सेनाभित्र प्रभुराम शर्माको रोजाइ: दुई नागरिकताधारी सिग्देल कि ‘बिहारी’ प्रमाणपत्रधारी थापा? 

चारैतिर चासो छ– ‘कस्तो सेना बनाउने, कसको सेना बनाउने अनि कत्रो सेना बनाउने’! तर जंगीअड्डाभित्र ‘बहुनागरिकता, बहुजन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र’को कागजात बोकेर हिँड्ने सैनिक अधिकारीहरूको ‘लाजमर्दो’ लर्को छ।

एउटा गर्विलो इतिहास भएको नेपाली सेनाजस्तो शक्तिशाली संस्थाको नेतृत्व तहमा पुगेका वा पुग्नैलाग्दा घर फर्किएका सबैजसो सैनिक अधिकारीहरू ‘नागरिकता र शैक्षिक प्रमाणपत्र’को कीर्ते प्रकरणमा तानिएका छन्।

नेपाली सेनाका उच्च अधिकारीहरू नै ‘नक्कली नागरिकता’ बोक्छन् भन्ने चर्चा हिजोआज सतहमा आएको विषय होइन, यो त वर्षौ‌‌‌ अघिदेखि चिया–चौतारीमा चर्चिएको जंगीअड्डाको रबैया हो।

प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो ‘उत्तराधिकारीको रोलक्रम’मा राखेर बढुवा सिफारिस गरेका वरिष्ठ उपरथी ‘कीर्तेध्वज’ अर्थात् ताराध्वज पाण्डेको ‘मुखैमा आएको महारथी’ खोसियो। कारण– उनी फरकफरक समयमा जन्मिएका विवादित पात्र हुन्। अर्थात्, सेनाको नेतृत्व हत्याउन लागिपरेका पाण्डेको नागरिकतामा ‘कैफियत’ छ।

नेपाली सेनाले ‘बहुजन्ममिति प्रकरण’मा छानबिन थालेपछि उनले शुक्रबार एकाबिहानै राजीनामा–पत्र बुझाए। राजीनामा प्रकरणअघि बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा सेनाले तीन सदस्य छानबिन समिति बनाएको थियो। त्याे समिति अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे चेतावनी र रक्षा मन्त्रालयकाे बेवास्तापछि गठन गरिएको सैनिक अधिकारी बताउँछन्।

प्रधानसेनापति शर्माकाे निर्णयलाई चुनाैती दिँदै बलाधिकृत रथी खड्काले उपरथी पाण्डेलाई बहुजन्ममिति प्रकरणबाट जाेगाउन नसकिने र उनलाई खुरुखुरु पदबाट राजीनामा दिएर घर जान सुझाएका थिए। छानबिनको प्रक्रिया चल्दैगर्दा ‘कोट मार्सल’ छल्न र प्रधानसेनापतिकाे कुनै दाउ नचल्ने अवस्था देखेपछि पाण्डेले उपरथीबाट राजीनामा दिएका हुन्।

बलाध्यक्ष रथी सरोजप्रताप राणा यतिबेला अवकाशअघिको बिदामा छन्। ‘राणाको रिक्त स्थान ओगट्न’ र भावी प्रधानसनापतिकाे रुपमा अघि सार्न खोजिएका उपरथी पाण्डे ५७ वर्षे उमेर हदका कारण मंसिर २२ मै निवृत भइसक्नुपर्थ्यो। तर प्रधानसेनापति शर्मा दाइने हुँदा उनी रथी बढुवामा सिफारिस भए। उनै उपरथी पाण्डे अन्ततः प्रधानसेनापतिकाे बलबाट फुत्केर ‘बहुजन्ममिति प्रकरण’मा मुछिए। र, उनी ‘कोट मार्सल’ खेप्नुअघि नै राजीनामा दिएर घर हिँडे।

‘पाण्डे प्रकरण’ले प्रधानसेनापति प्रभुराम शर्मामाथि नैतिक प्रश्न उठेको छ। उनले नेपाली सेनाभित्र विवादित अधिकारीहरूलाई मात्रै बाेक्छन् अनि इमानदार र सक्षम अधिकारीलाई छानीछानी डन्डा चलाउने भन्ने तथ्य एकपटक फेरि उजागर भएको छ।

प्रधानसेनापति शर्माले व्यक्तिगत स्वार्थपूर्तिका लागि नेपाली सेनाभित्र सिंहदरबारकाे घिनलाग्दाे राजनीति छिराउँछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संरक्षणमा जंगीअड्डा हाँकिरहेका शर्माले उपरथी पाण्डेलाई आँखा चिम्लेर आफ्नो उत्तराधिकारीको रोलक्रममा राख्नुलाई नै ‘गम्भीर त्रुटी’ ठान्छन्, पूर्वसैनिक अधिकारीहरू।

