‘महाजात्रा’ हरिवंश आचार्य

नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन्। नयाँ शृङ्खला हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडि नै सार्वजनिक भएकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका छन्। 

कात्तिक १५ गतेदेखि छायाङ्कनको तयारी गरिएकाले महाजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए। उनले भने, ‘हामीले कलाकारको आवरण परीक्षण (लुक टेस्ट) गरिसकेका छौँ। शृङ्खलाप्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उनीहरुको प्रिय कलाकारलाई लिएका हौँ।’

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ। उनले निर्देशन गर्नुभएका सम्पूर्ण चलचित्र बक्सअफिसमा व्यावसायिक रुपमा सफल हुनुका साथै दर्शक तथा समीक्षकलेसमेत रुचाएका छन्। ‘हामीले समाजकै कथालाई हासो र रोदनको मिक्षण गरेर पर्दामा ल्याउने गरेका छौँ। यसैले पनि दर्शकको प्रिय बनिरहेका छौँ। उहाँहरुको विश्वास अझैँ बढाउनु हाम्रो दायित्व हो’, निर्देशक भट्टराईले भने। 

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुहुने चलचित्रमा कसरी हास्यव्यङ्ग्य (कमेडी) यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो। स्थापित शृङ्खला र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गुरुङले बताए। उनले भने, ‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पूरा हुँदैछ। दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु। यस्ता समूहसँग काम गर्न पाउँदा आफूलाई निखार्ने अवसर पाइन्छ’।

यसमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन्। ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

प्रकाशित मिति: : 2023-10-26 11:52:00

प्रतिकृया दिनुहोस्