टी–२० विश्वकपको अन्तिम ढोकामा नेपाल

CAN
CAN

आइसीसी टी–२० विश्वकप (एसिया) छनोटका लागि आठ देश प्रतिष्पर्धा गर्दैछन्। भोलि सोमबारदेखि नेपालसहित एसिका आठ देश (नेपाल, सिंगापुर, ओमान, मलेसिया, यूएई, बहराइन, हङकङ र कुवेत) प्रतिष्पर्धा गर्न लागेका हुन्।

छनोट खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र मूलपानी माथिल्लो क्रिकेट मैदानमा हुँदैछ। यो छनोट खेलपछि एसियाबाट दुई देश आइसीसी टी–२० विश्वकप खेल्न पुग्नेछन्। 

आइसीसी टी–२० विश्वकप सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुनेछ। 

विश्वकप छनोटका लागि सोमबार आयोजक राष्ट्र नेपाले सिंगापुरसँग खेल्दैछ। छनोट खेलको समूह ‘ए’मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

टी–२० विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ क्यानले १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

विश्वकप छनोट अन्तर्गत यसअघि त्रिदेशीय सिरिजको आयोजना भएको थियो। जसमा नेपाल, यूएई र हङ्कङबीच प्रतिस्पर्धा भएको थियो। क्यानले विश्वकप छनोटको तयारी स्वरुप उक्त सिरिजको आयोजना गरेको हो। घरेलु टोली नेपालले उक्त सिरिजमा राम्रो प्रदर्शन गरे पनि फाइनलमा यूएईसँग पराजित भयो। 

त्यस्तै, नेपाली टोलीले टी–२० छनोटको लागि भारतको नागपुरमा १० दिनको विशेष प्रशिक्षण गरेको थियो। सोही प्रशिक्षणपछि नै नेपालले त्रिदेशीय सिरिज खेलेको हो। नेपालले एसियाली खेलकुदमा पनि राम्रो प्रदर्शन गरेको थियो। 

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले त्रिदेशीय सिररिजको फाइनलमा पराजित भएर पनि एउटा पाठ सिक्न मौका पाएको बताए। 

उनले भने, ‘त्रिदेशीय खेलको फाइनलमा यूएईसँग पराजित हुँदा एउटा पाठ सिक्ने मौका पायौँ, अहिले त्यो हारलाई भुलेर टी–२०लाई फोकस गरिरहेका छौँ।’ 

लिग टु को शीर्ष तीनमा रहेर नेपाल ग्लोबल क्वालिफायरमा छनोट भएको थियो। त्यसपछि नेपाली टोलीले एसीसी प्रिमियर कपमा भारत र पाकिस्तानसँग खेलेदेखि एसियाली खेलकुदमा रेकर्ड बनाउँदै आफ्नो उचाइ बढायो।

नेपाली टोलीको ब्याटिङ राम्रो भइरहेको भन्दै कप्तान रोहित कुमार पौडेलले यो नेपालका लागि बलियो पक्ष भएको बताए।

‘विगत ६–७ महिनादेखि हामीले ब्याटिङ एकदमै राम्रो गरिरहेका छौं। त्रिदेशीय सिररिजको पनि फाइनल खेल छोडेर हामीले अरु खेलमा राम्रो प्रदर्शन गरेका थियौँ,’ रोहित भन्छन् ‘यूएईविरुद्धको पहिलो १० ओभर हामीले राम्रो गर्‍यौं त्यसपछिको १० ओभरचाहिँ सोचेको जस्तो भएन।’

विश्वकप एसिया छनोटमा नेपालसहित एसियाली मुलुका ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। यी ८ राष्ट्रमा नेपाल सबैभन्दा शीर्ष स्थानमा छ। 

विश्वकप छनोटमा कुनै पनि राष्ट्रलाई सहज रुपमा नभएर बलिया प्रतिष्पर्धीका रुपमा आफूहरूले विश्लेषण गरेको प्रशिक्षक देसाइले बताए। 

उनले भने, ‘हामीले विपक्षी टोलीलाई सहज रुपमा लिएको छनौँ, तर अहिलेको अवस्थामा नेपाली टोली लयमा रहेको छ।’ 

यसअघि सन् २०१४ मा नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको थियो। त्यसयता नेपाल विश्वकप छनोटमा पुग्न सकेको छैन्। टी–२० विश्वकप छनोटको खेल्नको लागि टोली निकै उत्साहlत रहेको कप्तान रोहितले बताउँछन्। 

‘२०१४ मा नेपालले विश्वकप छनोटको लागि खेलिरहँदा टोलीमा रहेका हामी धेरै जनाले भर्खर क्रिकेट खेल्न सुरु गरेका थियौँ, त्यो बेला नेपालले खेलेको क्रिकेट हामीले महसुस गर्न सक्छौँ,’  रोहित भन्छन्      ‘त्यही उत्साह लिएर हामी यसपटक विश्वकप छनोट खेल्न लागिरहेका छौँ।’  

भारत र पाकिस्तानसँग सन्तोजनक प्रदर्शन गरेपछि यसपटक हालको टोलीले नेपाललाई दोस्रो पटक टी–२० विश्वकपमा लैजाने आशा नेपाली क्रिकेटप्रेमीमा छ। कप्तान रोहितले टोलीको लक्ष्य क्वालिफाई हुने बताए। उनले भने ‘घरेलु मैदानमा खेल भइरहँदा समर्थको साथले हामीमाथि झन् आत्माविश्वास आउँछ। हाम्रो टोलीको लक्ष्य भनेको नै टी–२० विश्वकपमा क्वालिफाई हुने हो।’ 

यसअघि भएको विश्वकप लिग–२ मा नेपाली टोली १२ मध्ये ११ खेल जितेर नेपाली क्रिकेटमा एउटा इतिहास नै रचेको थियो। 
क्यानले गरेको १५ सदस्यीय टोलीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिएका छन्। सन्दीप यसअघि भएको त्रिदेशीय सिरिजको खेल खेलेका थिएनन्।

प्रकाशित मिति: : 2023-10-29 19:04:00

प्रतिकृया दिनुहोस्