दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३९औँ बडापत्र दिवस आज यहाँ विशेष समारोह गरी मनाइएको छ।
समारोहमा स्वागत गर्दै सार्कका महासचिव गोलाम सरवारले दक्षिण एसियाका जनताको हितलाई प्रवद्र्धन गर्न र यस क्षेत्रको सामाजिक प्रगति र आर्थिक विकासमार्फत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सार्कको स्थापना भएको बताए।
सार्कको १५औँ महासचिवका रूपमा हालै पदभार ग्रहण गर्नुभएका सरवारले सार्कले दक्षिण एसियाका जनताको साझा चुनौती, चासो र आकाङ्क्षा र सदस्य राष्ट्रहरूबीचको संयुक्त कार्य र वृद्धि सहयोगको आवश्यकतालाई पूर्णरूपमा मान्यता दिएको उल्लेख गरे।
उनले भने, “सार्क मूलतः जनता केन्द्रित संस्था हो, जुन आफ्ना जनताको जीवनस्तर सुधार्नका लागि सिर्जना गरिएको हो। सार्कले क्षेत्रीय सहयोगका लागि धेरै महत्वपूर्ण क्षेत्रमा ध्यान केन्द्रित गरेको छ। दक्षिण एसिया क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि प्रयास जारी राख्न सार्क प्रतिबद्ध छ।”
आफ्नो स्थापनाकालदेखि नै सार्कले गरिबी निवारणलगायत प्राथमिकताका क्षेत्रमा क्षेत्रीय सहयोगलाई प्रबर्द्धन गर्न निरन्तर प्रगति गरेको उल्लेख गर्दै महासचिव सरवारले सार्कले दक्षिण एसियामा दिगो शान्ति, प्रगति र समृद्धि हासिल गर्न क्षेत्रीय सहयोग र संलग्नताको प्रचुर सम्भावना प्रदान गरेको बताए।
उनले दिवसका अवसरमा विशेष सन्देश जारी गरेकामा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका राष्ट्राध्यक्ष/सरकार प्रमुखप्रति कृतज्ञता व्यक्त गरे। आफ्ना सन्देशहरूमा सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूले सार्कको बडापत्रका उद्देश्यहरूलाई पूर्णरूपमा साकार पार्न, एकता कायम राख्न र सहयोगलाई थप सुदृढ पार्ने दृढ सङ्कल्प र दृढ प्रतिबद्धता दोहोर्याएका थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित रहेका थिए। यसैगरी समारोहमा सभामुख, उपसभामुख, मन्त्री, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मीलगायतको उपस्थित थियो।
बङ्गलादेशको ढाकामा भएको पहिलो शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रप्रमुख÷सरकार प्रमुखहरूले सन् १९८५ डिसेम्बर ८ मा आफ्नो बडापत्रलाई अनुमोदन गरेर सार्कको सुरुआत गरेका थिए। सार्क विश्व जनसङ्ख्याको एक चौथाइभन्दा बढी प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो।
यसको बडापत्रमा उल्लेख भएअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रमा तीव्र सामाजिक प्रगति र आर्थिक विकासमार्फत जनताको हितलाई प्रवद्र्धन गर्नु र उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु हो। सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन्। सार्कको सचिवालय काठमाडौँमा छ।