३२ वर्षे इन्जिनियर तथा र्यापर बालेन्द्र साह (बालेन)ले जुन दिन काठमाडौँ महानगरको बागडोर सम्हाले, त्यो दिनदेखि काठमाडौँका फुटपाथबाट व्यापारीहरु लखेटिए। ‘फुटपाथ मान्छे हिँड्न बनाइएको हो, व्यापार गर्न होइन’ बालेनको भनाइ थियो।
त्यसपछि बालेनले ठुलो संख्यामा नगर प्रहरी परिचालन गरेर गरीबले बेच्न राखेका सागपातदेखि लत्ताकपडासमेत खोसे। बालेनका नगर प्रहरीहरुले फुतपाथमा मकै बेच्ने निर्धा महिलाहरुलाई लछारपछार गरे। हरियो साग बेच्न बसेका सेतै फुलेका वृद्धवृद्धाको लुगाफाटा च्यातिदिए। लुगा बेच्न बसेका महिलाहरुलाई घचेटी–घचेटी लखेटे।
बालेनको चलाएको त्यही हुन्डरीमा परेका अधिकांश मानिसहरु अहिले पनि पेट अमिलो बनाएर चिसो कोठामा च्यापिन बाध्य छन्। कति विस्तापित भए।
एक वर्ष अगाडि काठमाडौँ महानगरपालिकाले ‘डण्डा’को बलमा ‘फुटपाथ व्यापारी हटाऊ’ अभियान सुरु गर्दा ती सधैं कालो चस्मा लगाउने, लामो दाह्री पालेका बालेनको चर्काे आलोचना भएको थियो। त्यतिबेला बालेनविरुद्ध सामाजिक सञ्जालमा गालीका फोहोरा बर्साइएका थिए। निर्धाहरुले श्रापे। शक्ति र पहुँच हुनेहरुले धम्काएका पनि। तर, पनि एक शब्द नबोलेका बालेनले मध्यरातमा लेख्थे,- फुटपाथ व्यापारीको व्यवस्थापन हुन्छ। विकल्प खोजिन्छ।
तर, एक वर्षसम्म बालेन पूर्वमा टिस्टा नदिसम्म र पश्चिममा कांगडासम्म फैलिएको ‘ग्रेटर नेपाल’को नक्सा अगाडि दाह्री मुर्सादै बसिरहे। फुटपाथबाट विस्थापति भएका गरीबहरुलाई विकल्प दिनेबारे सोचनन्। बरु फुटपाथ व्यापारीहरुले घरमा थन्काएका ठेला उठाउन प्रहरी परिचालन गरे।
अनि,
बालेनलाई ‘मेयरसाप’ बनाउन पसिना बगाएका ईः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा रहेको महानगर प्रमुख बालेनको कार्यालयअघि उभिए। र, भने, ‘उचित व्यवस्थापनसहित फुटपाथ व्यापार गर्न पाउनुपर्छ।’
ईःले आफ्ना माग पूरा नभएसम्म महानगर प्रमुखको कार्यालय अगाडि उभिरहने घोषणा गरे।
आठ दिनसम्म उभिएका ईःलाई बालेनले ‘बाल’ दिएनन्। वडा अध्यक्षको नेतृत्वमा समिति बनाएर वार्ता गर्न लगाए।
वार्तामा फुटपाथ व्यवस्थापनको विकल्पबारे धेरै भन्दा धेरै सोचियो। तर, दुवै पक्षलाई चित्त बुझ्ने विकल्प भेटिएन्।
चरण–चरणमा छलफल हुँदा पनि दुवै पक्षलाई चित्त बुझ्ने विकल्प तयार भएन।
अडिग बालेनले बुधबार दिउँसो एउटा पत्रमार्फत् ईःका समस्या समाधान गर्ने अधिकार मसँग छैन भने। अनि हच्किए ईः। बुधबार राति नै चार बुँदे सहमति पत्रमा हस्ताक्षर गरे। र, हतार–हतार राति ९ बजे पत्रकार सम्मलेन गरेर अन्दोलन स्थगित गरे।
उक्त चार बुँदे सहमति पत्रमा त्यस्तो विशेष केही पनि छैन। अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने भनिएको छ।
त्यो समितिको अध्ययन पश्चत आवश्यकता र उचित व्यवस्थापन भएको खण्डमा काठमाडौँ महानगरमा फेरि फुटपाथ व्यापार गर्न पाइने छ।
काठमाडौँमा यति भइरहँदा मलाई काठमाडौँको छेउमा बागमती नदि पारि रहेको ललितपुर महानगरपालिकाको फुटपाथ व्यवस्थापनको चर्चा गर्न मन लाग्यो।
ललितपुरमा पनि काठमाडौँमा जस्तै बस्तीहरु छन्। सडक, बजार सबै काठमाडौँका जस्तै छन्। तर, ललितपुर काठमाडौँभन्दा सभ्य र शान्त छ।
ललितपुर महानगरमा पनि काठमाडौँमा जस्तै फुटपाथ व्यापारीले समस्या सिर्जना गरेका थिए। तर, त्यहाँका मेयर चिरीबाबु महर्जनले त्यो समस्या सरल तरिकाले समाधान गरे।
