उसका हातमा इटालो क्याल्भिनोको कृति ‘इनभिजिवल सिटिज’ थियो।
मलाई क्याल्भिनोको ‘द क्यास्टल अफ क्रस्ड डेस्टिनिज’को सम्झना आयो। उनले फिक्स गरेका साहित्यका फ्रेमले सधैँ उत्सुकता जगाउँछ मभित्र।तर आज म उति उत्सुक त थिइनँ तर घोत्लिँदै थिएँ।
उसले चुरोट सल्काई। धुवाँ गोलाकार हुँदै माथिमाथि पुगेर बिलायो।
एक लामो सर्को तानेपछि अनि मोबाइल हेर्दै थिई। उता परको टेबलमा कफीको चुस्कीसँगै ऊ एक्लै मुस्कुराइरहिछ।
काठमाडौँ एउटा क्याफेभित्रको दृश्य थियो यो।
संघीयताको रापले देश अझै रन्किइरहेको छ। यसको मेलोमेसो अहिलेसम्म पनि मिलिसकेको छैन।
कोशी प्रदेश त्यसकै भुङ्ग्रोमा छ। मधेश प्रदेश झण्डै जोगिएझैँ गरिरहेछ।
उता कर्णालीको आवाज कहिलेकाहीँ राष्ट्रियसभामा गुन्जिन्छ। लुम्बीनी प्रदेशका जिल्लाहरूको ब्यथा बेग्लै छ। अखण्ड सुदूरपश्चिमलाई लगभग लाभ नै भयो। धनगढी अपग्रेड भइरहेकै छ।
तर स्वतन्त्र मेयर भएकाले राजनीतिक दलहरू सन्तुष्ट र सहयोगी भइरहेका छैनन्। र त बेलाखत घोचपेचमा रमाउँछन्। सर्वसाधारण औसत देखिन्छन्, कमसेकम असन्तुष्ट छैनन् त्यता।
काठमाडौँका सडकमा नेपाली लसुन-अदुवा भन्दै तराकारी बेच्नेहरूले उपभोक्तालाई नेपाली उत्पादन हो भनेर विश्वास जित्ने प्रयास गररिरहेका हुन्छन्।
काठमाडौँले यो खाडलबाहेक बाँकी भू-भागलाई न्याय नगरेको कुरा सामाजिक वृत्तमा राजनीतिक हावा चलिरहन्छ।
बिबिसीका ब्राण्ड रविन्द्र मिश्र अहिले राजाको आवश्यकता भन्दै वैकल्पिक शक्तिको राप अलाप्न छाडेका छन्। उनी बिबिसीमा नजोडिएका भए कस्ता हुन्थे होला, म यसै हाइपोथेसिसमा अल्झिएँ।
विश्वभक्त दुलाल आहुती दर्शन र समाजको विशाल असमानतालाई शब्दमा प्रकट गरेर ‘भिजुअलाइज्ड’ गराउँदैछन्। उनको वैज्ञानिक समाजवादी पार्टीको रुद्रमति किनारमा रुँघिरहेको कार्यालय भने अक्सर सुनसान देख्छु।
आजकाल बजारमा पुस्तक प्रकाशनको लहड र लहर चलिरहेकोछ। अस्ति एकजनाले भने, ‘तपाईं पनि किताब लेख्नु न!’
किन र? मैले थपेँ ‘कस्तो किताब?’
उनले भने, ‘अरे यार कुनै नाम चलेको प्रकाशकसँग बस्नुस्, जे लेखे पनि बेचिहाल्छन् नि!
मैले अमुर्त असहमति जनाएँ। मनमनै सम्झिएँ यो कोलाहलपूर्ण सहरभन्दा घाटगङ्गाको घाट उत्कृष्ट लोकेशन थियो।
सुदूरपश्चिमको सेतीको कलकलाहटमा संघीयता घुमाउरो पारेर फन्किएझैं लाग्छ।
सेती नदीको एक प्रमुख सहायक खोलो हो, घाटगङ्गा र त्यो किनार मेरा लागि माइलस्टोन हो, कालापत्थरको ढुङ्गोभन्दा पनि। जहाँको घाटको पानी पिउँदै मैले कैयौँ रातहरू मुर्दासँग साझा गरेको समझन्छु।
व्यवस्था परिवर्तनको रागमा देशको राजनीति त्यस्तै एउटा बेवारिसे र बेमतलब घाटमा लम्पसार छ।
राष्ट्रियताको चर्को बहस काठमाडौँका रैथानेहरूले चलाइरहँदा सीमामा बस्नेहरूका ब्यथा र बाध्यता ओझेल पर्छन्। राष्ट्रियताको लडाइँमा पुँजीपति वर्गलाई नै फाइदा पुग्ने कुरा रोजा लग्जम्वर्गले उहिल्यै लेखिदिएकी छन्।
समाज परिवर्तनको एउटा लामो प्रक्रियाबाट निर्माण भएको हुन्छ। तर अपेक्षा स्वाभाविक प्रक्रिया हो।
देश यतिबेला गणतन्त्रमा जुधिरहेको मूल विषय हो यो। अनि यहाँका नागरिक सर्भाइभर हुन्।
पछिल्ला महिनाहरूमा भएका बाल सुधारगृहका घटनाका विषयले कतिलाई छुन्छ कि छुँदैन होला?
