आफ्नो ‘बक-पत्रमा’ सिद्धान्तलाई तिलाञ्जली दिएको (लेखककै भाषा र विश्वासको) जनयुद्धको छाललाई एउटा पोखरीमा बन्धक बनाएको विषयलाई सामाधिस्थ गरेका छन्, लेखक नरेन्द्रजङ्ग पिटरले।
यात्रा, अध्ययन, राजनीतिक संलग्नताको अनुभवको अग्लो चुचुरामा विश्वास र आघातका खतहरूले यो पुस्तक एउटा हस्ताक्षर हो। जसले ब्यक्तिको सबैखाले स्विकरोक्ति दर्ज गर्छ।
मृत्यु वा मुक्ति भनेर हेलिएका तथा पूँजीलाई समाजको अधीन बनाउँछु भनेर महासमरमा ओइरिएकाहरूमा स्वतत्वको टकराहट र अहङ्कारको जुधाइ सैद्धान्तिकरण भएर लामबन्दी लाग्दै पनि छ। (पृष्ठ ८९)
त्यही जनयुद्धका उत्पादनले सायद अब कहिल्यै प्राणवायु भरिएर माओवाद जप्ने छैनन्। पूँजीवाद र दलाल पूँजीवादको धरातलमा हुर्किएर।
दर्शन र विश्वासलाई तिलाञ्जली एक राजनीतिक चेत भएको ब्यक्तिले कदापि गर्न सक्दैन। भलै ऊ कुन दर्शन र आन्दोलनबाट उभ्रियो बेग्लै पाटो हो। अनि ऊ कुन वर्गको प्रतिनिधित्व गर्छ झनै गम्भिर विषय हो।
बक-पत्रमा पिटरले नेपालगन्जको विविधतालाई सप्रेम उधिनेका त छन् नै तर नेपालगन्जको भित्रिपाटोको चित्रण गर्दै लेख्छन् ‘घृणाको खेती मौलाइरहेको र संस्कृतिको नाममा आफ्नै लास काँधमा बोकेर महानताको प्रशस्ती गाइरहने सर्वत्र मानवता सर्वाङ्ग चिच्याइरहेको सहर पनि हो।’ (पृष्ठ ५०)
समयले शक्तिलाई सलाम ठोक्छ बक-पत्रमा समयलाई शक्तिसँग गरेको फ्यूजन पनि निरन्तरतामाथिको क्रमभङ्गताझैं लाग्छ। समयको वृत्तलाई मझधारमा शक्तिसामु पस्केका छन्।
बक-पत्रमा माओवादी शब्द सनतानीलाई तिलस्मी, सहरियाहरूलाई रहस्य, अपराधीहरूलाई आतङ्क र निसहायहरूलाई सहरा बनिसकेको थियो। भनेर लेख्दा काउण्टर दिएर बडो कलात्मक ढङ्गले उनी लेख्छन् ‘मूर्खहरुले जनयुद्ध घोषणा गरे र लगे।’
२०६१ सालमा सुर्खेतमा पहिलोपटक चिनेको हुँ लेखकलाई भलै उहाँको जीवनयापनको सेल्टर अझै पनि नेपालगन्ज नै हो।
जातीय आन्दोलन भन्दै लेखकले मधेस नलेखी तराईको आन्दोलन भनेर लेखिदिए।
रुप देखेर गुणको धारणा बनाउन नहुने भन्दै माओवादको रुपलाई गुणमा ‘डाइल्युट’ गराएका छन्।
जनयुद्धमा जनकम्यूनको अभ्यासका बारेमा जाजरकोटको जुर्कानिपानेका मगर समुदायका दुई दर्जन हत्यापछिको सामूहिक जीवन बिताउने प्रसङ्गलाई थोरै छोएको छ। बाँकी जनकम्यूनका अभ्यास भएका ठाउँको कुनै प्रसङ्ग छैन।
बक-पत्रमा कर्णालीका रानीतिकर्मी र विकासे कार्यकर्ता भनेर छुट्याउनै नसकिने भनेर गम्भिर विषयलाई घोचेका छन्। त्यो घोचाइ भोगाइको अन्त:स्करणको मध्यविन्दु हो।