ललितपुरको लगनखेलदेखि मंगलबजार (करिब ७ सय ८८ मिटरको दूरी)को फुटपाथमा व्यापार गर्न पाइन्छ। त्यससँगै ललितपुर महानगरपालिकाले उपयुक्त चोकहरुमा पनि व्यापार गर्ने व्यवस्था मिलाएको छ।
त्यसको लागि निश्चित समय छुट्याइएको छ। ‘बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि फुटपाथ व्यापार गर्न पाइन्छ,’ ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बिएल नेपाली सेवासँग भने।
मंगलबजार ललितपुर र भक्तपुरका किसानहरुको उत्पादन मानिसका चुलाेसम्म पर्याउने थलो हो। जुन, त्यहाँका नेवार समुदायको संस्कृतिसँग प्रत्यक्ष रुपमा जोडिएको छ। विगतदेखि नै ललितपुर र भक्तपुरका नेवार समुदायहरुले यहाँ समान बेच्ने गर्थे। यहीँबाट नेवार समुदायको व्यापारिक परम्पराको सुरुवात हुन्छ।
ललितपुर महानगरले यो क्षेत्रलाई अहिले फुटपाथ बजारको रुपमा व्यवस्थित गरेको छ।
ललितपुर महानगरले यहाँको फुटपाथ व्यापारलाई व्यवस्थित गर्नाले विशेषगरी किसान र नगरबासीलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ। ‘यहाँ ले–ले, गोदावरी, भक्तपुरलगायतबाट किसानहरु तरकारी बेच्न आउनुहुन्छ। आमा–बुबाहरु सिधा यहाँ आएर सामान बेच्नुहुन्छ। त्यसले गर्दा बिचमा दलाली हुँदैन,’ हाछेथुले भने, ‘यसरी उहाँहरुले डाइरेक्ट पैसा पाउनुहुने भयो। सस्तोमा राम्रो र ताजा तरकारी किन्दा यहाँ बासिन्दाहरुलाई पनि फाइदा हुने भयो।’
‘हाम्रा नगरबासीलाई एकमुठा साग किन्न कालीमाटी पुग्नुपर्ने अवस्था छैन, आफ्नै दैलोमा पाइन्छ,’ उनले थपे।
त्यहाँको फुटपाथले नेवार समुदायको व्यापारिक परम्परालाई मात्रै झल्काउँदैन। साना किसानलाई बिचौलियाबाट बच्ने विकल्पमात्र दिँदैन, त्यहाँका मध्यम परिवारलाई बाच्ने साहार पनि दिएको छ।
ठुला–ठुला पसल तथा मलहरुमा त्यहाँको भाडाको कारण नै सामानको मूल्य उच्च हुन्छ। काठमाडौँ उपत्यकामा ठुला व्यापारीहरुले मासिक एकदेखि तीन लाखसम्म भाडा तिरेर व्यापार गरेका छन्। उनीहरुकाे सामानकाे मूल्य त्यहीअनुसार निर्धाण हुन्छ। र, त्यसको प्रत्यक्ष मारमा आम जनता परेका छन्।
ती महङ्गा पसल र महलमा पहुँच राख्न नसक्ने मध्यम वर्गीय मानिसहरुको लागि मंगलबजारको फुटपाथ अत्यन्त प्रभावकारी बनेको छ। ‘अन्य ठाउँमा वा मलमा गयो भने एउटा सर्टको २–३ हजार भन्छन्। महलमा जानुभयो भने एउटा पाइन्टको ५ हजार भन्छ। तर, हाम्रो लगनखेलमा आउनुहोस्, तपाईं एउटा सय रुपैयाँको २ वटा टि–सर्ट पाउँछ। एउटा पाइन्ट २ सय रुपैयाँमा पाउँछ। एउटा जुत्ता ३–४ सयमा पाउँछ। भनेको ५–६ सय भयो भने भने एउटा जिउभरि लगाउन पुग्ने कपडा आउँछ,’ हाछेथुले भने।
मध्यम बर्गीय परिवारको लागि लक्षित गरेर नै यहाँको फुटपाथ व्यापार खुला र व्यवस्थित गरिएको उनको भनाइ छ। ‘यो ठाउँलाई हामीले मध्यमस्तरको मानिसले किन्नलाई व्यवस्थित गरेको हो,’ हाछेथुले भने, ‘हामीले हटायो भने त त्यो मानिसले कहाँ किन्ने त? लविङ मलमा किन्न सक्दैन, कुमारी पार्टीमा किन्न सक्दैन। भनेपछि किन्न आउनेलाई पनि सहयोग होस्। बेच्नेलाई पनि थोरै भएपनि फाइदा हुन्छ, उसले पेट पाल्न सकोस्।’
यो सँगै मंगलबजारको फुटपाथ व्यापारले पर्यटनलाई पनि सघाएको उनको भनाइ छ।
काठमाडौँमा पनि यस्ता महत्वपूर्ण र संस्कृतिक फुटपाथस्थलहरु छन्। ती स्थलहरुलाई व्यवस्थित बनाइयो भने अवश्य पनि सबैलाई फाइदा हुनेछ।