यति नै बेला म मिसेल फुकोको सामाजिक आन्दोलन स्मरण गर्छु। सन् ७० को त्यो दशक अनि सामाजिक आन्दोलन। फुकोका नजरमा जेल र सुधार एउटा अहम विषय थियो।
‘पागलपन र सभ्यता’ फुकोले संसारलाई दिएर गएको एउट बेजोड उपहार बेलाबखत खोलेर हेर्छु। सहरका साँघुरा गल्लीबाट देखिने खुल्ला आकाशमुनिका यी क्याफे अनि रेष्टुरेन्ट गज्जबका लाग्छन्।
कफीशपबाट ऊ जुरुक्क उठी। एक नजर उसले स्ट्रेलाई फर्केर हेरी।
उसले आफूले उँडाएको धुवाँको सर्को विलिन भइसकेको थियो। अनि एउटा मीठो मुस्कान छोडेर गई।
म उसलाई यो पृष्ठभूमिमा यसकारण राख्दै छु कि मानिसको स्वतन्त्रताका अघिल्तिरको अवचेतन मन र त्यसको क्षितिजमा रहेको राजनीतिक चेतना कहाँ रहन्छ भनेर खोतल्न सकूँ।
प्रत्येक मानिसमा जागृतिको झंकार एकपटक पक्कै आउँछ। यतिबेलाको समाज पूरै विकासवादीझैँ देखिन्छ। के यो नै वास्तविकता हो?
रिङगाटा छुट्ने गरी विकासको नाराले संघीयता गुञ्जायमान भइरहेको छ। विरोध र समर्थन दुवै तरिकाले। पक्ष र विपक्षको साथकै मैदानमा संघीयता पौठेजोरी खेलिरहेका छन्।
यति भनिरहँदा म इम्रे कार्तेसलाई सम्झन्छु। अनि उनको पुस्तक ‘द होलोकाष्ट एज कल्चर’ कसरी नसम्झुँला र! पूरै मानवीयतालाई अन्तरदृष्टि गराउने त्यो कृति।
म दिनहुँ मृत्युवरण गर्ने सबै आत्माको घाटलाई बिम्ब मान्दैछु। जहाँ जुन परिस्थितिबाट गुज्रिए पनि यात्राको अन्तिम र बिन्दु र अन्तिम सत्य त त्यही नै हो। तर त्यसअघि आफू र आफ्नो परिवेशको समाज पहिल्याउन सक्ने कि नसक्ने वा कता गइरहेको छ समाज भन्ने हेतुले।
बायाँ मूर्धन्य लेखक रेशम विरही अनि अघिल्तिर अर्का चर्चित व्यक्तित्व नरेन्द्रजङ्ग पिटरलाई साक्षी राख्दै छु। मेरा जिज्ञासा समाजवादी आन्दोलनमा केन्द्रित रहे।
दुवैजनाको उपस्थितिमा म मसिनो केटोका आवाजलाई पनि टेवा पुगिरहेको छ।
नेपाली समाजमा दुवैजना चिरपरिचित पात्र।
पुस्तक-प्रसङ्गका वान्कीहरूले मात दिइरहेका त्योबीच मेरो भौतिक उपस्थिति संयोग ठान्छु। अनि उनै इम्रे कार्तेसको आत्मद्रोहको सिलसिला मानसपटलमा तैरिन्छन्।
तर म कोलम्बियाका चर्चित लेखक ग्र्याबिल गर्सीया मर्खेज र चीनका लेखक मो यानलाई मानसपटलमा खोतल्छु।
फ्यान्टासी र यथार्थ लेखनमा मर्केज सिद्धहस्त थिए, त्यही मापनमा सन् १९८२ मा नोबेल पुरस्कार पाएका थिए।
चीनका मो यानलाई साहित्यको नोबेल पुरस्कार दिँदा उनको लेखनलाई ‘भ्रान्तिजनक यथार्थ’ रचनाका लागि भनेर पुरस्कार दिइएको पृष्ठभूमि सम्झन्छु।
यहाँ तुलना पक्कै गर्न खोजिएको होइन। छेवैमा रहेका लेखक रेशम विरही र नरेन्द्रजङ्ग पिटर दुवै आफ्नो लेखनशैलीमा निपूर्ण पात्रका बीचमा छु। विरही भन्नुहुन्छ ‘दारुण, कारुणिक अवस्थामा रहेको राष्ट्रवाद र अभिजातहरू सबै कुरा सहन सक्दैनन्’ यी पिटरका शब्दहरू हुन्।
अनि राष्ट्रवादको कुरा गर्दा म लेबनानमा हुर्केका खलिल जिब्रान सम्झन्छु। उनी भन्थे- यदि मेरो अस्तित्व कसैका लागि नष्ट हुने कारण हुन्छ भने मेरा लागि मृत्यु प्रिय रहनेछ।’
राष्ट्रवाद, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको आवेगमा देश अहिले घाटमा छ। घाट त संस्कृति, परम्परा, धर्म र संस्कारले तय गर्छ।
शब्दार्थहरूले मृत्युको परिभाषा भन्न सक्दैनन्।
भौतिकरुपमा विसर्जन हुने प्रक्रियामा धर्म केवल धारण होइन, त्यो त समाजले देखाएको बाटो भएर अघि बढ्छ।
यतिबेला त्यही समाज घाटमा बज्जारिएको छ। र हामी साक्षी भएर ट्वालट्वाल्ती ती मलामीजस्तै लाइन लागेर हेरिरहेका छौँ कि घाटमा को को आउँछन् भनेर।
पुछारमा पुग्दा म सम्झन चाहन्न, घाटमा रहेको देश र मलामी बनेका राष्ट्रवादीहरूका अघिल्तिर सिक्किमको विलय र बंगलादेशको उदय।
विट मार्नुअघि ती अपरिचितले उडाएको चुरोटको धुवाँझैँ यहाँ राष्ट्रवाद उडिरह्यो अनि देश घाटमा लमतन्न छ।