रिय पात्र गुमाएपछि प्रचण्डका दुई काँध थाम्नेगरी यिनै दुई छोरीमात्रै बचे। रेणु र गंगा दाहाल।
चितवनको भरतपुर महानगरमा दोस्रोपटक मेयर भएर काम गरिरहेकी रेणुकाे राजनीतिक यात्रा आफ्नै छ। त्यसमा उनका पिता प्रचण्डको भूमिका त हुने नै भयो, जसका लागि प्रचण्डले रेणुलाई पहिलोपटक मेयरमा जिताउँदा मतपत्र ‘निलेका’ कहानीहरू अहिले पनि ताजा भइदिन्छन्। दोस्रोपटक पनि नेपाली काँग्रेससँगको गठबन्धनमा उनले सजिलै जितिन्।
प्रकाशपछि प्रचण्ड वरिपरि छुनमुन गरिरहने गंगा अहिले प्रधानमन्त्रीका ‘स्वकीय’काे रुपमा छिन्। प्रचण्ड प्रधानमन्त्री नहुँदै पनि उनले त्यो भूमिका त निभाइरहेकी थिइन् तर जब प्रधानमन्त्री भएर प्रचण्ड बालुवाटार भित्रिए अनि त्यसको खटनपटनको जिम्मेवारी सम्हाल्न थालिन् अनि प्रचण्ड जीवनमा गंगा त्यसै–त्यसै ‘अत्ति’ नै भइरहेकी छिन्।
बालुवाटार (प्रधानमन्त्री निवास)को परम्परा नै हो, प्रधानमन्त्रीका रुपमा त्यहाँ छिर्दा उनले अपनाएको ‘पहिलो व्यक्ति’ (श्रीमती वा श्रीमान)ले त्यहाँको साँचो सम्हाल्नू। अहिलेसम्म नेपालमा महिला प्रधानमन्त्री भएका छैनन्। त्यसैले त्यहाँ छिर्ने प्रधानमन्त्रीकी श्रीमतिले नै साँचो बुझ्ने र बुझाउने चलन अहिले पनि छ। यसैलाई प्रधानमन्त्री निवासको ‘खटनपटन’ भन्ने चलन छ।
नभए उनका छोरा वा छोरीहरू। जस्तो कि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा छोरी सुजाताले बालुवाटारको ‘खटनपटन’ सम्हालेकी थिइन्।
त्यसको करिब १५ वर्षपछि एउटा कम्युनिस्ट प्रधानमन्त्रीकी छोरीले फेरि बालुवाटारको खटनपटन सम्हाल्न पुगिन्- प्रचण्डपुत्री गंगा दाहाल।
बैंसको चञ्चलता ‘बिहेघर’भित्रै कैद भयो गंगा र रेणुका। जब माओवादी संसदीय राजनीतिमा आयो अनि त्यो जोबनको बैंस राजनीतिमा ‘चञ्चल’ हुन थाल्यो। बालुवाटारमा छरिएको गंगाको चकचकी र पार्टीभित्र उनको जगजगी ओइलाइ बितेको त्यही ‘गुलाबी उमेर’को एउटा विम्बमात्रै हो।
लखनउको एउटा होटलमा गुपचुप अवीर र माला साटेर ‘क्रान्तिकारी’ बिहे गरेकी गंगा अहिले दोस्रो घरबारमा छिन्। उनका अहिलेका श्रीमान जीवन आचार्य कोशीको राजनीतिमा छन्। उनी त्यहाँको मन्त्रीसमेत भइसकेका छन्।
राजनीतिको एक संक्रमणमा हुर्किन थालेका यी छोरीहरूलाई अहिले एउटा पिताका हैसियतमा प्रचण्डले उनीहरूलाई जुन स्थान दिन चाहे र दिइरहेका छन् त्यसको गरिमा भने उनीहरूले धान्न सकेनन्।
यद्यपि, राजनीतिक संस्करणमा प्रगाढ बनेका प्रचण्डको परिवारवाद र आफन्तवाद अनि सन्तानमोहबारे पार्टीभित्रै र बाहिर पनि आलोचना अनि विरोधका स्वरहरू नचुलिएका होइनन्, त्यसलाई उनले सधैं ‘भावुक’ बनेर ढाकछोप गरिरहे।
