पोखराका दुई महिला पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’द्वारा पोखरामा क्रियाशील दुई महिला पत्रकार पुरस्कृत भएका छन्। विसं २०७९ को सो पुरस्कार पत्रकार बिनुकुमारी थापा ‘बिनु’ र विसं २०८० को बालकुमारी पौडेल ‘तारा’ लाई प्रदान गरिएको हो।

महासङ्घको सभाकक्षमा आज आयोजित पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई नगद रु २० हजार एक सय ११ राशिसहित पुरस्कारको प्रमाणपत्र प्रदान गरेका हुन्।

सो अवसरमा मन्त्री अर्यालले महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकामा खुसी व्यक्त गरे। उनले समाज रूपान्तरणको अभियानमा पत्रकारको अग्रणी भूमिका रहने उल्लेख गरेका छन्।

उनले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउने बताएका छन्। 'संसदमा पेस भएर छलफलका लागि विषयगत समितिमा गएको छ, समितिमा व्यापक छलफल र सुझाव लिएर आवश्यक परिमार्जनसहित विधेयक पास गर्छौं', उनले भने।

समारोहमा पुरस्कृत पत्रकारद्वय थापा र पौडेलले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिए। महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएबापत उनीहरूलाई पुरस्कृत गरिएको बताएकी छन्।

प्रकाशित मिति: : 2023-09-29 19:16:00

प्रतिकृया दिनुहोस्