काभ्रेदेखि पटना, पटनादेखि चितवन-भण्डाराका ब्यक्तिगत जीवन ब्यवस्थापनका विषयमा आफैँलाई कोतरेर लेखिदिएका छन्, पिटरले।
पत्रकारिता, मिडिया कसकाे इन्ट्रेष्टमा केन्द्रित छन्, भनेर पनि निफन्ने प्रयासहरू पनि भएका छन्, बक-पत्रमा। मनोयुद्धको मूल लक्ष्य दिमागको ब्यवस्थापन हो भने मारक हतियार मिडिया हो।
‘कबम्ब्याट’ पत्रकार बनेर गरिने रिपोर्टिङ्गलाई धारेहात लगाएका छन्।
२०५४ सालदेखि २०५७ सालसम्मको अवधिमा माओवादीको रणनीतिक परिवर्तनको कलखण्ड भनेर लेखिदिएका छन्।
बक-पत्रको पुछारमा पिटर लेख्छन्, ‘राजनीतिलाई फोहोरी र मोहरी खेल ठान्नेहरु धारणा परिवर्तन गर्न नयाँ राजनीतिक क्रान्तिको आह्वान हुन बाँकी नै छ।’
तर, कस्तो क्रान्ति भनेर पुस्तकमा बक्न सकेनन्।
नेता ठिक, कार्यकर्ता खराब र कार्यकर्ता ठिक नेता बेठिक भन्ने भाष्य र सन्दर्भमाथि प्रहार गरेका छन्।
उनले जनयुद्धभित्र राजनीति र राजनीतिभित्र युद्धको उचित तालमेलका विषयमा उधिनेका पनि छन्।
बक-पत्रका लेखक पिटर पुस्तकमा लेख्छन्, ‘जति आदर्श, क्रान्तिकारी, नैतिकवान र स्वप्नद्रष्टा पार्टीमा थिए। त्यत्तिकै भ्रष्ट, नैतिकहीन, आदर्शहीन, सनकी र अपराधी पनि क्रान्तिकारी आवरणमा थिए। युद्धकालमा छिपछिपे रहेको चरित्रको अभ्यास शान्तिकालमा छर्लङ्गिएको मात्रै हो।’
डा.बाबुराम भट्टराईप्रति नरम भावसहित आन्तरिक लाइन संघर्षका कुरालाई छुने प्रयास गरेका छन्। डा.भट्टराईले जनयुद्धलाई केवल ‘रेडिकल डेमोक्रेटिक मुभमेन्ट’ भनेपछि उदेक लागेको प्रसङ्ग उल्लेख छ।
बक-पत्रमा घोत्लिएका लेखक पिटरले बौद्धिकताको मानक खोजेका छन्। पुस्तकमा शिक्षा र विद्याको फरक सोधेका छन्।
छिचोल्न नसकिएको एम्बुस उपशीर्षकमा जनयुद्ध अर्को चरणमा त फेरियो तर मनोयुद्धको एम्बुसबाट उम्कन सकिएन् भनेर ‘एसल्ट ग्रुप’को प्रवृत्तिमाथि शब्दवाण चलाएका छन्।
माओवादी नेताहरू हजार रुपैयाँको सम्पत्ति पार्टीकरण गरेर अर्बौंको मालिक बन्न पाए भनेर बक-पत्रमा पिटर लेख्छन्, ‘राजनीतिमा एउटा नयाँ वर्ग देखा पर्यो।’
बक-पत्रमा दोहोरिइरहेको हरफ हो ‘मूहानमै समस्या भएपछि नदी सफा हुँदैन।’
यसभित्रको अन्तर्य र भाव गहिरो छ।
मन्त्रीका साथ मन्त्रालयमा सिंहदरबार बस्दा मिलिजुली बसौं र बाँडीचुँडी खाउँ भन्ने भावलाई बक-पत्रमा जनताको पहुँचाट सिंहदरबार अझैं धेरै टाढा रहेको उनको बुझाइ छ।
मार्क्सलाई मुद्दा भन्दै आफ्ना धारणा र बदलिँदो राजनीतिक परिवेशलाई समेटेका छन्।
बक-पत्रमा लेखक पिटर लेख्छन्, ‘क्यालकुलेटरले राजनीतको हिसाब निकालदैन।’ (पृष्ठ १५१)
