हामी नेपाली: काम कम, कुरा ज्यादा

मेरो एक छिमेकी छन्, मुश्तफा अमिन। अफ्रिकी राष्ट्र मोरक्कोबाट अमेरिका आएका उनको पेसा उबर (ट्याक्सी) चलाउनु हो।

उनको विचारमा हामी नेपाली आफ्नो हैसियतभन्दा निकै ठुलो-ठुलो कुरा गर्छौँ। जब काम गर्नुपर्ने समय आउँछ हरेकसँग एउटा-एउटा बहाना हुन्छ। र, त्यो कारण देखाएर कामबाट पन्छिने गर्छौँ। उनकाअनुसार पछिल्लो वर्ष सरकारले उबर चालकहरुलाई अनेक अनावश्यक नियमले बाँध्यो र त्यसको बिरोध स्वरुप अमेरिकाभरिका उबर चालकहरुले मुख्य-मुख्य स्थानहरुमा सरकार बिरोधी प्रदर्शन गरे।

मुश्तफा र उनका समूहले वासिङ्ग्टन डिसीस्थित अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस अगाडि बिरोध प्रदर्शन गर्‍याे तर त्यस्तै उबर चलाउने कुनै पनि नेपाली त्यो बिरोध प्रदर्शनमा सहभागी भएनन्। यद्यपि,  उनले व्यक्तिगत रुपमा परिचय भएका करिब २० जना नेपालीहरुलाई त्यहाँ बोलाएका थिए। जब उनीहरुको जायज माग सरकारले पूरा गर्‍याे, त्यसपछि बिरोध कार्यक्रममा सहभागी नहुनेहरुले यस्तो कुरा गरे कि ती सबै माग उनीहरुको कारणले मात्र पूरा भएको हो।

नर्थ क्यारोलिनामा एक मान्यवर छन्, अनेकौँ तिकडम गरेर अमेरिका आएका उनको काम सुँगुरको मासु काट्ने कम्पनीमा मजदुरी गर्नु हो। माइनस ५० डिग्रीको चिसोमा लगातार १० घण्टा काम गर्नु आफैँमा ठुलो बहादुरी हो। पंक्तिकार यस्तो कष्टदायक काम एक घण्टा पनि गर्न सक्दैन। चिसोमा वर्षौदेखि काम गरेर उनको हात यसरी कक्रिएको छ कि राम्रोसँग मुठ्ठी पार्न पनि अफ्ठ्यारो हुन्छ। अन्य सजिलो कामभन्दा बढी पैसा कमाउन सकिने भएर उनले त्यो काम गरेका हुन् भन्न कुनै आइतबार कुर्नु पर्दैन।

तर, उनी आफूलाई त्यो काम अति राम्रो लागेर गरेको हो भनेर झुटो बोल्छन र रुन्चे हाँसो हाँसेर आफ्नो दु:ख लुकाउने असफल प्रयास गर्छन्। कुन काम गर्ने वा नगर्ने तथा कसले कुन योग्यताले कस्तो काम पाउने भन्ने कुरा मान्छेपिच्छे फरक होला तर सजिलो काम छोडेर खोजी-खोजी शरीर नै नष्ट हुने काम रोजेर कसैले गर्लाजस्तो पंक्तिकारजस्तो बुद्धिहीनले विश्वास भने गर्न सक्दैन।

यस्तै न्यू हेम्पसायरमा अर्का मान्यवर छन्, जो आफूलाई अत्यन्तै बौद्धिक ठान्छन्। सम्पूर्ण अमेरिकालाई आफैँले बोकेको र अलिकति पनि काँध छोड्यो भने अमेरिका गर्ल्यामगुर्लुम ढल्छ कि भन्ने उनमा ठुलो भ्रम छ। सामाजिक सञ्जालमा अर्थ न बर्थका कविता पोस्ट गर्नु, राष्ट्रपति, उप-राष्ट्रपति, ५० वटै राज्यका गभर्नरहरुलाई जन्मदिनको शुभकामना पठाएपछि तयारी अवस्थामा रहने गरेको धन्यवादको पत्र प्राप्त गरे पछि त्यो पत्रको फोटो पोस्ट गर्नु उनको दिनचर्या हो भन्दा पनि हुन्छ।

व्यक्तिगत रुपमा आफू बसेको स्थानको सेलेक्ट म्यान (नेपालको न स स वा गा स स जस्तै)सँग पनि सायद परिचय नभएका उनको कुरामा कसले र किन विश्वास गर्ला त्यो पंक्तिकारले बुझ्न सकेको छैन। अझैं अचम्म के छ भने उनले पोस्ट गरेको स्थानमा गुड जब, असमजस्ता कमेन्टले भरिएको हुन्छ। त्यो कमेन्ट हेर्नेले वास्तवमै विश्वास गरेको होला कि उनको मान राख्न त्यसै लेखेको होला त्यो रहस्य पनि पंक्तिकारले आजसम्म बुझ्न सकेको छैन।

अब एकैछिन आफ्नै कुरा लिउँ, पंक्तिकार ‘एमजोन’ नामक जुन कम्पनीमा मजदुरी गर्छ, त्यस्तै केही नेपालीहरु पनि यस्तै मजदुरी गर्छन्। आफूले काम गरेर मात्र यो कम्पनी अमेरिकाकै धेरै कर तिर्ने कम्पनी भएको हो भन्ने प्राय: सबैमा ठुलो भ्रम छ। हामी नेपलीभन्दा शारीरिक शक्ति धेरै भएका स्पेनीमूलका ब्यक्तिहरुले गरेको आधा काम पनि हामी गर्न सक्दैनौँ तर यो कुरालाई स्वीकार गर्न कोही तयार हुँदैनन्। जसलाई भेट्यो भने पनि म बुद्ध र सगरमाथाको देशबाट आएको भनेर बेकारको कुरा गर्नु प्राय: सबैको बानी छ। अब तपाईं आफैँ सोच्नुस कि त्यो अशिक्षित मजदुरलाई बुद्ध र सगरमाथासँग के को मतलब होला?

अरुको व्यक्तिगत कुरामा चियोचर्चा गर्नु, हसियतभन्दा ठुलो कुरा गर्नु, सगरमाथा चढेको कुरा गर्नेले परेको समयमा झिङ्गा मार्न पनि नसक्नु, माग्दै नमाग्दा पनि सल्लाह दिनु, सफल मान्छेलाई चोर र महिलाहरुको चरित्रहत्या सजिलै गर्नु हामी नेपालीहरुको सामान्य विशेषता हो।

यी गुण वा दुर्गुण कसैमा धेरै र कसैमा कम हुन् सक्ला तर बढी नै भएकोले पनि त्यो आफ्नो कमजोरी स्वीकार गर्ने साहस गर्न भने सक्दैन। यस्ता महान विशेषताहरु नेपालीहरुमा मात्र हुन्छ कि अन्य देशका नागरिकहरुमा पनि हुन्छ त्यो भने अनुसन्धानकै विषय हो।

करिब तीन करोड नेपालीहरुमध्ये दामासाहीले प्राप्त हुने यस्तै घटियापनको पंक्तिकार जिम्मेवारी लिन तयार हुँदै यो आलेखमा प्रस्तुत भएका कमजोरीहरु केवल नेपाली नागरिकहरुको मात्र भएको र नेपाली भाषा बोल्ने अन्य देशका नागरिकहरुले यस विषयमा टाउको नदुखाउन पनि बिनम्र अनुरोध छ।

@twitter#naviinr

प्रकाशित मिति: : 2023-11-17 07:38:00

प्रतिकृया दिनुहोस्