शुक्रबार मध्यराति भूकम्प आउँदा म दाङको घोराहीस्थित आफ्नै डेरामा थिएँ। भुकम्पको झट्काले मलाई पनि ब्यूँझायो। भुकम्पको धक्का ठूलै थियो सायद। ब्यूँझेपछि झन् डर लाग्यो।
मनमनै लागिरहेको थियो, कतै न कतै यो भूकम्पले केही त गर्छ, अर्थात् केही न केही क्षति पक्कै गर्छ।
केहीबेरपछि भूकम्पका धक्का अनि खबरहरूले सामाजिक सञ्जाल भरिन थाल्यो। निद्रा लाग्ने कुरै थिएन, त्यसपछि मोबाइल हेर्दै जाँदा जाजरकोट र रुकुमतिरका खबरहरू आउन थाले। ती अपुष्ट खबर थिए तर केही न केही त पक्कै भएको छ भन्ने लाग्यो।
त्यहाँका तस्विरहरू, केही दृश्यहरू पनि आउन थाले।
मैले पनि घरतिर फोन गरेँ, धन्न पूर्वी रुकुमतिर केही भएको रहेनछ। ती खबरहरू पश्चिम रुकुम र भेरीपारिका जाजरकोटतिरका थिए।
मिर्मिरे बिहानी हुँदै गर्दा मैले सुर्खेततिरका साथी पूर्णमान विश्वकर्मालाई फोन गरेँ। उनले भूकम्पका कारण सबथोक तहसनहस भएको खबर सुनाउन थाले। अनि म पनि तत्कालै भूकम्पको इपिसेन्टरतिर लागेँ।
दाङका अरू साथीहरू श्री चौधरी, भुवन थापा, महेश आरोही र दिल मगर पनि सँगै जाने योजना भयो।
क्षणका क्षण सामाजिक सञ्जालमा आउने खबरहरूले झन् मन अत्तालिइरहेको थियो। हामी जतिसक्यो चाँडै जाजरकोटको यात्रा सुरु गर्न आतुर थियौँ।
यो कर्ममा लाग्दै गर्दा मैले यस्ता भयावहका धेरै कथाहरू सुनेको छु, देखेको छु, अरूलाई देखाएको छु। बोलेको छु र लेखेको छु।
जुन मेरो पत्रकारिता कर्मका सबैभन्दा नमीठा पलहरू बनेका छन्। तर पनि सूचना कर्मको यो यात्रामा यी भावनाहरू रोक्नुको विकल्प छैन।
शनिबार बिहान उज्यालोसँगै हामी घोराहीबाट तुलसीपुर–हापुरे हुँदै सुर्खेत–जाजरकोटको यात्रा सुरु गर्यौँ।
सामाजिक सञ्जाल अनि सम्भावित दृश्यहरूले म भित्रभित्रै भयभित भइरहेको थिएँ तर पनि मैले क्यामेरामा ती दृश्यहरूलाई कैद गर्नैपर्थ्यो।
कर्णालीको विभत्स कथालाई मानसपटलमा कैद गर्दै आफ्नो क्यामेरा पनि हेरिरहेँ। यात्राभरि मनमा त्यस्तै त्यस्तै दृश्यहरू भयावह तरिकाले नाचिरहेका थिए।
दिन ढल्किँदै गर्दा हामी जाजरकोटको सदरमुकाम खलंगा पुगिसकेका थियौँ।
खलंगा बजार मान्छेको भीडले भरिएको थियो। सबै रातिदेखि नै घरबाहिरै थिए, त्यसमाथि घाइते र मृत्यु भएकाहरूलाई त्यहाँ ल्याउने क्रम चलिरहेको थियो।
मृतक र घाइतेका आफन्तहरूको चित्कार, रोदनले मन भारी भएर आयो। त्यो कारुणिक क्षणलाई क्यामेरामा कैद गर्ने हिम्मतै आएन। बस् त्यो कारुणिक दृष्यलाई हेरेर बसिरहेँ।
इपिसेन्टरदेखि केही मुनितिर हामीले सामना गरेको त्यो एउटा कारुणिक अनि विभत्स दृश्य थियो।
कसरी ती दृश्यहरू क्यामेरामा कैद गरौँ? मन त्यसै त्यसै भारी भइरह्यो। तै पनि कर्म थियो, गर्नु त पर्थ्यो नै।
जाजरकोटको खलंगामा हामी अझ विक्षिप्त बनेको थाप्ले भन्ने ठाउँतिर अघि बढ्यौँ। यो स्थानमा धेरै जनधनको क्षति भएको भन्ने खबरहरू सदरमुकामतिरै आइरहेका थिए।