निजी जीवनका बिचलन होउन् वा राजनीतिक अराजकता एक पिता बनेर उनले आफ्ना उन्मत्त सन्तानका उच्छृङ्खलताहरू ढाकिरहे।
एक कम्युनिस्ट पिताको ‘सुप्रिम’ कदमाथि गंगाले अहिले अर्को एउटा ‘सुप्रिम पावर’ खडा गर्दैछिन्। जसको छनक प्रचण्डलाई थाहा नभएको होइन तर उनीसँग अब एकदमै विश्वासिला सहयात्री छैनन्।
७० वर्षेको उकालो चढ्दै गरेका प्रचण्डको राजनीतिक र निजी जीवनमा धेरै कुरा छुटेका छन्। धेरै कुरा उनी आफैँले पनि छुटाएका छन्। छुट्ने र छुट्टिएका धेरै अवयवहरूले प्रचण्डलाई कहिँ न कहिँ, कतै न कतै अहिले पनि झस्काइरहन्छन्।
प्रचण्डको राजनीतिक र निजी जीवनमा बचेको बाँचेका भनेकै यी दुई छोरीहरू हुन्, जो अहिले पनि प्रचण्डवरिपरि नै छुनमुनाइरहेका छन्।
बालुवाटारको ‘खटनपटन’ सम्हालेपछि त गंगा यसरी बग्न थालिन् कि त्यो बेग अब उनी आफैँले सम्हाल्न सक्दैनिन् सायद।
प्रचण्डबाहिर अहिले अर्को घेरा बनाइसकेकी गंगाले नजानिँदो पाराले सारा ‘पावर’ आफैँमा सार्न थालेकी छिन्। सरकारमा होस् या पार्टीमा अब यो ‘गंगा-रेखा’ पार नगरी प्रचण्डकहाँ पुग्न मुस्किल नै छ।
त्यही घेरामा केही महिना अल्झिबसेका प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा त्यसकै एउटा परिणाम हो। यद्यपि, सिधा भाषामा गजुरेलले त्यो कुरा भनेका छैनन् तर उनको बहिर्गमनको एक अंशले प्रचण्डमाथि गंगाले कोरेको त्यही घेरा हो।
राजनीतिसम्म ठिकै थियो। निजी जीवनमा त कसैले प्रश्न गरेकै छैनन्। जब सरकारको कुरा आयो अनि कुटनीतिको कुरा आयो त्यहाँ पनि गंगा नै हावी हुन थालिन्। मन्त्रीहरूका ठाउँमा गंगाका पाइला बाक्लिन थालेपछि त्यसको असन्तुष्टिको परिणाम त मन्त्रीहरूकै ‘रिपोर्ट कार्ड’मा प्रष्टै छ। जसमा ‘काम र परिणाम’ भर्न प्रचण्ड आफैँले हस्ताक्षर गरेर मन्त्रीहरूलाई दिएका थिए। र, हेर्दा ती सब रित्ता देखिए।
‘राजनीतिक सेटलमेन्ट’देखि बालुवाटार हुँदै सरकारी खटनपटनसम्म अब गंगाकै चकचकी छ। ढोका-ढोका अनि प्रचण्ड हिँडेका पाइला–पाइलामा गंगाकै जगजगी छ।
सांसद अमरेशकुमार सिंहले साँचिराखेका प्रमाणहरूमा सबथोक नहोला तर उनले जुन दृढता ‘गंगा-विम्ब’लाई देखाउने प्रण गरिरहेका छन्, त्यसमा केही न केही सत्यता भने पक्कै छन्। तथ्य त उनैले जानून्।
प्रचण्ड त्यत्तिकै संसदीय समितिमा आफ्ना छोरीहरूप्रति ‘भावुक’ भएर जवाफ दिएका होइनन्। नत्र उनले गंगालाई भनिरहनुपर्ने नै थिएन- बिचरी ऊ मेरी छोरीहरू, अब मेरो जीवनमा बचेका भनेकै यत्ति दुई छोरी त हुन्।