साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी बिक्रीका लागि दिने

File Photo
File Photo

तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले चिनी आयातलाई सहज बनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई पनि १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको हो।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङमार्फत खरिदको प्रबन्ध गरेको थियो। यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले काठमाडौँका विभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौँ बोरा चिनी बरामद समेत गरेको थियो।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आउटलेट, खुद्रा बिक्रेता सङ्घअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीलेसमेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने व्यवस्था मिलाइएको छ।

अब उपभोक्ताले चिनी प्रतिकिलो रु एक सय १५ मा किन्न पाउनेछन्। व्यापारीले तोकिएको मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ। खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन्।

चिनीको सङ्कट अन्त्य गर्र्दै सहजरुपमा चिनी उपलब्ध गराउन दसैँलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो।

यसअन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैध चिनी बरामद गर्न विशेष अपरेसन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने, भारतबाट चिनी आयातका लागिसमेत पहल गर्ने निर्णय भएको थियो।

नेपाली चिनी उद्योगको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगले भने उपभोक्ताका लागिभन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि सङ्कट उत्पन्न भएको थियो। सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: : 2023-11-06 15:26:00

प्रतिकृया दिनुहोस्