कर्णाली राजमार्गमा चर्को भाडा तिरेर झर्को लाग्ने यात्रा गर्नुपर्ने बाध्यता

file photo via ekagaj.com
file photo via ekagaj.com

दसैँ-तिहारपछि कर्मथलाे फर्किँदा कर्णालीका नागरिकले सधैंभरि सास्ती खेपिरहेका छन्। हवाई यातायात होस् या सडक दुवै आमनागरिकको पहुँचमा पुग्न सकेका छैनन्। त्यसमाथि सरकारले जतिपटक इन्धनको मूल्य घटाउँदा पनि भाडादर समायोजन हुँदैन। परिणाम कर्णालीका नागरिक महंगी र महंगो भाडाको मारमा छन्।

इन्धनको मूल्य घटे पनि सरकारले तोके बमोजिम भाडादर कर्णालीमा कहिले कायम हुँदैन। इन्धनको मूल्य घटेपनि कर्णालीमा यातायात व्यवसायीले मनोमानी रुपमा भाडा लिने गरेको पाइन्छ।

पाँच/सात वर्ष अगाडिसम्म नेपालगञ्जबाट १५ सय रुपैयाँमा र सुर्खेतबाट एक हजार रुपैयाँमा आवतजावत हुने भएपनि आज २५ सय रुपैयाँभन्दा कममा आवतजावत गर्न सकिँदैन। सरकारले पटक-पटक भाडादर तोक्दै र इन्धनको मूल्य घटाउँदै आएपनि यात्रुले चर्को भाडा तिर्नु परिरहेको छ।

यातायात व्यवसायीले अप्ठ्याराे कर्णाली राजमार्गको कारण देखाउँदै गाडीको मर्मत खर्चसमेत नआउने भन्दै मनोमानी भाडा लिने गरेका छन्। नेपाल आयल निगमले कात्तिक १४ गते इन्धनको मूल्य घटाउँदा पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको छ। यो हिसाबले विगतमा २ सय रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको पेट्रोल १८९ रुपैयाँमा र १ सय ८३ रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको डिजेल १७९ रुपैयाँमा बिक्री हुनुपर्ने हो।

तर, कर्णालीमा इन्धनको मूल्यमा मनोमानी देखिन्छ। जुम्लामा रहेको एकमात्र आधिकारिक सुस्मा आयल स्टोरले मात्रै वास्तविक मूल्यमा इन्धन बिक्री गरेको पाइएको छ। पहिला २ सय रुपैयाँ प्रतिलिटर पर्ने पेट्रोल हाल १८९ रुपैयाँ र पहिले १८३ रुपैयाँ पर्ने डिजेल हाल १७९ रुपैयाँमा बिक्री गरेको सुस्मा आयल स्टोरका सञ्चालक महेन्द्र थापाले बताए।

उनले भने, ‘सुर्खेत नेपालगञ्ज चल्ने साना-ठुला गाडीले आफ्नोबाट तेल हाल्दैनन्। हामीले सरकारले तोके बमोजिमकै मूल्यमा बेच्छौँ। कात्तिक १४ गते मूल्य घटेपछि सोहीअनुसार बेचेका छौँ। फुटकर बिक्रेताले के कस्ताे गरिरहेका छन् थाह छैन।’

अन्जिला जनरल स्टोरका सञ्चालक रवि कठायतले पेट्रोल प्रतिलिटर १९५ रुपैयाँमा बेच्दै आएका छन्। फुटकर बेच्ने उनी धेरै लिनेलाई १९० रुपैयाँ गरेको र कम लिनेलाई १९५ रुपैयाँ प्रतिलिटर गरेको बताउँछन्। तर, ग्रामीण बजारमा अहिले पनि २ सय रुपैयाँसम्म लिने गरेको उनको दाबी छ।

कर्णाली राजमार्गमा पर्ने, मान्म, पिलि, नाग्म, रारा, त्रिवेणी, कुडारी, लिताकोट, तातोपानी, ऐरेनी, उमगाड र जुम्ला बजारका विभिन्न पसलमा पेट्रोल र डिजेल मनोमानी मूल्यमा बिक्री हुँदै आएको छ। प्रतिलिटर पेट्रोलका वास्तविक मूल्य १८९ रुपैयाँ र डिजेलको १७९ रुपैयाँ भएपनि फुटकर बिक्रेताहरुले थरी-थरीको मूल्यमा बेच्ने गरेको चालक पदम महताराले बताए।

उनकाअनुसार मुगुमा हाल पनि डिजेल प्रतिलिटर २ सय रुपैयाँमा बिक्री भइरहेको छ। भने, पेट्रोल प्रतिलिटर साढे २ सय रुपैयाँसम्म पर्ने गरेको छ। नियमित मुगु जुम्ला गाडी चलाउने पदम इन्धनको मूल्य नघटेको र बाटो निकै जोखिमयुक्त भएकोले पनि गाडीभाडा घटाउन मुस्किल हुने गरेको बताउँछन्। प्रशासनले अनुगमन नगर्दा गाडी व्यवसायी र यात्रु मर्कामा परेको उनको गुनासो छ।

