दाबी भुक्तानीलाई सहज बनाउनुपर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग आज भएको अन्तक्रियामा उनले दाबी भुक्तानी पाइएन भनेर नागरिकको गुनासो आउने गरेको बताएका छन्। बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाउँदा बीमितहरू निराश बन्ने उनले बताएका छन्।

बीमाका सम्बन्धमा हाल पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै उनले कृषि, पशु, व्यवसाय आदिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता बताएका छन्।

बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन आग्रह गर्दै उनले सहकार्य, समन्वयका लागि सरकार प्रतिबद्ध भएको बताए।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरेका छन्। गण्डकी प्रदेशमा २७ दशमलव ४३ प्रतिशत र देशभर ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा रहेको उक्त अवसरमा जानकारी गराइयो।

नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ। कृषि तथा पशुपक्षी बीमामा सङ्घले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी शतप्रतिशत अनुदानको व्यवस्था रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2023-09-28 22:26:00

प्रतिकृया दिनुहोस्