दलालसँग मिलेर ‘मानव तस्कर’मा अध्यागमन र एयरलाइन्सका कर्मचारी, ३ जना पक्राउ

File Photo
File Photo

नेपालीलाई नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा नेपाल एयरलाइन्स र अध्यागमन विभागकै कर्मचारीको संलग्नता रहेको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एयरलाइन्सका दुई जना र अध्यागमन कार्यालयका एक जना अधिकृतलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका छैठौँ अधिकृत होम पोख्रेल र पाचौँ तहका अधिकृत अर्विन यादव रहेका छन्।

खड्का र पोख्रेल हिजो पक्राउ परेका हुन् भने यादवलाई आज (बुधबार) पक्राउ परिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरुले ट्रभल्स एजेन्सीसँग मिलेर भिजिट भिषामा नागरिकलाई विदेश पठाउन सघाउने गरेका थिए। एक जना विदेश पठाएबापत अध्यागमनका कर्मचारीले ५५ हजार रुपैयाँ लिने गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ। 

पहिलाे पटक भिजिट भिषामा विदेश जानेबाट ५५ हजार र दाेस्राे पटक विदेश जानेबाट ४० हजार रुपैयाँ अध्यागमनका कर्मचारीले खाने गरेका थिए।

एयरलाइन्सले एक व्यक्तिबाट १० देखि १५ हजार लिने गरेकाे प्रहरीले अनुसन्धानमा खुलेकाे छ। 

प्रकाशित मिति: : 2023-12-13 13:43:00

प्रतिकृया दिनुहोस्