अचेल पहाडी जिल्लाका सदरमुकामतिर मात्र कहाँ, गाउँघरतिर समेत बिकराल बन्दैछ, सिसा र सिसीको रास।
खेतबारीमा काम गर्दा सिसाले हातखुट्टामा काटेपछि अस्पतालको दैलोमा पुग्नेहरू पनि भेटिएकै हुन्छन्। ‘रक्सी पिएर झैझगडा गरेर होस् वा लडेर चोटपटक लागेकाहरू, अस्पताल नआएको कुनै दिन छैन। कम्तीमा पनि दिनमा एउटा केश त आएकै हुन्छ’, डोटी राजपुरस्थित सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरको अनुभव छ।
मोही पिएझैँ एकै सासमा घटाघट पारेर छेउछाउमा फुत्त रित्तो बोतल फ्याँकेर हिँड्नेहरू प्रशस्तै देखिन्छन्। बोतल मात्रै कहाँ हरेक मोडमा जवानीमै जिन्दगी रित्याइरहेकाहरू उस्तै देखिन्छन्।
बलायरका अनुसार अस्पतालमा आउने पुरुष बिरामीहरूमध्ये अधिकांशको कलेजो र मृगौलामा समस्या देखिन्छ। बढी मात्रामा रक्सी पिउनेहरूमा केही त मानसिक रोगीसमेत बनेका छन्।
यो सबै भइरहेको छ, बेरोजगारीका कारण। जनचेतनाका कारण र नेताहरूका कारण। राजनीति गन्हाएको छ। बेरोजगारी मौलाएको छ। युवापिढी विदेशिँदै छ। विदेशमा गएर पनि भनेजस्तो सोचेजस्तो नभएपछि मनमा दिकदारी छाउन थाल्छ। त्यसपछि लहैलहैमा लागेर साथी बनाउन पुग्छन् त्यही रक्सीलाई।
लामो समय सुजङ अस्पतालमा कार्यरत रही यी दृश्यहरूलाई केलाएका छन्, बलायरले।
‘अहिले रक्सी सेवन गर्नेहरूमा युवाहरूको संख्या बढी छ। नेताहरूले नै यिनलाई रक्सी पिउन सिकाएका हुन् र सिकाइरहेका छन्। रक्सी पिलायर उनीहरूलाई आफ्नो स्वार्थका लागि परिचालन गरिरहेका देखिन्छन्’, उनी भन्छन्।
हिजोआज जताततै अन्यौलता छाएको छ। अनि गाउँघर ‘दारु’मय बनेको छ। दूषित राजनीति, बेइमान नेताहरू, तिनका झोलेहरू, निरिह जतनाहरूलगायत थुप्रै दृश्यहरू देखिन्छन् अचेल गाउँघरतिर।
गत साता डोटीका केही गाउँतिर यात्रारत रहँदा एउटा पसलमा संवाद सुनिएको थियो- पसले र ग्राहकको। ‘ए ब्वा एक/दुई प्लेट चाउमिन बनाइदिनै’, एक वृद्ध महिला पसल छेवैमा आएर अडर गर्छिन्।
पसलेले प्रश्न गर्छन्, ‘घर लैजानेइ हौ कि, इत्तेइखी खानेइ हौ बज्यै?’
‘घर लैजानेइ हुँ ब्वा। बसाइतिक रोटासँग सालुन हुन्छ। झिल्लिनो हालिदे,’ उनले विस्तारै साहुजीलाई सम्झाइन्।
चाउमिन साँझको तरकारी बन्छ। दिउँसोको नास्ता बन्छ। खेतबारीमा काम गर्दा खाजा बन्छ। जताततै उच्चारण गरिन्छ उही-चाउमिन।
केटाकेटीदेखि वृद्धवृद्धा सबैको मनपर्ने उही चाउमिन छ। पहाडका किराना पसलमा समेत एक छेउमा चाउमिन पाक्छ। केटाकेटी र महिलाहरूको रोजाइमा पर्ने खानेकुरामा पहिलो नम्बरमै पर्छ चाउमिन। सामान्य पसलमा पनि दिनमा ३० देखि ४० प्लेट बिकेकै हुन्छ।
पहेँलो, रातो रंग हालेर रंगीन बनाइएको हुन्छ। अजिनोमोटोले स्वादिलो बनाउँछ भनेर मुठी भरेरै हालिदिन्छन्। खुर्सानी, सस, अमिलो मिसाएर पकाइएको चाउमिन जिब्रो पट्काउँदै खाइरहेका देखिन्छन् स्कुले नानीबाबुदेखि महिला-पुरुष सबैजना। यसले मानव स्वास्थ्यमा पुर्याउने असरका बारेमा चेतना छैन। हाम्रा स्वास्थ्यकर्मीहरूले जनचेतना जगाउनुपर्ने हो तर दिउँसोको खाजामा उनीहरूको समेत रोजाइमा परिदिन्छ चाउमिन र चाउचाउ नै।
