ललितपुर महानगरलाई प्रश्न– लखेटिएका फुटपाथ व्यापारीको व्यवस्थापन कहाँ भयो?

ललितपुर महानगरपालिकाले वडा नम्बर १२ र १९ को लगनखेलदेखि मंगलबजारसम्मका पुटपाथ व्यापारीलाई हटायो। दैनिक जीविकोपार्जनका लागि फुटपाथमा व्यापार गर्न बाध्य भएका करिब पाँच सय व्यापारीलाई महानगरले हटाएपछि त्यसका विरुद्धमा अभियन्ता ईः विरोधमा उत्रिएका छन्।

काठमाडौँ महानगरले फुटपाथ व्यापारी हटाउँदा १९९ घण्टा उभिएर विरोध गरेको ईःले ललितपुरमा पनि १०८ मिनेट उभिदै विरोध गर्ने भएका छन्। आज मंगलबार दिउँसो ३ बजेदेखि १०८ मिनेट उभिने उनले घोषणाा गरेका छन्।

फुटपाथ व्यापारी हटाउने ललितपुर महानगरको निर्णय र त्यसपछिको विरोधमा उत्रिएका ईःसँग सम्बन्धित रहेर ललितपुर महानगरका प्रवक्ता राजु महर्जनसँग छोटो कुराकानी गरेका छौँ।

प्रस्तुत छ बिएल नेपाली सेवाले प्रवक्ता महर्जनसँग गरेको कुराकानीको सम्पादित अंशः

लुलितपुरले किन फुटपाथ व्यापारी लखेटेको हो?

व्यापारी लखेटेको होइन। लगनखेलदेखि मंगलबाजरसम्म फुटपाथमा व्यापार हुँदै आएको थियो। पछिल्लो समय धेरै व्यापारी बेढेर त्यस क्षेत्रमा आवागमन नै अवरोध भएपछि हामीले अध्ययन गर्यौँ।

अध्ययनमा त्यहाँ व्यापार गर्ने खास फुटपाथ व्यापारी रहेनछन्। धेरैजसो भित्र सटरमा पसल राखेको र बाहिर पनि उनीहरुले नै व्यापार गरेको पाइयो।

सडकमा त्यसरी व्यापारी बस्दा कतै आगलागी भएमा दमकलसमेत जान नसक्ने भयो, एम्बुलेन्स गुड्न नसक्ने भयो। त्यसपछि हामीले केही व्यवस्थापन गरेका हौँ। र, त्यस क्षेत्रमा व्यापार गर्न रोक लगाएका हौँ। तर, बिहान ८ बजेसम्म तरकारीहरु बिक्री गर्न भने हामीले रोक लगाएका छैनौँ।

लगनखेलदेखि मंगलबाजरसम्म करिब पाँच सय व्यापारी लखेटिएको भन्ने छ। उनीहरुको व्यवस्थापन कहाँ गर्नुभयो?

हामीले यही गएर बस्नुस् भनेका छैनौँ। उहाँहरु व्यापारी हुनुहुन्छ। जहाँ इच्छा लाग्छ, त्यहाँ जानुहुन्छ। ललितपुरमा पनि धेरै सटरहरु खाली छ। सटर नपाइने भन्ने समस्या छैन। सीमित आफूलाई फाइदा राखेर व्यापार गरे भइहाल्यो नि!

सटर भाडामा तिर्न नसकेरै दैनिकी गुजार्न फुटपाथमा व्यापार गर्न बाध्य भएका हुन्। कसरी सटर भाडामा लिएर बस भन्नुहुन्छ?

फुटपाथ व्यापारी भन्नेबित्तिकै हामीले सहानुभूति जनाउने गर्छौँ। तर यस्तो पनि होइन कि उहाँहरु सटरमा पसल नै गर्न नसक्ने। उहाँहरुले फुटपाथमा पनि दैनिक हजारौँमा व्यापार गर्नुहुन्छ।

त्यस्तै सटरमा पनि गर्न सक्नुहुन्छ। पसल खोलेर बस्न नमान्ने। अनि कहिलेसम्म खाली बसेर व्यापार गर्ने त? उहाँहरु पनि व्यवस्थित रुपमा व्यापार गर्नुपर्छ र सटर खाली भइरहेको छ। ती सटरमा भाडामा लिएर उहाँहरुले व्यापार गर्नुपर्छ।

ईःले ललितपुरविरुद्ध १०८ मिनेट उभिँदै छन्। उनको माग कसरी सम्बोधन गर्नुहुन्छ?

कसरी सम्बोधन गर्ने भन्ने कुरा छलफलमा हुन्छ। उहाँले आन्दोलन गर्न पाउनुहुन्छ। उहाँलाई हामीले रोकतोक गर्ने कुरा हुँदैन। तर स्थानीय उनको आन्दोलनप्रति आक्रोशित छन्।

मलाई फोन पनि आइरहेको छ। उनलाई स्थानीयले उनले लेखेको कमेन्टमा गाली गरिरहेका छन्। स्वतन्त्र रुपमा हामीलाई बस्न दिनुपर्छ, भएभरको व्यापारी सडकमा राख्न पाइँदैन भन्दै स्थानीय सधैँ गुनासो गर्छन्।

आज ईःसँग छलफल हुन्छ?

उहाँसँग आज छलफल हुँदैन।

प्रकाशित मिति: : 2023-12-12 15:06:00

प्रतिकृया दिनुहोस्