जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितहरुले अस्थायी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने भनेको रकम पाएका छैनन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ गते बसेको बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरुलाई अस्थायी आवास निर्माणको लागि प्रतिपरिवार रु. ५० हजार उपलब्ध निर्णय गरेको थियो। यद्यपि, भूकम्प गएकाे एक महिना कट्दासमेत पीडितहरुले अस्थायी आवास निर्माणको लागि रकम पाएका छैनन्।
कात्तिक १७ गते मध्यराति जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम (पश्चिम) गरी कूल २६ हजार पाँच सय ५७ घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिकरुपमा क्षति भएका थिए।
भूकम्पबाट घरविहीन भएकाहरुको लागि तत्काल अस्थायी आवास निर्माण गर्न दुई चरणमा २५/२५ हजार गरी नगद विरण गर्न सरकारले सम्बन्धित स्थानीय निकायहरुलाई जिम्मा दिएकाे थियाे। तर, स्थानीय निकायहरुले रकम वितरण गर्न अझै सुरु गरेका छैनन्।
सदरमुकामसँगै रहेकाे र सबै हिसाबले अन्य पालिकाहरु भन्दा सहज रहेकाे भेरी नगरपालिकालेसमेत अहिलेसम्म आवास निर्माणकाे लागि रकम बाड्न सुरु गरेकाे छैन्। नगरपालिकाका लेखापाल राजेन्द्रबहादुर कठायत कागजी काम नसकिएकाेले रकम नबाँडिएकाे बताए। ‘विपद् काेषबाट हाम्राे खातामा पैसा आएकाे छ तर यहाँ कागजी प्रक्रिया पूरा भइनसकेकाेले रकम वितरण सुरु भएकाे छैन,’ कठायतले भने। एक/दुई दिनबाटै रकम वितरण सुरु हुने उनकाे भनाइ छ।
त्यस्तै भूकम्पकाे केन्द्रबिन्दु रहेकाे र सबैभन्दा बढी क्षतिग्रस्त बारेकाेट गाउँपालिकाले पनि रकम वितरण सुरु गरेकाे छैन। त्यहाँ पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा रकम वितरण सुरु भएकाे छैन। बारेकाेटमा अस्थायी आवास निर्माणकाे लागि ५ हजार ५ सय ६५ परिवारले नाम टिपाएका छन्। उनीहरुलाई एक/दुई दिनभित्रमा रकम वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले बताए।
त्यसैगरी जिल्ला सदरमुकाम खलंगाबाट धेरै टाढा रहेकाे र हिउँदमा हिउँसमेत पर्ने कुशे गाउँपालिकामा पनि अहिलेसम्म रकम वितरण भएकाे छैन। विपद् व्यवस्थापन काेषबाट रकम अहिलेसम्म उपलब्ध नभएकाे गाउँपालिकाका सूचना अधिकारी खुमराज राेकायले बताए। ‘हामीले नामावली तयार गरेर बसेका छाैँ,’ उनले भने, ‘तर, अहिलेसम्म काेषबाट पैसा आएकाे नै छैन।’
राेकायका अनुसार कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणकाे लागि ५ हजार २ सय ८७ परिवारले नाम टिपाएका छन्।
त्यस्तै नलगाड नगरपालिका र छेडागाड नगरपालिकाले पनि रकम वितरण गरेका छैनन्। अस्थायी आवास निर्माणकाे लागि नलगाड नरपालिकाका ८ हजार ९७ परिवार र छेडागाडका ३ हजार ६ सय ४६ परिवारले नाम दर्ता गराएका छन्।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक गरेको जानकारीअनुसार हालसम्म शिवालय, छेडागाड, बारेकोटमा रकम पठाएको छ भने नलगाड आधा र भेरीमा पूरै रकम पठाउन दुई दिनसम्म लाग्ने जनाइएको छ।
पीडित अझै त्रिपालमुनि
भूकम्प गएकाे एक महिना बढी पुग्दासमेत जाजरकाेट र रुकुम (पश्चिम)का विपन्न परिवारहरु अहिलेसम्म पनि त्रिपालमुनि बस्न बाध्य छन्। भूकम्प गएलगत्तै केही संघ-संस्था, नेपाली सेना, प्रहरी, राजनीतिक दलका नेता/कार्यकर्ताहरुले अस्थायी आवास निर्माणकाे अभियान नै चलाए पनि धेरै विपन्न परिवारहरु अहिलेसम्म पनि त्रिपालमुनि बस्न बाध्य छन्।
आवास निमार्ण गर्न नसक्दा चिसाेबाट मरिने हाे कि भन्ने चिन्ता बढेकाे स्थानीय राधिका नेपालीले बनाइन्। ‘आवास कहिले निर्माण हुने हो कुनै पत्तो छैन। चिसोले मरिने हो कि भन्ने चिन्ता बढ्न थाल्यो,’ उनले भनिन्।