छ कक्षामा पढ्दै गरेका उनी एक्कासी बिरामी परे। ज्वरो सामान्य थियो। समयमै ध्यान नपुग्दा ज्वरो बिग्रेर टायफायड बनेर।
आफन्तले उनको उपचारका लागि नधाएका अस्पतालहरू सायदै होलान्। तर, उपचार भेटिएन। उनको सुन्ने (श्रवण) शक्ति गुम्यो।
कुलप्रसाद भट्टराई सुन्न सक्दैनन्। तर, उनी अहिले विद्यार्थी पढाइरहेछन्, अरुलेजस्तै। १४ वर्षदेखि उनी शिक्षक भएर केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा पढाउँछन्।
स्याङ्जा चापाकोट नगरपालिका– ७ का कुलप्रसादलाई बाल्यकालमा कुनै कुराको कमी भएन। गाउँका साथी-भाइसँगै स्कुल जान्थे अनि दाजु-भाइ र बहिनीहरुका साथमा मिलेर बुबा-आमालाई घरमा सघाउँथे। सबैकुरा राम्रै थियो। तर, जब उनी छ कक्षामा पढ्दै थिए। उनी एक्कासी बिरामी परे। ज्वरो सामान्य थियो। तर, कुलको अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। बुबा-आमाले कयौँ अस्पताल धाए, धेरै धन सम्पती खर्चिए तर उनी निको हुनुको सट्टा झन् थलिँदै गए। उनले कान सुन्न छाडे। उनको श्रवण शक्ति सदाका लागि गुम्यो।
‘सुरुमा सामान्य ज्वरो आए पनि पछि टायफायड भएछ,’ उनी भन्छन्, ‘पछि त्यो पनि बिग्रिएछ। त्यसपछि दुवै कान सुन्न छाडेँ। के गर्नु यस्तै हुनु रहेछ। रोएर हुँदैन, कराएर हुँदैन।’
कान सुन्न छाडेपछि कुलप्रसादलाई सबैकुरा ‘शून्य’ लाग्न थाल्यो। होहल्ला गर्दै स्कुलसम्म जाने साथी छुटे, घरमा बुबा-आमाको चिन्ता देखे। अनि आफ्नै आवाजसमेत सुन्न छाडे।
सुरुका छ महिना त उनलाई निकै समस्या भयो। न आफूमा सांकेतिक भाषाको ज्ञान न यसबारे पढाउने गाउँमा कुनै विद्यालयबारे जानकार। कुलप्रसाद पूराना दिन सम्झेर धेरै रोए। उनको मानसपटलमा चराको चिर्बिर अनि सुसाएका खोलाको आवाज सधैँ आइरहन्थे। उनलाई पहिलाकै जस्तै सुन्न सक्ने होस् जस्तो लाग्थ्यो तर उनी हारेका थिए। उनले सधैँका लागि सुन्ने क्षमता गुमाइसकेका थिए।
कुलप्रसाद पढाइमा सामान्य थिए। तर, पनि उनी कक्षाका सबैभन्दा ‘प्यारा’ थिए। कक्षामा शिक्षकले सोधेको प्रश्नको उत्तर दिने र साथीहरुसँग मिलेर बस्ने स्वाभावले उनलाई सबैले राम्रै मान्थे।
सानैदेखि मेहेनती स्वभावका भएपनि कुलप्रादाले आफूले सोचेजस्तो भने गर्न सकिरहेका थिएनन्।
आफूसँगैका साथी-भाइहरु कराएर पढ्दा उनी भने सांकेतिक भाषामा कुरा राख्थे। भाषागत समस्या हुँदा उनी आफ्ना कुरा मनमै राख्न बाध्य हुन्थे।
‘बहिरा’ भएकै कारण उनले धेरै ठाउँमा समस्या भोगे। आफ्ना इच्छाहरु दबाए। भने, पाएको कामसम्म छाडे।
‘बहिरा भएपछि धेरै समस्या भयो’, ‘कहिले भाषा बुझ्न कठिन हुन्थो त कहिले के समस्या हुन्थे, त्यही भएर गरिरहेका कामसमेत छाड्नुपर्यो,’ उनले आफ्नो विगत बताए।
३० वर्ष पहिलासम्म ‘बहिरा’का लागि कुनै विकसित भाषा थिएन। त्यहाँ परिवार र साथीहरूको सर्कलभित्र विकसित गरिएको घरेलु क्यारेक्टहरु थिए तर धेरैजसो शब्दहरु वर्णमाला प्रयोग गरेर हिज्जे हुन्थे। बहिरा विद्यार्थीहरुलाई स्कुलमा सांकेतिक भाषा प्रयोग गर्न अनुमति थिएन। ओठमा आएका शब्दहरुको आधारमा उनीहरुले वाक्यको पहिचान गर्थे। र, त्यहीअनुसार आफ्ना काम गर्थे। तर, अब ती समयले फड्को मारिसकेको छ। साङ्केतिक भाषा बिस्तारित हुँदै गएको छ।
उमेरले झन्डै दुई २० को नेटो काटिसकेका कुलप्रसादको बिहान विभिन्न थरिका पुस्तक पढेर अनि दिन केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा पढाएर बित्छ।
कुलप्रसाद पेसाले एक शिक्षक हुन्। उनी ६ देखि ८ कक्षासम्मका विद्यार्थीलाई पढाउँछन्।
खासमा कुलप्रसाद सानैदेखि विदेश जान रहर गर्थे। तर, ‘बहिरा’ भएपछि उनले विदेशिने सपना छाडे र अध्ययनतिर लागे। स्नाकोत्तरसम्म पढाइ पूरा गरेका उनी अब सासंद बन्न चाहन्छन्।
संघर्ष गर्ने मानिसले नै सफलता पाउने बताउँदै उनी भन्छन्, ‘जीवन भनेको नै संघर्ष हो। त्यसैले मलाई बहिरा भएर पनि सांसद बन्ने रहर छ।’
उनीजस्ता थुप्रै कुलप्रसादहरु साङ्केतिक भाषाका शिक्षक छन्। जसले आफूजस्तै ‘बहिरा’ थुप्रै कलिला नानी-बाबुहरुलाई शिक्षा दिइरहेका छन्। तर, सरकारले ‘बहिरा’ शिक्षकहरूका लागि केही नगरेको उनी बताउँछन्।
‘सरकारले ‘बहिरा’हरुका लागी कानून त ल्यायो तर अझ के गरे हामीहरूको अवस्था राम्रो हुन्छ यसबारे सोचेको छैन’, उनले भने, ‘त्यसैले सरकारले यसबारे केही सोचिदियोस् भन्ने चाहना राखेको छु।’
भिडियाे :