दसैँकाे बुझाइमा छुइबा!ले ल्याइदिएकाे परिवर्तन

असोज महिना लाग्ने बित्तिकै गाई-गोरु चौपायाको लागि घाँस-पात जम्मा गर्ने काम गरियो। अब केही महिनामै हिउँले ढाकेर जुम्लाको दृश्य नै बदल्ने छ। मानिसलाई त त्यति असर नगर्ला तर गाई-गोरुलाई चर्न जानको लागि कतै ठाउँ हुनेछैन। खेतबारीमा लगाएको अन्नबाली मुख्यत धान, सिमी कोदो लगाएतको बाली भित्र्याउने काम सम्पन्न गर्ने, आफ्ना लागि र चौपायाको लागि खाना जम्मा गरिन्छ।

आकशले पनि बारम्बार चुनौती दिँदै थियो। छिटो बाली भित्र्याऊ भन्दै घच्घच्याइरहेकाे थियाे। हामीलाई पनि चटारो थियो वडा दसैँ नजिकिँदै थियो। दसैँभन्दा अगाडि काम सकाउने पुर्खा देखिको हाम्रो रीतिथिति नै बसेको छ। दैवी शक्तिको विजयको उत्सवको रुपमा यो पर्व मनाए मनाउँदै आएको चलन छ। यो तथ्यलाई धार्मिक आस्था राख्नेहरु मान्न तयार छन्। सो भए पनि धार्मिक आस्था बेगरकाहरु यसलाई कृषि कर्मलाई जोडेर यो पर्व मनाउने प्रचलन रहँदै आएका थिए, भन्ने सुनेको थिएँ।

बिगतझैं यो वर्ष पनि लगाइएका बाली भित्राउने काममा हाम्रो परिवार र म पनि लागेँ। खेतमा धान एक्लै काट्न नसकिने भएपछि हाम्रो घरमा बाजेहरुको पालादेखि काम गर्ने गरेका गाउँकै छुइबा अर्थात् हलिया प्रथाको जग कथित दलित काकालाई यो वर्ष काममा बोलाएका थियौँ। उहाँसँग काम गर्दैगर्दा, ‘दसैँ आइसक्यो। घर-घरमा पूजाआजा चलेको छ। काम छिटो सकाएर रमाइलो गर्नुपर्छ,’ भनेर भनेँ ! उहाँले, ‘दसैँबारे थाहा छ?’ भन्नू भयो।

मैले गर्वसाथ भनेँ, ‘थाहा छ।’ घटस्थापनाको दिनदेखि घरमा पूजा गर्ने विभिन्न देवीको पूजा गर्ने, कालिरात्रीमा बली चढाउने टीका-जमरा लगाउने, दान दक्षिणा दिने रमाइलो गर्ने।

फेरि प्रश्नको वाणी भयो, ‘दसैँ कहिलेदेखि मनाउने गरेको हो?’

म अलि अक्मकिएँ। कहिलेदेखि मनाउने गरेको हो थाहा भएन भनेँ तर देवीले राक्षसलाई मारेको दिन, रावणमाथि रामले विजय गरेको दिन, असत्यमाथि सत्यको जित भएको दिन भनेर जबाफ दिएँ।

मैले उहाँलाई सोधेँ, तपाईंलाई थाहा छ छुइबा? अझ बढी नजिक भएर कुराकानी गर्दा पर्वबारे?

उहाँको तर्क फरक थियो। ‘काँ भगवानले अझ देवीमाताले जित्ने राक्षसले हार्ने, का राम जित्ने रावण हार्ने, भन्ने सम्झनामा दसैँ मनाउन लाग्या हुन त? यो केही होइन आज-भोलि त काम पनि खासै त्यति धेरै हुँदैन। पहिला-पहिला मान्छेको संख्या पनि कम त्यहीमा पनि  ठुलाबडा भन्याहरु काम नगर्न्या महिलाहरु र हामीहरुमात्रै काम गर्न्या गर्‍याैं। खेतबारी यही हुन अहिल्या जुन ५-६ दिनमा का सकिन्छिया? महिनौँ दिन काम हुन्छियाे। कहिले फुर्सद होला कहिले आराम गर्न्या होला भनी सोच्दा छियौं। काम सिद्दपछि दसैँ मनाउने तिहार मनाउने भैलो खेल्ने सबैजना गाउँघरका परिवारहरु मिलिकन पाठेभात खाने चलन थियो।’

फेरि थपे, ‘अगाडि काम सकाउनेले काम बाँकी रहेकाहरुको सहयोग गर्ने चलन थियो। आज-भोलि त पैसा भएकाहरुको लागि जे पनि छ अरु लाई के भनु?’