मुखबाट अमिलो पानी फ्याँक्दै एक हातले पेट च्याप्दै स्वास्थ्यचौकी धाउनेहरू नै घर फर्किंदा हातमा चाउमिनका पोलिथिन बोकिरहेका देखिन्छन्। अचेल पहाडतिरका प्रिय खान्कीमा पर्छन्- चाउमिन, समोसा र चाउचाउ।
यी दुबै मैदाजन्य परिकार हुन्। यस्ता मैदाजन्य खाद्यपदार्थ शारीरिक स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छन्। तथापि अधिकांश मान्छेहरू अनभिज्ञ छन् यिनका बारेमा।
विज्ञहरूका अनुसार गहुँबाटै बन्ने भए तापनि गहुँको बोक्रा उप्काइ मिहिन ढंगले पिसिन्छ। फाइबरको राम्रो श्रोत मानिने बोक्रा उप्काएर अलग गरी मिहिन ढंगले पिसी बनाइने मैदामा पोषक तत्वसमेत नष्ट भएर जान्छ। यसका साथै बढी सेतो बनाउन यसमा रसायन प्रयोग गरिन्छ, जुन स्वास्थ्यका लागि झनै हानिकारक मानिन्छ।
चिकित्सकहरूका अनुसार फाइबरविहीन भएका कारण मैदाजन्य परिकारलाई हाम्रो पाचन यन्त्रले पचाउन सक्दैन। यही कारण पेटको गडबडी एवं अन्य रोग लाग्ने हुन्छ। मैदाजन्य खाद्यपदार्थले कोलोस्टोर र मोटोपन बढाउनुका साथै कब्जियतको समस्यासमेत निम्त्याउँछ। यस्ता परिकारहरू मधुमेहको कारणसमेत बनिदिन्छन्। त्यसैले पछिल्लो समय गाउँघरतिर पनि मधुमेहका बिरामीहरूको संख्या बढ्दै गइरहेको छ।
मैदाजन्य खाद्यपदार्थका साथै पुरुषहरूको रोजाइमा पर्ने पेय पदार्थ (दारु) को प्रसङ्ग सुरुमै उल्लेख भैसकेको छ। यही दारुले कतिका घरबार बिग्रेका छन्। कतिका ज्यान गुमेका छन्। जुन दिन प्रतिदिन समाचार बनिरहेकै छन्।
मध्य तथा सुदूरपश्चिममा गाउँघरतिर अधिकांश पुरुषहरू पानी पिएझैँ घटघट गरिरहेका देखिन्छन् होटेल र किराना पसलहरूमा। प्लास्टिकका क्वाटरमा पाइने सस्तोखाले रक्सीको नाम राखेका छन्, ठेउको। डोटेली भाषामा ठेकीलाई ठेउको भनिन्छ। जुन दही दुध राख्न प्रयोग गरिन्छ। यो नाम पछिल्लो समय ज्यानमारा दारु राख्ने क्वाटरलाई पहिराइयो। काठका ठेकीहरू लोपोन्मुख प्राय छन्।
कुनै समय थियो, मध्य तथा सुदूरपश्चिमका गाउँबस्तीहरूमा हातमा पैसा हुँदा पनि कैयौँ छाक भोकभोकै गुजार्नु पर्थ्यो। अहिलेको जसरी खाद्यान्न किन्न पाइँदैन थियो। जसका घरमा प्रशस्त अन्न हुन्थ्यो, उसलाई दिउँसो एकान्तमा भेटेर हात जोडी पाउ परेर निकै नै अनुनय विनय गरी तय गरिन्थ्यो अन्न किन्ने समय। त्यो समय भन्नु नै मध्य रातमा गाउँ सुनसान भैसकेपछिको समय हुन्थ्यो। कसैले थाहा नपाउने गरेर लुकीछिपी किन्नुपर्ने त्यस्तो अन्नलाई बेसाः भनिन्थ्यो।
आधुनिक प्रविधि, उन्नत जातको बीउविजन र रसायनिक मलको चलन नहुँदा, तिनको बारेमा ज्ञान नहुँदा अहिलेको जस्तो उब्जनी हुँदैन थियो। तथापि किसानहरू सदा आफ्नो कर्ममा तल्लीन हुन्थे। जसले बढी अन्न उब्जाउन सक्यो, जसको घरमा आफूलाई चाहिनेभन्दा बेसी अनाज छ ऊ सौकार (सेठ) कहलिन्थ्यो। जसले खेतिपाती गर्ने कार्यलाई निकै नै महत्व दिएको पाइन्थ्यो।
