रुकुम–पश्चिम आठबिसकोटकी हीरा विक माइतीमा नगएको धेरै भएको थियो। दाइहरु भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन्।
यही कात्तिक १७ गते उनी घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा गइन। धेरैपछि आएकी बहिनीलाई माइतीमा मिठोमसिनो खुवाउनुपर्छ भनेर उनको दाइले मासु किनेर ल्याए। अनि सबैजना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थिए। अनि हीराको दाइले रात धेरै गइसक्यो बहिनी अब सुत्नुपर्छ भनेपछि सबैजना आफ्नो आफ्नो कोठामा गए।
उनीहरु सबैजना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो। ‘म माइतीमा पाहुँना आएको थिएँ,’ हिराले भनिन्, ‘धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो। सबैजना सुखदुःखका कुरा गरेर बसिरहेका थियौँ। दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौँ। कोठामा भर्खर सुतेका थियौँ, घर हल्लिन थाल्यो एकैछिमा सबै घर तल खस्यो।’
भाग्यले आफ्नो ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको उनी बताउँछिन्। ‘हामी सबै घरभित्र पुरियौँ,’ उनी भन्छिन्, ‘गाउँका बाँचेका दाइभाइ आएर आधा घण्टापछि हामीलाई निकाल्नुभयो।’
दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाइन। तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ। ‘कानले सबै कुरा सुनेको थिएँ। भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन होला।’
माइतीमा मात्रै होइन, आफ्नो घरमासमेत त्यस्तै पीडा रहेको उनी बताउँछिन्। उनको घरसमेत पूर्णरुपमा क्षति भएको छ। ‘हामीले भोग्नसम्म पीडा भोगिरहेका छौँ। माइतीमा यति ठूलो समस्या भयो, घर केही रहेनन्। आफ्नो घरपनि सबै गइसक्यो। सबैतिर समस्या नै समस्या छ।’
सरकारले अहिले राहत त दिइरहेको छ। तर पुनःस्थापनाको काम छिटो गरिदिन उनको सरकारसँग माग छ। अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन्। यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ। तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ।
–रासस