किन के भयो र आज-भोलि?

‘आज-भोलि पैसाको पर्व भयो। भए भरका गाउँका सबै विदेश छन्। मेरो छोरो पनि भारतबाट नआउने भैगयो। टीका पनि कैखन लाउने हो बड्डाबड्डी मात्तै छु।’

कमरेड माओको भनाइ छ, ‘जनतामा जाउ, जनताबाट सिक।’ त्यस्तै व्यवहारबाट ज्ञान्, ज्ञानबाट फेरि व्यवहार भनेजस्तै भयो मलाई। कति पनि नपढेका अक्षरसम्म नचिनेका मेरा छुइबाका कुराबाट मेरो दसैँप्रतिका बुझाइमा मेरो घरमा मेरो कुलमा पूजाआजा गर्दै असत्यमाथि सत्यको जित। विभिन्न नामधारी देवीहरुले मानिसलाई दु:ख दिने राक्षसलाई बध गरेको र देवीको विजय भएको मानिसले राक्षसबाट मुक्ति पाएको भन्ने धार्मिक दृष्टिकोणको गहिरो छाप थियो। त्यसलाई परिवर्तन गरिदियो।

आसुरी शक्तिकाे विरुद्धमा दैवी शक्तिको विजय महोत्सवको रुपमा परम्परादेखि चल्दै आएको भनिने यो चाडपर्व हिउँदको समयलाई मध्यनजर गर्दै मानिस र चौपायाको लागि खाना जम्मा गर्ने अर्थात् बाली भित्राउने बेलाको थकानबाट फुर्सद लिएको, खेतबारी पाखा पखेराहरुमा बाली लह-लह व्याप्त भएको, झरी, बादल र गड्याङगुडुङको मौसमबाट छुटकारा पाएको र बादल फाटेर स्वच्छ आकाश देख्न थालिएको हर्ष-बढाइँमा मनाइने महान चाड हो भन्ने निष्कर्ष निकाल्न अब मलाई दुविधा रहेन।

मानिसले आगोको आविष्कार गरेपछि पहिले आफ्नो आहाराको लागि पशुहरु र त्यसको लगत्तै कृषिको विकास गरेको हो। कृषि विकाससँगै फिरन्ते घुमन्ते जीवनबाट छुटकारा पाएको र स्थायी रुपमा बसोबासको थालनीसमेत गरेको थियो। स्थायी बसोबाससँगै परिवारको जन्म पनि भएको हो।

दुनियाँका थुप्रै देशहरुले आज कृषि युगबाट आधुनिक औद्योगिक युगमा प्रवेश गरेर एकपछि अर्को गर्दै नयाँ-नयाँ आविष्कारहरु गर्दै प्रकृतिलाई नै चुनौती दिँदैछन्। आकाशमा बादल लागेर झर्नलागेको झरिरहेको पानी रोक्ने, सयौं हजारौं मान्छेबाट हुने काम एकयन्त्र मानव रोबर्टबाट गर्न थालिसके। यसका अलवा अपत्यारिलो तरिकाले एकपछि अर्को गर्दै क्रमिक अदभूत विकास गरिरहेको छ। विकसित देशहरूका नागरिकले त्यसका लाभ स्वाद थालेको धेरै भयो।