पछिल्लो समयमा आधुनिक कृषि पद्धतिका बारेमा किसानले तालिमदेखि उन्नत जातका बीउविजन पाइरहेका छन्। कृषिमा सक्रिय हुनेहरूले विगतको भन्दा दोब्बर तेब्वर उब्जनी पनि गरिरहेको छन्। तथापि कृषकको संख्या निकै न्यून छ। पहाडी भेकको खेतीयोग्य जमिन बाँझो छ। हाम्रो स्वास्थ्यको लागि लाभदायक मानिने पुराना मौलिक परिकारहरू हराउँदै गइरहेका छन्।
होटेलतिर दालभात तरकारीलगायत अधिकांश परिकारहरूमा स्वादका निम्ति अजिनोमोटो मिसाइन्छ, जुन मानव स्वास्थ्यका लागि निकै नै घातक मानिन्छ। चाउमिन बनाउँदा प्रयोग गरिने ससका खाली बोतलहरू राख्ने ठाउँ छैन। ती बोतलहरू बिक्री गर्नु त परको कुरा भइहाल्यो, कसैलाई सित्तैमा दिँदा पनि लग्ने मान्छे भेटिँदैनन्।
शिखर ५ डोटीका व्यवसायी राज साउदका अनुसार नौ/दश वर्षअघि बोतल किन्ने मान्छे आउँथे। प्रति बोतल रु १ का दरले बिक्री हुन्थ्यो। त्यस्तै रक्सीका क्वाटर र बोतल पनि बिक्री हुन्थे। विस्तारै खरिद गर्नेहरू आउन छोडे। केही महिनासम्म सित्तैमा दिए। ५-७ वर्ष भयो सित्तैमा दिँदा नि लग्न मान्दैनन्। पहाडबाट तराई पुर्याउँदाको गाडी भाडालगायतको खर्च जोड्दा उल्टै घाटा हुन थालेपछि बोतल उठाउने मान्छे नै आउन छाडे।
अचेल खोला, नदी, खेतीयोग्य जमिनका गराहरूमा र वनजंगलमा जताततै भेटिन्छन् बोतल र सीसाका टुक्राहरू। व्यापारीहरूले गाडीवालालाई उल्टै पैसा दिएर फयाँक्न लगाइरहेका छन् बोतलहरू। तिनले पनि धेरै टाढा कहाँ पुर्याउँथे र नजिकैका खोलानाला जंगलतिर फ्याँकिदिन्छन्। जुन दृश्य डर लाग्दो छ। यसबाट पीडित छन् नदीमा माछा मार्नेहरू, पौडी खोल्नेहरू, किसानहरू र केटाकेटीहरू।
अचेल गाउँघरतिरका पसल तथा होटेलमा प्राय महिला तथा केटाकेटीहरूले सोध्ने गर्छन् चाउमिन छ? भनेर। अनि पुरुषहरूले सोध्ने गर्छन्, ‘साहुजी ठेउको छ? एक दिइहाल पन।’
यतिबेला दसैँ मान्न लागि घर फर्किरहेका छन् लाहुरेहरू। भारतमा दरवानी गरेर ल्याएको पैसा बढीजसो सिद्धिने गर्छ त्यही दारुमा। लाहुरेसँग बिँडी, सिग्रेट र दारु माग्नेहरू उस्तै देखिन्छन्।
यी सारा दृश्यहरूसँग चिरपरिचित देउसराले बिहान बिहानै सुनाइन्, ‘नातीनातिना, बुहारी चाउमिन खानाखी पैसा माग्दा। मेरा भत्ताका पैसा तिनखीलाई चाउमिन किन्नालाई लै नइपुग्दा। बुढो अनारो भयापछि चुइगम पड्काउने दारु सड्काउने भन्दै लरबराइकन घर पुग्दो। जेठो चेलो ६० सलमी सेनाको गोली लागिबर ढल्यो। शहिद भयो भनन्थे। रिनदान गरिबर कान्छा चेला पढाए। भेटेका बखत सबै भनन्थे, ‘तेरा चेलाले त झिक्कै पढ्यो। पढाइमाइ निको रै छ। अब तेरा दुखका दिन सकिगे। गरीबका दुखका दिन काँ सकिदा हुन्। यइ देश नौकरी नपाइकन परदेशी बन्यो।परदेश लै गतिलो कमाइ नैआथि भन्दो छ। उइल हिटेर एक घन्टामी औल पुगिन्थ्यो। अचेल सडक बन्यो। बाटो ५ किलामिटर छ भन्दा छन्। गाडीवाला आउना जनाको ६ सय रुप्पे भाडा लिदा। जनतामारा नेता चुनाबका बेला आउँदा रे दारु ख्वाइबर पैसा दिइबर चुनाब जितिहाल्दा।
गोसाई, निर्धा रे गरिबमारा नेताका गाडी धुलो उडाइन दौडेका देख्याले उइलका तिन्का भाषण सम्झन्छु। तिनले देखाएका सपना सम्झिन्छु। के के सोचन्छु। गोसाई, यो लोकतन्त्र भन्याको, विकास भन्याको, अधिकार भन्याको सबै यसोइ रै छ धेक्या?’