कर्णालीको सम्पन्नतालाई भाषणमा विलय गरियो: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले यहाँको सम्पन्नतालाई भाषणमा विलय गरिएको बताएका छन्।

नेपाल सरकार, जलस्रोत तथा ऊर्जा आयोगको सचिवालय काठमाडौँद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘नदी बेसिन योजना, जलविद्युत् विकास गुरुयोजना तथा रणनीतिक वातावरण र सामाजिक मूल्याङ्कनसम्बन्धी प्रदेशस्तरीय परामर्श गोष्ठी’मा मुख्यमन्त्री शर्माले प्राकृतिक स्रोतले भरिपूर्ण कर्णालीलाई मीठा भाषणभित्र हराउने अवस्थामा परिणत गरिएको जिकिर गरे।

उनले भने, ‘यहाँको जल, जङ्गल, जडीबुटी र पर्याप्त भूगोलमा के छैन र? सेतो डलर नदीमा बगिरहेको छ। माटोमा गाडिएको छ। अजङ्गको पहाडमा खाँदिएको छ। बुकी पाटनमा सजिएको छ। कञ्चन तालमा डुबेको छ। तसर्थ मीठा भाषणमा लट्ठ्याइएको र प्रक्रियामुखी विकासमा हराउँदै आएको कर्णालीको समृद्धि हुने कुरै भएन।’ उनले कुनै एउटा निर्णय आफूकहाँ आइपुग्दा १६ वटा टेबल घुमेर आउने प्रक्रिया देख्दा उदेक लागेको जनाउँदै मौजुदा संरचनाहरु कामयाबी नभएको बताए।

जलमाफिया, भूमिमाफिया र ठेकेदारहरुको कब्जामा मुलुक परेको आरोप लगाएका मुख्यमन्त्री शर्माले कर्णालीलाई कर्णालीकै स्वरुपमा चित्रण गर्न गर्ने गरी गुरुयोजना र प्रतिवेदन ल्याउन आयोगको सचिवालयलाई आग्रह गरे। जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले कर्णालीमा १८ देखि २२ हजार जलविद्युत् सम्भावना भनिए पनि अहिलेसम्म आठ मेगावाट मात्र विद्युत् उत्पादन भएको बताए। उनले कर्णालीमा ठूला नदीहरु भए पनि नदी बेसिनका टारहरुमा खानेपानी नहुँदा बस्तीहरु काकाकुल भएको र खेतीयोग्य जमीन हुँदा पनि सिँचाइ हुन नसकेर रुखो जमिनमा परिणत भएको जनाए।

प्रकाशित मिति: : 2023-09-24 21:33:00

प्रतिकृया दिनुहोस्