स्वास्थ्य संवेदनशीलता र सचेतना कम भएका क्षेत्रमा औषधि सेवनकाे निश्चित मापदण्ड छैन। सुविधा सम्पन्न अस्पताल र डाक्टरको उपलब्धता नहुँदा अनुमानकाे भरमा औषधि सेवन गर्नेको संख्या उल्लेख्य छ।
यसरी मनमौजी सेवन गरिने औषधिमा सबै राेगका विरुद्ध प्रयोग हुने एन्टिबायोटिक पनि पर्छ। खतरनाक राेगसमेत निकाे गर्न सक्ने क्षमता भएकाे एन्टिबायोटिक प्रयोगकाे मापदण्ड छ। तर जथाभावी सेवन गरिँदा विश्वव्यापी रुपमा समस्या उत्पन्न हुँदैछ।
जसलाई विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकको जथाभावी प्रयाेगले निम्तिन सक्ने सूक्ष्म महामारी भनेकाे छ भने विश्वका प्रमुख १० स्वास्थ्य समस्याको रुपमा लिएको छ। कारण एन्टिबायोटिकको जथाभावी प्रयोगले भाइरसको प्रतिराेधी क्षमता विकास हुन्छ। विस्तारै औषधि निष्प्रभावी बन्दै जान्छ। यसलाई एन्टिमाइक्राेबियल रेसिस्टन्स (एएमआर) भनिन्छ। जसका कारण भविष्यमा सामान्य रुघाखोकीले समेत मान्छेहरुको ज्यान जान सक्ने खतरा औँल्याइएको छ।
आम नागरिकमाझ सचेतना फैलाउन सहयाेगीको भूमिका खेल्न सक्ने उदेश्यले कर्णाली प्रदेशका तीन जिल्लाका सञ्चारकर्मीहरूलाई एन्टिमाइक्राेबियल रेसिस्टेन्सबारे जनचेतनामूलक तालिम प्रदान गरिएकाे छ।
जुम्लास्थित हाेटल काञ्जिराेवामा जुम्ला, मुगु र कालिकोटका सञ्चारकर्मीहरूलाई एन्टिमाइक्राेबियल रेसिस्टेन्सबारे जनचेतनामूलक तालिम प्रदान गरिएकाे हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडीको संयुक्त आयोजनामा एन्टिबायोटिक औषधिकाे अनुचित प्रयाेगका कारण विश्वले भाेगिरहेकाे समस्याका विषयमा सञ्चारकर्मीहरूलाई प्रशिक्षण गरिएकाे हाे।
युएसएआइडीसँगकाे सहकार्यमा मन्त्रालयले एन्टिबायोटिक औषधि प्रयाेग गर्दा हुने असर, विश्वव्यापी अवस्था, नेपालकाे अवस्था र प्रयाेग गर्दा ध्यान दिनुपर्नेलगायतका विषयमा छलफल चलाइएको हाे।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले जुम्लामा अध्यधिक रूपमा एन्टिबायोटिकहरूकाे प्रयाेग भइरहेकाे बताए। उनले भने, 'डाक्टरहरूकाे सल्लाह विना एन्टिबायोटिक प्रयाेग गर्ने क्रम बढ्दाे छ। यसलाई यथाशीघ्र रोक्न आवश्यक छ।'
चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ याेगीले जिल्लामा अनधिकृत रूपमा बिक्रीवितरण भइरहेकाे बताए।
'एन्टिबायोटिककाे सही प्रयाेगका विषयमा अब नगरले सचेतनामूलक कार्यक्रम गर्न जरुरी छ,' उनले भने, 'धेरैकाे अकालमा ज्यानै जाने अवस्था छ। यसलाई राेक्नुपर्छ।'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा. पुजन राेकायाले आवश्यक परेकाे बेला डाक्टरकाे प्रेस्किप्सनअनुसार मात्रै एन्टिबायोटिक प्रयाेग गर्नुपर्ने बताए।
'एन्टिबायोटिक डाक्टरले भनेअनुसार मात्रै प्रयोग गर्नुपर्छ। अन्यथा भविष्यमा ठूलो जाेखिमको शिकार हुने सम्भावना रहन्छ,' उनले भने।
नेपाल सरकारसँग मिलेर युएसएआइडीले देशले भाेगिरहेको स्वास्थ्य समस्या र भविष्यमा अझ ठूलो जाेखिम निम्तिन नदिन अहिले नै पूर्वतयारी गर्न थालिएको युएसएआइडीकी प्राेजेक्ट डाइरेक्टर डा. विर्ना ट्याबले बताइन्।
'हामी घाँटी खसखस गर्ने बित्तिकै मेडिकलमा गएर एन्टिबायोटिक खरिद गर्छौं,' उनले भनिन्, 'यो खराब बानी हाे। डाक्टरको सल्लाह विना कुनैपनि औषधि प्रयोग गर्न हुँदैन। यस्ता विषयमा सञ्चारकर्मीले कलम चलाइदिन पर्यो।'
कार्यशालामा डाक्टर सन्ताेष दुलालले घातक स्वास्थ्य समस्याविरूद्ध लडाइँ, नेपालमा एएमआर, विश्व र र नेपालकाे अवस्था र लैंगिक असमानताकाे प्रभाव एएमआरमा विषयमा डा. विविका श्रेष्ठले प्रशिक्षण दिइन्। एन्टिमाइक्राेबियल रेसिस्टेन्सका कारण सन् २०५० सम्म एसियामा ४७ लाख ३० हजार मानिस मर्ने अनुमान छ।
सन् २०३० सम्म थप २ कराेड ४० लाख मानिस चरम गरिबीमा पर्ने र विश्व अथर्थतन्त्रमा १०० खर्ब अमेरिकी डलरकाे भार पर्ने अनुमान गरिएकाे हुनाले यो विश्व स्वास्थ्य संगठनले परिभाषित गरेकाे सूक्ष्म महामारी हाे।