डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन्।

यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताए।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा महतले भने, 'डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ। जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्छन्। न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन्।'

सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उहाँको भनाइ छ। अर्थमन्त्री डा महतले भन्नुभयो, 'यसमा हामीले न्यूनमात्रै कर लगाउने व्यवस्था गरेका छौँ।

त्यसबाट यो व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुआत गर्न चाहन्छ, उनीहरूका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।'

राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताएका छन्। उनका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ। आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिँदै मन्त्री डा महतले भने, 'नेपाली युवालाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ।'

नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, 'अहिले ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ। जसले गर्दा विभिन्न क्षेत्रको विजनेस व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ। यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ।' यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूको पलयान रोक्न पनि थप प्रवर्द्धन गर्न जरुरी रहेको उनको कथन छ।

प्रकाशित मिति: : 2023-12-23 19:10:00

प्रतिकृया दिनुहोस्