आगलागीका गम्भीर घाइतेको थप उपचारको माग गर्दै उर्लाबारीमा चक्काजाम

उर्लाबारी आगलागी घटनाका गम्भीर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम गरिएको छ।

गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति १०ः४५ बजेको समयमा उर्लाबारी वडा नं. ७ निवासी दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयबासीले गम्भीर घाइतेको थप उपचारमा सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रुपमा १० मिनेट चक्काजाम गरिएको उर्लाबारी वडा नं. ७ का सरोज बस्नेतले जानकारी दिए।

‘पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको मावा खोलामा १० मिनेट सवारी साधन अबरुद्ध गराएर सरकारको ध्यानाकर्षण गराउन खोजिएको हो’ उनले भने, ‘घाइतेमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ, उहाँहरुको अवस्था गम्भिर रहेको कुरा डाक्टरबाट आएको छ। त्यसैले थप उपचार होस्।’

कार्यक्रममा उर्लाबारीका सामाजिक व्यक्तित्व वीरबल थापा, बलबहादुर घिसिङ, घनश्याम भण्डारीलगायतले बोल्दै गम्भीर घाइतेको थप उपचारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका छन्। इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकालगायतमा ज्ञापन पत्रसमेत बुझाइएको उर्लाबारी– ७ का टिका सिम्खडाले जानकारी दिए।

आइसियुमा उपचाररत उर्लाबारी– ७ का शिवकुमार विक (राजिव), विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, कविराज दाहाल र राम नरेश मरिताको थप उपचारका व्यवस्था मिलाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ। अन्य घाइतेहरुको समेत अवस्था हेरी थप उपचारका लागि भारतलगायत विभिन्न मुलुकमा लैजाने ब्यवस्था मिलाउन आग्रह गरिएको छ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको ब्यवस्था मिलाइदिन पनि सबै पक्षसँग आग्रह गरिएको सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

प्रकाशित मिति: : 2023-11-23 16:58:00

प्रतिकृया दिनुहोस्