रुसी सेनामा भर्ना भएका तीनजना नेपालीको मृत्यु

बिनेश खनाल

काठमाडौं

युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ। 

मस्कोस्थित नेपाली दूतावासका उच्च अधिकारीका अनुसार उनीहरू मारिएको घटनाबारे विस्तृत विवरणहरू नेपाल सरकारलाई पठाइसकिएको छ। 

दुतावासका अनुसार स्याङ्जा पुतली बजारका प्रितम कार्की, दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको निधन भएको हो।

उनीहरूको गत १५ नोभेम्बरमा मृत्यु भएको दूतावासले जनाएको छ।

त्यसको विस्तृत खोजी गरेर दूतावासले चार दिनअघि मात्रै नेपालस्थित कन्सुलर विभागलाई मृतकका आफन्तसँग समन्वय गरिदिनका लागि पत्राचार गरेको थियो। 

उनीहरूको शव व्यवस्थापन र नेपाल पठाउनका लागि रुसी सेनासँग समन्वय भइरहेको जनाइएको छ। उनीहरू कुन घटनामा कसरी मारिएका हुन् भन्ने अझै खुलाइएकाे छैन। 

रुस र युक्रेनबीच युद्ध चर्किरहँदा रुसी सेनामा भर्ना भएका नेपाली युवाका बारेमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेख्दै आएका थिए। तर नेपाली अधिकारीहरूले भने त्याे कुरा पुष्टि गरिरहेका थिएनन्। 

यसअघि लडाईंमा हाेमिएका अरु नेपाली घाइते भएका समाचारहरू पनि सार्वजनिक भएका थिए। 

प्रकाशित मिति: : 2023-11-28 15:22:00

प्रतिकृया दिनुहोस्