अघिल्लो साता त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुन दशरथ रंगशालामा खचाखच भरिएका दश हजार विद्यार्थीमाझ एउटा पाको अनुहार चम्किरहेको थियो।
जीवनका ७२ वसन्तीय उकालोमा ‘डिग्री’को प्रमाणपत्र समाउँदा उज्यालिएको त्यो अनुहार थियो- बमकुमारी बुढामगर।
सेताम्य कपालमाथि ढल्किएको कालो ‘क्याप’सँगै मुजा परेका उनका गालाहरू मन्द मुस्कानसँगै बयली खेलिरहेका थिए।
‘डिग्री’ होल्डर कलिला जीवनमाझ सायद बमकुमारीको वैँशालु यादहरू पनि उसैगरी सुसेल्दै थिए कि!
देशमा प्रजातन्त्र आएको साल रोल्पाको धर्तीमा पाइला टेकेकी थिइन्, बमकुमारीले।
इतिहासको एउटा पानामा जन्मिएकी बमकुमारी देशको राजनीतिक इतिहासको अर्को एउटा पानामा आफैँ फट्के-किनाराको साक्षी बनिन्।
अर्थात् उनी ‘राष्ट्रिय पञ्चायतको सदस्य’ पनि हुन्।
वर्ष ७२, योग्यता: एमए पास
कलिलो उमेर अलिअलि गर्दै छिप्पिँदै थियो। उमेरसँगै जब बमकुमारी बुझ्ने हुँदै थिइन्, अनि आफूले आफैँलाई चिन्न खोजिन्। आफ्नो समाजलाई चिन्न खोजिन्। आफ्नोपनलाई चिनाउन खोजिन्। त्यसका लागि केही अक्षर चिनेकी बमकुमारीले यो चिन्ने र चिनाउने यात्रालाई ७२ वर्षको उमेरसम्म ‘एमए’सम्मको यात्रामा फन्को लगाएकी छिन्।
र, यो पल बमकुमारीको लागि एक ‘टुक्रा’ खुसीमात्रै हो।
बमकुमारीलाई लाग्छ जिन्दगीको रफ्तारमा छुटेको एउटा काम अब पूरा भएको छ।
दीक्षान्तमा चञ्चल हजार ती जीवनहरूमाझ ‘फुलिरहेकी’ बमकुमारीको मनमा त्योबेला ‘याद’का लहरहरूले उछालिरहेका थिए।
कुनैबेला ३ घण्टाको परीक्षामा दर्जन कापीका पानाहरू शब्दहरूले भर्ने बमकुमारीका हात डिग्रीको परीक्षा लेख्दै गर्दा काम्न थालेका थिए। परीक्षाहलको त्यो ४ घण्टा कतिबेला बित्लाजस्तो पो लाग्न थाल्यो।
तैपनि जीवनमा साँचिरहेको एउटा काम थियो त्यो। आँटेका काम त जीवनमा उनले अपुरो कहाँ छोडिन् र!
‘पढ्नलाई उमेरले छेक्दैन त भन्छन् तर ज्यानले अलि छेक्न खोज्दोरैछ’, बमकुमारीलाई लागेथ्यो, ‘एउटा काम यो पनि हो जीवनको। फत्ते त गर्नैपर्छ।’
यो उमेरमा ‘समाजशास्त्रीय’ डिग्री समाएकी बमकुमारीलाई लाग्छ- मान्छेका काम त कति हुन्छन् कति र एउटा काम समाजलाई चिन्नु पनि हो।
७२ को उकालोमा समाएको डिग्रीको हाँगो कत्ति न अनौठो हो र!
