सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध डेमोस्ट्रेसन (नमुना)स्वरुप एचपिभी (हृयुमन प्यापुलोना भाइरस) खोप अभियान सुरु गरेको १३ दिन भयो। याे अभियान १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरूलाई लक्षित गरेर सुरु गरिएको थियो।
१४ वर्ष नाघेका १५ वर्ष नपुगेका साढे तीन लाख किशोरीहरू रहेपनि ९ हजार ९ सय ९९ लाई मात्रै खोप दिने लक्ष्य सरकारकाे थियाे। जसको लागि सरकारले चीनबाट २० हजार डोज खोप ल्याएको थियाे। पाठेघरको क्यान्सर तथा यौनाङ्गसम्बन्धी हुने रोगहरू रोक्नका लागि यो खोप ६ महिनाको अन्तरालमा दुई पटक लगाउनुपर्छ।
सुरुमा साे उमेर समूहका कुल किशोरीहरूमध्ये तीन प्रतिशतलाई पनि नपुग्ने खोप किन ल्याएको? भनेर सरकारको आलोचना भएको थियो। तर, सरकारले त्यही थोरै परिमाणको खोप पनि प्रभावकारी रुपमा वितरण गर्न सकेन।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत भदौ २७ गतेदेखि देशभरका प्रदेशस्तरीय अस्पतालबाट अभियान सुरु भएको थियो। कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एचपिभी खोप वितरण सुरु भएको थियो।
जसअन्तर्गत सरकारले कोशी अस्पताललाई २ हजार २५, नारायणी अस्पताललाई १ हजार ५ सय ८५, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ३ हजार २९, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ९ सय २०, भेरी अस्पताललाई १ हजार २ सय १५, कर्णाली प्रादेशिक अस्पतलालाई ८ सय ४० र डडेलधुरा अस्पताललाई ३ सय ८५ डोज खोप उपलब्ध गराएको थियो।
सुरुको योजनाअनुसार उक्त परिमाणको खोप सबै अस्पतालहरूले भदौ ३० गतेभित्र लगाइसक्नुपर्ने थियो। तर, उक्त अवधिमा खोप लगाउन किशोरीहरू अस्पताल नआएनन्। त्यसपछि सरकारले अभियानको समय थप गरेर असोज ५ गतेसम्म पुर्यो। त्यो अवधिमा पनि अस्पतालमा उपलब्ध खोप लगाउन किशोरीहरू नआएपछि सरकारले समय थप गरेर असोज १० सम्म पुर्याएको छ।
सरकारले एचपिभी खोप अभियान पहिलोपटक सुरु गरेको होइन। यसअघि सरकारले सन् २०१६/०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। यसअघि पनि सफलतापूर्वक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गरेको सरकारले यसपटक पनि उत्साहजनक रुपमा अभियान प्रारम्भ गरेको थियो।
सरकारले विभिन्न माध्यमबाट खोप अभियानको प्रचार गरेको थियो। अभियानमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आफैँ पनि सक्रिय थिए। तर, सरकारले सुरुवाती दिनमा जुन हिसाबले खोप अभियान सञ्चालन गरेको थियो, त्यहीअनुसार किशोरीहरू अस्पतालसम्म पुगेनन्।
सरकारले तीन दिनभित्र वितरण गरिसक्नुपर्ने गरी प्रदेशस्तरीय अस्पताललाई उपलब्ध गराएको खोपको करिब आधा परिमाण अस्पतालमा नै स्टोर भएको छ।
कोशी अस्पताललाई उपलब्ध गराइएको २ हजार २५ डोज खोपमध्ये १ हजार १२ डोजमात्र लगाइएको छ। मधेस प्रदेशको नारायणी अस्पतालाई उपलब्ध गराइएको १ हजार ५ सय ८५ डोज खोपमध्ये १ सय ८७ डोजमात्र दिइएको छ।
सबैभन्दा धेरै ३ हजार २० डोज खोप उपलब्ध गराइएको बागमती प्रदेशअन्तर्गत काठमडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६ सय ३६ डोजमात्र लगाएको छ।
त्यस्तै गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानले ९ सय २० मध्ये ४ सय १२, लुम्बिनी प्रदेशअन्तर्गत भेरी अस्पतालले १ हजार २ सय १५ मध्ये १ सय २२, कर्णाली प्रदेशअन्तर्गत कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतले ८ सय ४० मध्ये ३ सय २९ र सुदूपश्चिम प्रदेशअन्तर्गत डडेलधुरा अस्पतालले ३ सय ८५ मध्ये १ सय ८३ डोज खोप किशोरीहरूलाई लगाएको छ।
खोप लगाउन किन गएनन् किशोरीहरू?
