‘दलित भन्दै’ वृद्धालाई आश्रमबाट निकाल्ने महिला पक्राउ

फाइल तस्विर
फाइल तस्विर

जातीय विभेद् गरेकाे आराेपमा मोरङको बूढीगंगा गाउँपालिका- १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। पीडितकाे उजुरीकाे आधारमा साेमबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।

आचार्यविरुद्ध उर्लाबारी नगरपालिका– ३ की ६२ वर्षीया शाेभा सुन्दासले आफूमाथि जातीय विभेद गरेकाे भन्दै प्रहरीमा उजुरी गर्दा गराएकी थिइन्।

आचार्यले मंसिर १४ गने आफूलाई वृद्धाश्रमभित्र लगेको तर सिफारिस पत्र हेर्नासाथ दमाई (परियार) जातको भन्ने खुलेपछि ‘यस्तो जातको हुँदैन’ भनी फिर्ता पठाएको शाेभाले जाहेरीमा उल्लेख गरेकी छन्।

पीडित शोभा सुन्दासकाे जाहेरी-

म जाहेरवाली शोभा सुन्दास वर्ष ६२ को वृद्ध महिला हुँ। हाल मेरो कुनै सन्तान छैनन्। मेरो पनि राजमान सुन्दास ३५ वर्षदेखि बेपत्ता हुन भएको हुँदा म एक्लै कष्टकर जीवन बिताइरहेको छ। म शारिरीक रूपमा बाध्य भई खुट्टा टेक्नसमेत गाह्रो, अप्ठ्यारो छ। मेरो स्वास्थ्य तथा आर्थिक अवस्थासमेत नाजुक भएको हुँदा उर्लाबारी  नगरपालिका वडा नं. १ को वडा सदस्य टीका भुजेलले हामी वडाबाट सिफारीस बनाई दिन्छौँ, तपाईं जागृति वृद्धाश्रम बूढीगंगा-१, पुष्पलाल चोकमा बस्नुहोस् भनी भन्नुभएको तथा जागृति वृद्धाश्रमलाई फोन गरी आश्रमले पठाइदिन भनेपछि वडासदस्य टीका भुजेलले जानुहोस् भन्दा मेरो पनि चित्त बुझी उर्लाबारी न.पा. वडा नं. ३ की कार्यालयको सिफारीस लिएर मिति २०८०/०८/१४ गते बिहानको अ. ९ः०० बजे अस्मिता दर्नाल (दर्जी) लाई साहरा माँगी जागृति वृद्धाश्रममा आइपुगी आश्रमको सञ्चालक भुवनेश्वरी आचार्यलाई भेटी मैले वडाबाट लिएको सिफारिस दिएपछि उहाँले सिफारीस पढी सुन्दास भनेको के हो भनी सोध्दा मैले दर्जी दमाई जाति हो भनी बताएपछि तत्काल वडासदस्य टीका भुजेललाई फोन लगाई उहाँ दलित सानो जातको हुनुहुँदो रहेछ, हामी राख्दैनौँ भनी मलाई तिमी सानो जातको रहेछौ, आश्रममा आजसम्म हामीले यस्तो जात राखेको छैन, चुलामा जान, पानी छुन मिल्दैन, पानी चल्दैन, हामी कोही पनि तिमीले छोएको खाँदैनौँ, तिमी हाम्रो आश्रमभित्र पस्न, बस्न पनि मिल्दैन, तत्काल यहाहाँबाट निस्की जा, मैले थाहा नपाएर भित्र ल्याएँ, अरूले थाहा पाए भने मार्छन् भनी मलाई जातीय तथा छुवाछूतको भेदभाव हुने कार्य गरी अपमानजनक ढंगले वृद्धाश्रमबाट निकाली जागृति वृद्धाश्रमकी सञ्चालकले नेपालको संविधानको धारा २४, १८ तथा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को ३ (१) र (२) ऐ. को दफा ४ (१) र (२) (क) (ख) विपरीतको कसुर गरेको हुँदा विपक्षी जागृति वृद्धाश्रमको सञ्चालक भुवनेश्वरी आचार्यलाई तत्काल पक्राउ गरी ऐ ऐनको दफा ७ (१) (क) बमोजिम हदैसम्म सजाय गरी पाऊँ भनी यो जाहेरी दरखास्त पेस गर्दछु।’

प्रकाशित मिति: : 2023-12-11 17:53:00

प्रतिकृया दिनुहोस्

    यी यस्ता रुढीबादी पाखण्डिहरुलाई कडाभन्दा कडा कारबाही गरियोस ताकी आइन्दा यस्तो हर्कत गर्नु अघि हजारौं पल्ट सोच्ने होस अन्यले गर्ने दुस्साहस नगरोस । हुन त हिन्दुहरुको मुख्य धर्म धर्मशास्त्रनै रुढीबादी बिभेदकारी छन अनि तिनै धर र धर्मशास्त्रलाई मान्ने कुजातहरु कसरी होलान र परिवर्तन कासरी आउला र मानवीय चेत ।।

    • 10 महिना अगाडि
    • माईला किराँति