तर, आज हामी न त औद्योगिक युगमा प्रवेश गर्न सकेका छौँ, न त कृषिलाई नै दह्राे गरी पक्रन सकेका छौँ। भएका खेतबारीहरुसमेत बाँझो बनाएर भाडाका कामदारको रूपमा अन्यत्र मुलुकहरूमा पठाउँदैमा भ्याइनभ्याइ छ, हामीलाई। वडा दसैँ, तिहार, छठलगायतका नेपालीहरुका चाडपर्वहरु आगनमा छन्। यी चाडपर्वहरुमा परिवारका सबै सदस्यहरु, आफन्तहरू एकैथलोमा जम्मा भएर हर्ष उल्लास र उत्साहका साथ मनाउने गरिन्छ। तर, आज हाम्रा आँगनहरुमा परिवारका न त सबै सदस्यहरु छन्, न त आफन्तहरुको लहलस्कर नै आउने स्थिति छ। यस्तो अवस्थामा यो देशका लागि गौरवको पर्व कसरी हुन सक्छ?

सरकारले यो पर्व घटस्थापनाको दिनदेखि बिदा दिइरहेको छ। यो बिदालाई सकारात्मक तरिकाले लिने हो भने हिन्दूहरुको मात्रै मनाउने पर्व भए पनि यो देश भित्रका सबै धर्मावलम्बीलाई बिदा दिइएको छ। जसले गर्दा धार्मिक एकताको सन्देश धार्मिक संस्कार र सभ्यता दिएको छ। धार्मिक भाइचाराको सम्बन्ध स्थापित गर्ने प्रयास गरेको छ। अर्को, पाटोबाट पनि विश्लेषण हुन्छ होला।

तर, आज हाम्रा बिमानस्थलहरुबाट परदेशिएका दाजु-भाइ, दिदी-बहिनीहरुलाई छिटोभन्दा छिटो कसरी भित्राउने र यही केही न केही धन्दा गरी जीवनयापन गर्न सक्ने ग्यारेन्टी गर्नुपर्ने अवस्थामा झन् झन् थप मुलुकहरूसँग रोजगार सम्झौता गर्न सरकारलाई भ्याइनभ्याइ छ। बचेखुचेकाहरुलाई पनि यो मुलुकबाट कसरी बाहिर पठाउने भन्नेमा बढी ध्यान छ। के यसैका लागि व्यवस्थामाथि व्यवस्था परिवर्तनका आन्दोलनहरु, युद्धहरु भएका हुन त?

यसको जवाफ शासन सत्तामा हुने र शासनमा गैरहनेहरुले कहिले दिने? राणाका अधिकार फाल्यौँ राजतन्त्रका अधिकारहरु खोसेर जनतामा ल्यायौँ र पुर्नराजतन्त्र नै सदाका लागि ढाल्यौँ। प्रजातन्त्र, संवैधानिक राजतन्त्र हुँदै लोकतन्त्र गणतन्त्रमा प्रवेश गर्‍यौं। लोकतन्त्रमा प्रवेश गरेको पनि झन्डै ३३/३४ वर्ष भयो।

गणतान्त्रिक प्राणालीमा प्रवेश भएको पनि झन्डै १५/१६ वर्ष बितिसक्यो। जनतालाई अधिकार सम्पन्न बनाउने भनिएको संघीयताको प्रयोग पनि झन्डै ७ वर्ष पुग्न लाग्यो। तर, देशको अवस्था झन् दर्दनाक छ। एसियाको सबैभन्दा गरिब मुलुकको सूचिमा प्रथम हुनु हुनुपरेको छ। अब गम्भिर समीक्षा गर्ने बेला भएको छ। अतितको भूलको दुष्चक्रमा रुमल्लिएर हाम्रो कल्याण छैन।

जब हामीले राजनीतिक परिवर्तनको आन्दोलन पछिमात्रै देशले कायापलट फेर्ने भन्यौं र स्थायी सरकार बनाउने समृद्ध देश बन्छ भनेका थियौं। सोहीअनुसार २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था स्थापित गर्‍यौं। जनताका प्रतिनिधिलाई देशको मुख्य संचालक बनायौं। तर, हाम्रो राजनीतिक व्यवस्था जनताले कल्पना गरेको भन्दा फरक मुल्यहीनता, स्वच्छ शासनको अभाव गहिरिँदो अविकास र राजनीतिक अस्थिरता मौलाउदो भयो। आज प्रयन्त पनि यो एक पर्वको रूपमा वार्षिक रुपमा सरकार परिवर्तन गर्नुपर्ने जस्तो परम्परा बनेको छ। अझ नयाँ आमबात भएको छ र जो घट्दो होइन अरु बढ्दो छ।