अस्पतालले प्रदेशभरिका किशोरीहरूको लागि सहर केन्द्रित एउटामात्र अस्पतालबाट खोप वितरण गरेको थियो। खोप कम भएकोले सबैलाई पुर्याउन नसकिने भएपछि सरकारले तीन दिनमात्र समय तोकेर सीमित अस्पतालबाट खोप वितरण गर्ने योजना बनाएको थियो। तर, सीमित अस्पतालसम्म पनि किशोरीहरू पुगेनन्।
अभियान सुरु गरेको समय अवधिमा विभिन्न शीर्षका बिदाहरूले परेकोले नियमित खोप वितरण गर्न नपाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतम बताउँछन्।
नेपालभर हालसम्म पाँच हजार बढीलाई खोप लगाइसकेको दाबी गर्दै डा.गौतमले भने, ‘अहिले धेरै विद्यार्थीहरू विद्यालयमा छन्। भने, उनका बा–आमाहरू पनि काममा व्यस्त भएको कारण समयमै खोप लगाउन पाएनन्।’
पाठेघरको मुखकाे क्यान्सरविरुद्धको खोप लगाउन किशोरीहरू अस्पतालसम्म नपुग्नुमा मुख्य कारण बिदा र व्यस्तता भएको गौतमको भनाइ छ।
कोशी अस्पतालकी अधिकृत इन्दिरा यादव पनि भदौ महिनामा धेरै बिदाहरू परेको कारण किशोरीहरूले खोप लगाउन नपाएको जवाफ दिन्छिन्। ‘यो बिचमा धेरै सार्वजनिक बिदाहरू भए। किशोरीहरू तीजको रमझममा भुले। त्यही भएर अस्पतालसम्म पुगेनन्,’ यादबले भनिन्।
३ सय ८५ मध्ये १ सय ८५ खोप लगाएको डडेलधुरा अस्पतालका अध्यक्ष करुणाकार ओझा शिक्षकको आन्दोलनलाई मुख्य कारण मान्छन्। ‘शिक्षकको आन्दोलनले विद्यालय ठप्प भयो। बा–आमा आन्दोलनमा काठमाडौँतर्फ लागेपछि खोपतिर ध्यान नै नगएको हुन सक्छ,’ उनले भने।
सरकारले तीन दिनभित्र खोप लगाइसक्ने लक्ष्यसहित सुरु गरेको अभियान १५ दिनसम्म लम्ब्यायो। अभियानको आज १३औँ दिनसम्म आइपुग्दा ६ दिन बिदा भयो। यसबीचमा दुई वटा शनिबार परे। राष्ट्रियसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति सरकारले भदौ २८ गते सर्वजनिक बिदा दिएको थियो।
भदौ २९ गते बाल दिवसको दिन सार्वजिक बिदा थियो।
त्यस्तै भदौ ३१ गते चिकित्सकहरूको आन्दोलनको कारण देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवाहरू बन्द थिए।
असोज १ गते तीज थियो। यद्यपि, त्यसदिन सरकारी बिदा थिएन।
त्यसैगरी असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको थियो।
जनचेतनाको कमी र त्रासको कारणले पनि किशोरीहरू अस्पताल नपुगेको हुन सक्ने अस्पतालहरूको भनाइ छ।
एचपिभी खोपले के गर्छ?
एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ। एचपिभी भाइरसविरुद्धको खोप भएकाले भाइरस शरीरमा छिर्नुभन्दा अगाडि लगाएमा मात्रै प्रभावकारी हुने गर्छ।
यसले महिलाहरूको पाठेघरको मुखमा क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सरसमेत गराउन सक्दछ।
यस्ता रोगहरू सुरुको अवस्था धेरैजसोमा लक्षण र चिन्हहरू देखिँदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ। पछि गएर तल्लो पेट दुख्ने अनियमित रुपले रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने रक्त अल्पताजस्ता लक्षणहरू देखिन्छन्।
किन लगाउने खोप?
नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख बनेको छ।
२०२२ को तथ्याङ्कअनुसार त्यस समयमा २ हजार २४४ महिलामा पाठेघरको मुखमा क्यान्सर लागेको पुष्टि भएको थियो। ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको क्यान्सरका कारण विश्वभर बर्सेनि ३ लाख महिलाको मृत्यु हुने गर्छ।
एक अध्ययनकाअनुसार एचपिभी खोपले ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिमलाई घटाउँछ।
शरीरमा भाइरस आउनुभन्दा अघि खोप लगाइने उमेर १४ वर्षदेखि १५ वर्ष तोकिएको छ। शारीरिक सम्पर्क हुनुभन्दा अगाडि नै यो खोप लगाउँदा उपयुक्ता हुन्छ।
नेपालमा ८० प्रतिशत पाठेघर मुखको क्यान्सर एचपिभी प्रजाती १६ र १८ वर्षको उमेरबाट भएको देखिन्छ भने पुरुषभन्दा महिलामा बढी देखिन्छ।