डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ। स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले राससलाई जानकारी दिएका छन्।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए। सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन्। हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ।

यसैबीच, धनकुटा नगरपालिका–५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो। 

प्रकाशित मिति: : 2023-12-17 19:07:00

प्रतिकृया दिनुहोस्