पावरदार चस्माभित्र चञ्चल उनका आँखाहरूमा बमकुमारीका खुसीहरू यसैगरी चम्किरहेका छन्, ‘मलाई डिग्री सकेर अचम्मको खुसी भन्ने छैन। सामाजिक जीवनको एउटा काम हो। त्यही एक काम गरेँ।’
डिग्रीको सर्टिफिकेटसँगै ‘बधाई’का ओइरो सुम्सुम्याइरहेकी बमकुमारीका ‘काम’ भने अझै सकिएका छैनन्। जीवनका खुड्किलाहरूमा भ्याएको एउटा काम पो थियो- डिग्री पास। गर्नुपर्ने काम त जीवनमा अझै कति छन् कति।
उमेर ढल्कियो त के भो! नामजस्तै बमकुमारीको मन त अझै उस्तै विष्फोटक छ, जस्तो त्यो जोवन थियो।
दशमध्ये बाँचेका ५ पाँच सन्तानमा एक थिइन् बमकुमारी।
‘बैदार’(बहिदार) उनका दाजुले हिसाबकिताब लेख्दालेख्दै बमकुमारीलाई पनि अक्षरहरू लेखाएका थिए, उनले त्यही सिकिन्।
धेरैपछि मात्रै बमकुमारीलाई थाहा भयो, उनले लेखेका र सिकेका ती अक्षरहरू- ‘कखरा’ थिए। जुन अक्षरहरू गाँस्दै गाँस्दै शब्दहरू बनाउन सिकिन्। तिनलाई बेर्दाबेर्दै उनले पढ्न सिकिन्। स्कुलसम्म हिँडाउने तिनै अक्षरहरू बने।
र, एकैचोटी छ क्लासको ढोका उक्लिइन्।
२०३० सालमा एसएलसी पास गर्ने बमकुमारी रोल्पाकी एक्ली महिला थिइन्। त्यसैले गाउँका अगुवादेखि नेतासम्म सबको नजरमा थिइन्, बमकुमारी। उसैपनि परिवारका अरु पनि ‘पञ्चायत’ राजनीतिमै थिए।
दुई विषय (संस्कृति र राजनीतिक शास्त्र) विषयमा स्नातक गरेकी उनी देशको नीति निर्माण गर्ने तहसम्म पनि पुगिन्। २०३९ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएर देशको नीतिगत तहमा काम गरिन्।
उनी यसै यो सफलतामा पुगेकी होइनन्। आठ वर्षकी हुँदा क, ख लेख्न थालेकी बमकुमारीले सायदै स्नातकोत्तर तह पास गर्छु भन्ने सोचेकी थिइन्।
एक/दुई कक्षा नपढेर छ कक्षा पढ्न थालेकी उनी पढाइमा अन्त्यन्तै तेज थिइन्। ‘म ६ कक्षामा पढ्दा मात्र सामान्य पास भएकी हुँ। त्यसपछि ७-८ पढ्दा लिवाङमा स्कुल फस्ट भएकी हुँ,’ उनी भन्छिन्।
त्यसपछि उनी ९-१० पढ्न दाङको घोराहीमा झरिन्। पद्मोदय स्कुलबाट एसएलसी पास गरिन्। उनलाई पढ्न सहज थिएन। उनको दाजुभाइ, दिदीबहिनीसहित १० जनाको ठुलो परिवार थियो।
बमकुमारीलाई दाङमा पढाउन उनकी आमाले दु:ख गरेकी छिन्। ‘मलाई दाङ पढाउन आमासँगै आउनुभएको थियो। त्यहाँ थारु बस्तीमा भेडा हुन्थ्यो। त्यो भेडाको उन लिन म पनि आमासँग शनिबार जान्थेँ,’ उनले भनिन्, ‘आमाले भेडाको उनबाट राडी बनाएर बेचेर मलाई पढाउनुभएको हो।’
बमकुमारीको पढाइमा आमाको ठुलो सहयोग रहेको उनी बताउँछिन्। ‘मलाई जेठो दाइले २०१५ सालमा कालो पार्टी बनाएर क, ख–अ,आ सिकाउँदा छिट्टै सिकेको देखेपछि आमा खुसी भएर मलाई कोइलाबासबाट चुरा ल्याइदिने कुरा गर्नुभएको थियो,’ उनले अगाडि भनिन्, ‘८ कक्षा पास गरेपछि पनि आमाले मलाई पढाउन दाङ लैजानुभएको हो।’
हक्की स्वभावकी बमकुमारी
कपाल फुलिसकेको छ। आँखामा चस्मा बसिसकेको छ। तर बमकुमारीको हक्की स्वभाव ७२औँ वर्षमा पनि ताजै छ। चाउरी परे पनि अनुहारमा चमक छ। वजनदार आवाज उनमा उस्तै छ। जसले उनको हक्की स्वभाव थाहा हुन्छ।