हामी त्यहाँबाट फर्किसकेका छौँ। तर थाप्लेका ती दृश्यहरूले अहिले पनि झस्काइरहन्छन्।
भूकम्पपछि त्यो बस्ती डोजर लगाएर सम्याएको जस्तै भएको छ। गाउँभरि लगभग सग्ला घरहरू छैनन्।
रित्तो ठडिएका केही घरहरूबाहेक गाउँ त पूरै डोजर लगाएर सम्याएको जस्तो भएको छ। भूकम्पले ध्वस्त बनाएको यो गाउँका मानिसका ती कारुणिक चित्कार अहिले पनि कानमा उसैगरी गुञ्जिएजस्तो लाग्छ।
धेरै मान्छेले ज्यान गुमाएको त्यो थलोमा थोरै मान्छे थिए। भेटिएकाहरू पनि उत्तिकै कारुणिक लाग्थे। कसैलाई केही सोध्ने हिम्मत आएन। केहीबेर हामीले त्यहाँको दृश्य क्यामेरामा कैद गर्यौँ।
लाग्थ्यो म आफैँ यही भूकम्पले थिचिएको छु। मेरा सारा आफन्तहरू थिचिएका छन्।
एकजनाले ‘तपाईंहरू पत्रकार हो?’ भनेर सोधेपछि मात्रै बल्ल याद भयो, म समाचार लेख्नै त्यहाँ पुगेको थिएँ।
उनले शुक्रबार मध्यरातिको भयानक कथा हामीलाई सुनाए।
साँझ छिप्पिँदै थियो। हामी फेरि सदरमुकाम फर्कियौँ।
आइतबार हामी नलगाड नगरपालिकाको वडा–१ तिर लाग्यौँ। यो त्यही नगरपालिका हो, जसले उपमेयर पनि गुमाएको छ। अनि वडा–१ ले मात्रै आफ्ना २५ जना नागरिक गुमाएको छ। भूकम्पले नलगाडभरि मात्रै कम्तीमा ५६ जना मानिसको ज्यान लगेको छ।
गाउँभरि पूरै सन्नाटा थियो। सारा घरहरू चर्केका छन्, धेरै ढलेका छन्। मानिसहरू खुल्ला आकाशमुनि ढलिरहेका छन्।
चाउचाउको भरमा रात काटेका सुत्केरी र गर्भवती महिलाहरू खानेकुराको पर्खाइमा थिए।
सडक जोडिएका गाउँबस्तीमा केही राहत पुगे पनि भित्रका यी र यस्ता गाउँमा अझै राहत पुग्न सकेको छैन।
एउटै घरका ६ जनासम्मको मृत्यु भएको थियो। घरभरिका ३ जनामात्रै बाँचेका रहेछन्। गाउँलेहरूले सुनाएका थिए, काम गर्नका लागि मलेसिया गएका घरमूलि फर्किंदै थिए।
मन भक्कानिएर आयो– यो दृश्यले उनलाई कस्तो होला?
नलगाडबाट जाजरकोटका भूकम्पले सम्याएका थुप्रै बस्ती अनि भूकम्पले निलेका आफन्तहरूको कथा र घरबारविहीन भएकाहरूको कथा बटुल्यौँ।
भूकम्पले निम्त्याएको विपत्तिका कारण कैयन नागरिकहरुले भोकै बस्नु परिरहेको पीडा सुनाएका छन्। मनभरि पीडा लुकाएर बढिरहेको चिसो छल्ने प्रयास गरिरहेका छन्।
जाजरकोटको दर्दनाक र विभत्स दृश्यहरू हेर्दै हामी पल्लोतिरको रुकुम गयौँ।
खोला किनारामा लहरै जलिरहेका चिताको धुँवा आफ्नै छातीभित्र पुत्ताएजस्तै लाग्यो। मलामी पुगेका आफन्तको चित्कार अनि रोदनले मुटु अझै चस्किरहेको छ।
भेरी आफ्नै सुरुमा सुसाइरहेको थियो। किनारामा जलिरहेका लाशसँगै आफन्तका आँशु मिसाएर बगिरहेको यो भेरी कहाँ पुग्ला?
भेरीको पारितिर पुग्दा मैले फेरि आफूलाई सम्हाल्नु छ। भूकम्पले चिरिएको यो जमिन अनि मान्छेका कथा फेरि पनि लेख्नु छ। सुनाउनु छ अनि देखाउनु छ।
चिरिएको पश्चिम रुकुममा छु यतिबेला, फेरि यस्ता कथाहरू देख्न र लेख्न नपरोस् भन्ने कामना गर्दै।