‘महारथी प्रभुराम शर्माले नेपाली सेनाको साख खस्काउँदैछन्। उनी दिनदिनै राजनैतिक लोभमा फसिरहेका छन्। यो राम्रो संकेत होइन, हिजोआज नेपाली सेनाको गर्वलाग्दो साख गिरिसकेको छ। हेर्दैजानोस्, प्रभुराम शर्माले तमासा देखाउनै बाँकी छ’, एक पूर्वरथीले भने, ‘यामबहादुर अधिकारीलाई किन र कसले बाेकिरहेकाे छ? यसकाे तथ्य आउनै बाँकी छ। अर्काे कुरा काे व्यक्तिले अस्ट्रेलियाकाे राजदूत ताकिरहेकाे छ? प्रधानसेनापति र प्रधानमन्त्रीकाे हिमचिम डरलाग्दो छ। हेर्नाेस्, वास्तविकता आउनै बाँकी छ। प्रेम शाहीलाई जंगीअड्डाबाट लखेट्नुको कारण खुल्दैछ।’

प्रभुराम शर्मा सेनाभित्र व्यक्तिका रुपमा निकै रोचक पात्र हुन्, उनले उपरथी पाण्डेको ‘जन्ममिति कीर्ते’ प्रकरणको छानबिन गर्ने समितिमा उल्टै तीनवटा नागरिकता भएका प्राड विवाकका प्रमुख रत्नप्रकाश थापालाई रोजे।

शर्माले समितिमा मात्रै सुम्पिएनन्, तीनथरि जन्ममिति भएका प्राड विवाकका प्रमुख थापालाई प्रधानसेनापति शर्माले आफ्नो कानुनी सल्लाहकार पनि बनाएका छन्। जग्गा दलाली गर्न माहिर उनलाई काखी च्यापेर जंगीअड्डामै राखेका छन्।

‘प्रधानसेनापतिको कृपा पाउँदा कानुनी मामिला हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापा जोगिरहेका छन्। उनका तीनवटा नागरिकता छन्, बाँकी प्रेम शाहीहरू करियर सिध्याउँदै रित्तो हात घर फर्किन्छन्,’ प्रधानसेपतिसँग लामो समय काम गरेका एक सहायक रथीले भने।

नेपाली सेना नराम्रो लतमा फसेको छ। जन्ममिति, सेवा प्रवेश र शैक्षिक योग्यताका कागजात कीर्ते गर्ने प्रवृत्ति व्यापक छ। प्रधानसेनापतिको शर्माको अत्याचार र मनपरी यतिमै रोकिएको छैन। उनले पाण्डे घर गएपछि प्रधानसेनापतिको रोलक्रममा ल्याउन खोजेका वरिष्ठ उपरथी अशोक सिग्देल पनि गतिला पात्र होइनन्। उनी आफैँ पनि बहुजन्ममिति काण्डबाट उम्किएका सैनिक अधिकारी हुन्।

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले बहुनागरिकता, बहुजन्ममिति र शैक्षिक प्रमाणपत्र नक्कली भएका अधिकारीहरूकाे छानबिनका लागि शर्माको नेतृत्वमा समिति बनाएका थिए। उनै प्रधानसेनापति शर्माले सेनाको नेतृत्वमा पुग्न कीर्ते काम अंगालेका पाण्डे र सिग्देललाई जाेगाएका हुन्। सेनामा बेथितिकाे जग बसाल्न शर्माको पनि पछिल्लो समय महत्वपूर्ण भूमिका मानिन्छ।

प्रधानसेनापति शर्माका खास व्यक्ति तथा वरिष्ठताक्रमका उपरथी अशोक सिग्देल पनि नागरिकता प्रकरणमा मुछिएका छन्। सैनिक नेतृत्वले पत्ताे पाउँदापाउँदा फेरि अर्का विवादित र बहुजन्ममितिधारी सिग्देललाई बढुवाका लागि सिफारिस गर्ने मनसाय बनाएको छ।

सिग्देल मात्रै हाेइन, विभिन्न तह र समयमा प्रभुराम शर्माले जाेगाउँदै, पुरस्कृत गर्दैआएका त्यसपछिका निर्मलकुमार थापा शैक्षिक प्रमाणपत्र नक्कली प्रकरणमा मुछिएका छन्। विवादास्पद ‘बिहारी’ शैक्षिक प्रमाणपत्रधारी उपरथी थापा प्रधानसेनापति शर्माकाे आडमा जंगीअड्डामा दिउँसै जाँडरक्सी खाएर सैनिक अधिकारीहरूलाई थर्काउँदै हिँडिरहेका हुन्छन्।

‘प्रधानसेनापतिले अब कस्ता–कस्ता उपरथीहरूलाई रथीमा बढुवाका लागि सिफारिस गर्छन् भन्ने कुरा चाहिँ हेर्नुपर्छ। उनीनिकट सबै उपरथीहरू कीर्ते र भ्रष्ट नै छन्। उनी पनि गतिला मान्छे हाेइनन्, अरुभन्दा काबिल जर्नेल थिए प्रेम शाही। उनलाई इगाे साँधे। अब कुन चाहिँ भ्रष्ट राेज्छन् हेराैँ,’ जंगीअड्डामा कार्यरत एक सहायक रथीले भने।

प्रकाशित मिति: : 2023-11-11 20:24:00

प्रतिकृया दिनुहोस्