प्युठानका सम्पदाको वृत्तचित्र काठमाडाैँमा प्रदर्शन

प्युठानका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदा समेटेर तयार गरिएकाे ‘सांगीतिक वृत्तचित्र’ काठमाडाैँमा प्रदर्शन गरिएकाे छ। प्युठान घर भई काठमाडाैँमा बस्दै आएकाहरुकाे लागि काेसेली स्वरुप बागबजारस्थति सिटी म्याक्स सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गरिएकाे हाे।

प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी, झिमरुक नदी, ऐरावतीलगायतका प्युठानका प्रमुख सम्पदाहरू समावेश गरिएको उक्त वृत्तचित्र त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासाले तयार पारेका हुन्।

धार्मिक एवम् पर्यटकीयस्थल गौमुखीको काखबाट सुरु भएको उक्त सांगीतिक वृत्तचित्रमा नौबहिनी झरना, लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट-नदी, प्युठान नगरपालिकाका सुन्दर बस्ती, मल्लरानीका विभिन्न सम्पदा, प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, माण्डवी, ऐरावती र सरुमारानीका विभिन्न प्राकृतिक एवम् मनोरम दृश्यालाप गर्न सकिन्छ।

सांसद् सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रदर्शनीमा वरिष्ठ कलाकार हरिहर शर्मा, साहित्यकार जीवराज भट्टराई, प्राडा.प्रेम शर्मा, कलाकार बेगम नेपाली’भटभटे माइलो’, गोरखा पालुङ्टार नगरपालिकाकी उपमेयर बन्दना पाण्डे, माओवादी केन्द्रका नेता कुलमान गिरी, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, अधिवक्ता विमल पोखरेल, समीर सिंह, अस्मिता केसी, समुन्द्र गिरी, ध्रुव बस्याल, विपी बडाललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2023-10-15 13:05:00

प्रतिकृया दिनुहोस्