‘विश्वासमा ठेस लागेपछि मान्छे ऐना हेर्छु बक-पत्र पनि लेखको विश्वासको ठेसझैं लाग्छ।’ शब्द, हरफहरू साहित्य र पत्रकारिता अनि आफूलाई यायावर बताउने लेखक पिटरले शिक्षित, ज्ञानी र जिम्मेवार मानिसले राजनीतिलाई बेवास्ता गर्दाको परिणाम अहिलेको राजनीतिको मियो भएको निर्धक्क लेखेका छन्।
बक-पत्रमा पिटर खुलेर लेख्छन्, ‘मैले लेख्नु र बोल्नुको कारण अझै जिउँदो छु भन्ने सन्देश दिनु हो।’ (पृष्ठ १६६)
बक-पत्रमा धर्म, विज्ञान, समाजका कुरा त छँदैछन। अन्तराष्ट्रियकरण भएका पुस्तकका सन्दर्भ पनि छन्। यात्रा, खानपान, भूमिगत र खुल्ला जीवनका अनेकौं सन्दर्भ पनि छन्। कांग्रेस नेता सुशील कोइरालाको सफायाको विषयमा उनले दिएका धारणा पनि उल्लेख छन्।
सरकार र माओवादी वार्तास्थल, त्यहाँको ब्यवस्थापकीय पक्षसँगै नेतृत्व तहसँगैका उठ/बसका प्रसङ्गहरू रोचक छन्।
मुक्ति सेनाका स्व.श्याम तामङसँगका अन्तरङ्गले कौतुहलता थप्छन्।
‘हजुरहरूलाई पनि सत्ताले वामपन्थी नै सोचेछ’ २०५८ साल साउन २८ र २९ गते बर्दियाको ठाकुरद्वारामा भएको सरकार र माओवादी वार्तास्थलको प्रसंगमा सहजकर्ताद्वय दमननाथ ढुङ्गाना र पदमरत्न तुलाधरलाई ठट्यौली पारामा लेखकले भनेका कुरा। रिसोर्टमा सरकारी वार्ता टोलीलाई दक्षिणतर्फ र माओवादीलाई उत्तरतर्फ कोठा ब्यवस्थापन भयो।
एउटा प्रसङ्ग यहाँ जोड्छु, बक-पत्रको खण्ड २ मा भारतको ‘संकटकाल’ र न्यायालयको प्रसङ्ग छ। इन्दिरा गान्धीले चुनाव हारेको निर्णयका विषयमा इलाहबाद उच्च अदालतका न्यायधीश जगमोहनलाल सिन्हाको १४ जुन १९७५ को फैसलालाई उठाएका छन्। त्यो मिति १२ जुन थियो। प्राविधिक त्रुटी रह्यो होला भन्ने लाग्यो। न्यायाधीश जगमोहनलाल सिन्हा थिए। त्यति ऐतिहासिक फैसलामा हस्ताक्षर गरेका न्यायधीशको नाम आधामात्रै लेखिँदा अलि अन्याय हुन्छ कि!
बक-पत्रमा नक्सलवादी आन्दोलनका हिमायती विहारपटनाका हिलारियन पिटरदाससँगको सानिध्यता, वीपी कोइरालालाई पटनामा भेटेको सन्दर्भ पनि उल्लेख छन्।
केही विदेशी पत्रकारहरुसँगका संसर्ग मनयोग्य पनि छन्।
पुस्तकमा उल्लेख भएका कतिपय यात्राका लामा प्रसङ्गहरू पाठकलाई बोझिला पनि लाग्नसक्छन्। तर, केही ज्ञान र सन्देशका पेटारा पक्कै छन्।
‘बक-पत्र’मा नरेन्द्रजङ्ग पिटरको ‘जनयुद्ध’ भन्ने विषयमा ब्यक्तिगत रुपमा म असहमत छु।
त्यही जनयुद्धलाई लेखकले नै सप्रसङ्ग पोष्टमार्टम गरेका छन्। तर, त्यो चेतना फैलाउने आन्दोलनलाई धन्यवाद त भन्नैपर्छ। तर, विमतिका पर्खाल पनि राख्दिनँ।
नरेन्द्रजङ्ग पिटरको ‘बक-पत्र’ उनको जीवन, दर्शन र संघर्षको निजत्व सङ्गालो हो।
अर्थात्, आफ्नै जिन्दगीको बक-पत्र!