भारतबाट ‘मुर्रा राँगा’ ल्याउँदै, चीनतिर ‘राँगा–भैंसी’को मासु पठाउँदै

चीनले नेपालबाट राँगा–भैंसीको मासु आयातका लागि स्वीकृति प्रक्रिया थाल्दैछ। अब नेपालले चीनमा वैधानिक बाटोबाटै राँगा–भैंसीको मासु निर्यात गर्न सक्नेछ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको प्रतिनिधि टोलीबीच मंगलबार भएको संयुक्त छलफलपछि यस्ता धेरै व्यापारिक सहमति र समझदारी भएका छन्। तीमध्ये एउटा नेपालबाट राँगा–भैंसीकाे मासु चीन पठाउने पनि हो।

यसअघि चीनले आधिकारिक रुपमा स्वीकृति नदिए पनि चोरबाटो हुँदै नेपाली राँगा–भैंसीको मासु चीनमा पुगिरहेको थियो।

कुनैबेला चिनियाँ व्यवसायीहरूले नेपालकाे तराई भेगमा राँगा–भैंसीको मासु प्रशोधन गर्न कारखाना नै खोलेका थिए। स्थानीयको विरोधपछि ती कारखानाहरू बन्द भए।

भारतले सहयोगस्वरूप दिने भनेको मुर्रा जातका राँगाहरू चाँडै नेपाल आइपुग्ने नेपाली अधिकारीहरूले बताएका छन्।

यसअघि प्रधानमन्त्रीले भारत भ्रमणकाे क्रममा सहयोगस्वरूप १५ वटा मुर्रा जातका राँगाहरू दिने जनाएका थिए। ती राँगा नेपाल ल्याउनुअघि प्राविधिकलाई भारत पठाउने तयारी भइरहेको छ।

भारतले दिने घोषणा गरेको मुर्रा जातिको राँगा र चीन पठाउने राँगा–भैंसीको मासुले यतिबेला चर्चा पाइरहेकाे छ।

एक तथ्याङ्कअनुसार नेपालबाट वार्षिक करिब १ लाख ४५ हजार किलोभन्दा धेरै राँगा–भैंसीको मासु चीनमा निर्यात हुन्छ। अरु देशको तुलनामा नेपालको मासु चीनमा सिधैँ लैजाँदा सस्तो पर्छ।

प्रकाशित मिति: : 2023-09-26 19:24:00

प्रतिकृया दिनुहोस्