एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

बिएल संवाददाता

सुदूरपश्चिम
फाइल तस्बिर
फाइल तस्बिर

एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्।

एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ।

स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदैगएको बताए। उनले भने, 'औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ।'

सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ। सुदूरपश्चिम प्रदेशमा हाल सरकारी निकायका १७ ठाउँमा र गैरसरकारीका चार ठाउँबाट शङ्कास्पद एचआइभी सङ्क्रमितको जाँच हुने गरेको छ। यस्तै सङ्क्रमितलाई दैनिक औषधि खुवाउनका लागि १७ ठाउँमा एआरबि सेन्टर सञ्चालनमा छन्।

सङ्क्रमितले हरेक दिन औषधि खानुपर्छ। पछिलो तथ्याङ्क (२०७९/८०) का अनुसार सुदूरपश्चिममा एचआईभीबाट सङ्क्रमित भएको अनुमान गरिएका पाँच हजार एकसय ९० मध्ये चार हजार सात सय १७ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ।

तीन हजार छ सय २३ जनाले एआरबि(एन्टिरेक्टो भाइरल) औषधि खाइरहेका छन् भने दुई हजार आठसय ६३ जनाको ‘भाइरल लोड सुप्रेस’को अवस्था छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले भने,'यो रोगको उपचार हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ, पहिलेको भन्दा प्रभावकारी औषधि बनेकाले यो रोग नियन्त्रणमा टेवा पुगिरहेको छ।'

प्रकाशित मिति: : 2023-12-15 22:26:00

प्रतिकृया दिनुहोस्