तर, भाडादर नघट्दा यात्रु मर्कामा पर्ने गरेका छन्। जुम्ला–सुर्खेत २३२ किमी र जुम्ला नेपालगन्ज ३ सय २२ किलोमिटर दूरी छ। सरदर यो दूरीमा साना गाडीको बढिमा १५ सयदेखि २ हजार रुपैयाँ र बसको एक हजारदेखि १५ सय रुपैयाँसम्म हुनुपर्ने हाे। सडकको विकास भएपनि, इन्धनको मूल्य घटेपनि भाडादर नघटेर बढिरहेको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको पटक-पटकको छलफलले पनि सरदर माथिकै रेटमा भाडा कायम हुन सकेको छैन। अटो सञ्चालनले ठुला सवारीको कमाइ नहुनु, कर्णाली राजमार्ग राम्रो नहुनु, बसपार्क सञ्चालन नहुनुलगायतका कारण देखाउँदै कर्णालीमा गुड्ने लामो तथा छोटो दूरीका सवारीले भाडादर घटाएका छैनन्।

अहिले जिपमा जुम्ला–सुर्खेत २५ सय रुपैयाँ, जुम्ला–नेपालगन्ज २६ सय रुपैयाँ भाडा छ। यो मूल्य दसैँ-तिहार अघि र पछिको चापलाई मध्यनजर गर्दै अझै बढ्ने गर्छ। कर्णालीमा भाडा र इन्धनको मूल्य नघट्दा नागरिक सधैं दोहोरो मारमा पर्न बाध्य रहेको तातोपानीकी माया परियारले बताइन्।

‘इन्धनको मूल्यघटेकोले भाडा घटेकोहोला सोचेको थिएँ। सुर्खेत सम्म २४ सय तिर्नु पर्‍यो,’ उनले भनिन्, ‘बाटाे गतिलो छैन। यात्रा गर्दा साह्रै झर्को लाग्छ। प्रशासनले कहाँ अनुगमन गर्छ होला? सामान्य नागरिकलाई यात्रा गर्न सम्भव छैन्। हवाई जहाज पहुँचमा छैन्। भाडादरको महंगीले ढाड सेकिएको छ।’

जुम्लामा पटक-पटक छलफल चलाएपनि भाडादरमा एकरुपता आउन सकेको छैन्। यातायात व्यवसायी, इन्धन बेच्ने व्यापारी सबै नाफामुखी हुँदा मारमा नागरिक परेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

‘प्रशासनले सदरमुकामका बजारदेखि ग्रामीण बजारमा कडा अनुगमन गर्नुपर्ने हाे,’ उनले भने, ‘सयौँको संख्यामा रहेका फुटकर बिक्रेताले मनपरी इन्धनको मूल्य लिने र यातायात व्यवसायीले पनि भाडा नघटाउँदा नागरिकले सास्ती पाएका छन्।’

जुम्ला, सुर्खेत र नेपालगन्जमा संयुक्त टिकट काउन्टर सञ्चालन गरिएको छ। ती काउन्टरले एक रुपैयाँ पनि भाडामा घटाउँदैनन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले भाडादर निर्धारण गर्ने अधिकार प्रशासनलाई नभएको र प्रदेशले नै गर्नुपर्ने बताए। प्रदेश सरकारले नयाँ निर्णय नगरुन्जेल आफू आउनुभन्दा पहिला निर्धाण भएकै भाडा लागु हुनुपर्ने उनको भनाइ छ।

‘इन्धनको मूल्यमा एकरुपता नभएको विषयमा अनुगमन ग्रामीण बजार केन्द्रित गर्छौँ। भाडादर निर्धारणको अधिकार हामीलाई छैन,’ उनले भने, ‘यातायात व्यवसायीका आफ्नै माग छन्। सरकारले तोकेनुसार कार्यन्वयन गर्नुपर्ने त्यसो नभएको गुनासो बढ्दो छ। यस विषयमा छलफल गर्न जरुरी छ।’

कर्णाली राजमार्गको यात्रा अझै सहज बन्न सकेको छैन्। भाडादर महंगो त्यसैमाथि यात्रामा हुने सास्तीले नागरिक आजित छन्। सुर्खेत जुम्ला २३२ किमी दूरी रहेको कर्णाली राजमार्गको जुम्ला कार्यक्षेत्र पर्ने दैखोलादेखि जुम्लातर्फको १०४ किमीको विभिन्न खण्डमा स्तरवृद्धिका नाममा सास्ती छ भने दैलेख खण्डमा न स्तरवृद्धि हुन सकेको छ, नत राज्यकाे ध्यान नै पुगेको छ।

पादुका खोलाको खण्डमा हिउँदमा धुलो र बर्खाका हिलो हुँदा यात्रुले सास्ती पाउने गरेका छन्। जुम्ला खण्डभन्दा दैलेख खण्डमा यात्रुले बढी सास्ती पाइरहेको यात्री जीवन नेपालीले बताए।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्टले कर्णाली राजमार्गको स्तरवृद्धिमा सधैं बजेट अभाव हुनाले समस्या भएको बताए। उनले भने, ‘यद्यपि, यात्रालाई सहज र भरपर्दो बनाउन जुम्ला खण्डलाई डबल लेनको बनाउन थालिएको छ।’

प्रकाशित मिति: : 2023-11-24 18:00:00

प्रतिकृया दिनुहोस्