हक्की स्वभाव उनमा आज आएको होइन। उनी सानै हुँदा पनि उस्तै थिइन्। जिद्धी गरेर पढन थालेपछि उनलाई दाइले कालो पाटी बनाइदिएका थिए। कलो पाटीमा पढ्दा बाह्रखरी मात्र होइन, उनले गाउँमा चिठ्ठी पढ्ने भइसकेकी थिइन्।
उनको पढाइलाई देखेर लिवाङमा शिक्षकहरुले कक्षा ६ मा नाम लेखाइदिएका थिए। कक्षा ६ मा पढ्ने समयमा उनी बहर गोरुसँग जुधेको देखेर छक्क परेका थिए। ‘म लिवाङमा पढ्न गएको थिएँ। घरबेटीको बहर गोरु हान्ने रहेछ,’ उनले भनिन्, ‘एकदिन घरबाट भागेको बहर गोरुलाई मैले समातेको देखेर सबैले गाइजात्रा हेरेको झैँ हेरेका थिए।’
उनको यो स्वभाव पढ्दा पनि उस्तै थियो। ९-१० पढ्दा उनीसँग प्रतिस्पर्धा गर्ने साथी महिला कोही हुँदैन थिए। उनले भनिन्, ‘मैले हेरेक प्रतियोगितामा भाग लिने गर्थेँ। त्यसमा मेरो प्रतिस्पर्धी साथी सबै पुरुषमात्र हुने गर्थे। महिला कोही पनि हुँदैन थिए।’
आइएड नेपालगञ्जमा पढ्दा पनि उनका प्रतिस्पर्धी पुरुष नै थिए। ‘पाँच अञ्चलको आइएड पढ्ने केन्द्र नेपालगञ्जमा थियो। त्यहाँ पढ्ने महिलामा म मात्र थिएँ,’ उनले भनिन्। आइएड उनले २०३४ सालमा सकेर उनी २०३९ मा उनी राष्ट्रिय पञ्चायतको सदस्य भएकी थिइन्।
…अनि राजनीति छाडिन्
२०३९ सालमा राष्ट्रिय पञ्चायतको चारवर्षे कार्यकाल सकेर उनी फेरि २०४३ सालमा दोस्रो कार्यकालका लागि चुनाव लडिन्। रोल्पामा दुई सिटमा भएको चुनावमा धाँदली भयो।
उनले सर्वोच्चमा मुद्धा दायर गरिन्। २०४३ जेठमा उनले मुद्धा दायर गरेकोमा २०४६ काे वैशाखमा सर्वोच्चले मुद्धा खारेज गरिदियो। सोही सालको चैतको २६ मा पञ्चायतको अन्त्य भयो र बहुदल घोषणा भयो।
बमकुमारी पञ्चायतको पक्षमा थिइन्। पञ्चायतपछि राजाले दल खोल्न पञ्चहरुलाई अह्राए। त्यसपछि पञ्चहरुले दल खोले। तर दल खोल्दा पार्टीको अध्यक्ष को भन्नेमा विवद भयो।
लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापामा को राप्रपाको अध्यक्ष बन्ने सहमति नभएपछि उनीहरु राप्रपा र राप्रपा नेपालमा विभाजन भए। उनीहरु दुई चिरामा विभाजन भएपछि बमकुमारीलाई राजनीतितर्फ मन मरेको हो।
‘राष्ट्रिय पञ्चायतमा पनि ठुलाठुला खेल हुन्थ्यो। राजनीतिक निर्णयहरु हुन्थ्यो। म दुई पार्टी नबनाउने पक्षमा थिएँ,’ उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भनिन्, ‘पार्टी तलसम्म चिरा भएपछि राजाको सस्तो राजनीति गर्ने होइन भनेर म स्वतन्त्र बसेकी हुँ।’
उनी त्यसपछि नेपाल मगर संघको संस्थापक अध्यक्ष भएर काम गरिन्। उनी अहिले पनि अध्ययन, अनुसन्धानमा छिन्। मगर मातृभाषाको उनले पाठ्यपुस्तक तयार पारेकी छिन्।
पञ्चायतपछि राजनीति छाडेकी उनले संघीय गणतन्त्रको शासन पनि नागरिकमुखी हुन नसकेको बताउँछिन्।
उनले अझै विवाह गरेकी छैनन्। किन विवाह नगर्नुभएको हो? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘फुर्सद भएन।’