जनताप्रतिको विश्वास, समाजप्रतिको जवाफदेहिता र राष्ट्रप्रति गर्नुपर्ने उत्तरदायित्वमा शिथिलता छाएको छ। जसले गर्दा जनतामा अब केही हुन्छ, हाम्रो पनि दिन आउँछ, हाम्रो देशले पनि समृद्धि पाउनेछ भन्नेमा जनताको आत्मविश्वास नराम्ररी भत्किएको छ।

आज हाम्रो देशको राजनीति बेथितिमा, विकर्षणमा र पलायनमा उद्दत छ। समय अगाडि बढ्छ युग फेरिँदै जान्छ। आवश्कताहरु, रुचि र चाहाना परिवेश अनुसार फेरिँदै जान्छन्। तसर्थ, न त हामी पश्चगमनको बाटोमा जान सक्छौं नत यथास्थितिमै रुमलिएर रहन सक्छौँ। हाम्रा गतिविधिले लोकतन्त्रको परिभाषा पनि परिविर्तन हुने स्थितिमा गैसकेको छ भन्न थालेका छन्।

राजनीतिक शक्ति केन्द्रका दलहरुको आपसी शक्ति बाँडफाँड, भागबन्डा र लेनदेनमै सत्ता बचाउने काम मात्रै लोकतन्त्र हो? त्यसै गरी सधैं जुनसुकै श्रीमान श्रीमतीका झगडाका कुरादेखि जसले जसकाविरुद्ध जुनसुकै विषयमा पनि रात-दिन भिड्ने, रडाको मच्चाउने मनलाग्दो गरी छाडापन हुने, गालीगलौज गर्न सक्नु नै लोकतन्त्र हो?

तसर्थ, हामीलाई चाहिएको यो लोकतन्त्र होइन। यो छाडा भिडतन्त्र, मनपरितन्त्र, हुँदै होइन। नेपाली जनताले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र देशका नागरिक बेच्ने गणतन्त्र पनि होइन। नेपाली जनताको राष्ट्रिय एकताले मात्रै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ। राष्ट्रिय एकताले नै राष्ट्रको यथास्थितिलाई हेरेर सर्वाङ्गिण विकासको लक्ष्य हासिल गर्ने गरी विदेशिएका नेपाली दाजु-भाइ दिदी-बहिनीहरुको ज्ञान्, सीप र अनुभवलाई प्रयोग गर्न सक्नुपर्छ। हामीमा हठ होइन सद्बुद्धि आउनु जरुरी छ। हरेक पर्वहरुमा संकल्प गर्ने गरिन्छ। यो बडादसैँमा हाम्रो देशले जनतालाई सुखी राख्न देशमै उद्योग धन्दा र स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्छ।

जनतालाई खुसी राख्न परिवारका सदस्यसँगै हुनुपर्छ। हरेक राम्रा/नराम्रा गतिविधिमा हातेमालो गर्ने अवस्था हुनुपर्छ। के सरकारले, राजनीतिक दलहरुले नेपाललाई औद्योगिक युगमा प्रवेश गराउने र सबै नेपालीलाई स्वदेश फिर्ताको संकल्प गर्न सक्छन्? यो दसैँंमा यस्तो संकल्प गर्ने सद्बुद्धि पलाओस्।

प्रकाशित मिति: : 2023-10-23 22:55:00

प्रतिकृया दिनुहोस्

    अत्यन्तै मनकहली लाग्दो लेखको लागि मनै देखि हार्दिक हार्दिक शुभकामना छ ! आफ्नो केही समय छुट्टयाएर पूरा लेख पढ्ने अवसर पाए यसको लागि पनि धेरै धन्यवाद दिन चाहे ,,

    • एक बर्ष अगाडि
    • दिपेन्द्र सुनार