राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अरू दलका नेताजस्तो खालि रोल्पा आउने, जाने मात्रै गरेनन्।
रोल्पा पुगेर उनले, रोल्पाको विकासमा कायापलट गर्छु वा समृद्धि ल्याउँछु अनि सुशासन कायम गर्छु, भनेर गफ दिएनन्।
नातावाद, कृपावाद, गुट उपगुट अन्त्य गर्छुमात्रै पनि भनेनन्। भ्रष्ट्राचार शून्यमा झार्छु वा समाजवादमा पुग्ने लक्ष्य पूरा गर्छु भनेर चिच्याएनन्।
रोल्पालाई राजधानी बनाउँछु भनेर कसैलाई गफ दिएनन्। राजधानीको केन्द्र थबाङ हुन्छ अनि देशलाई त झन् स्विट्जरल्याण्डजस्तै बनाउँछु भनेर खोक्रा आश्वासन कतै बाँडेनन्।
त्यत्ति मात्र होईन, ‘प्रचण्डले क्रान्तिलाई धोका दिए। अब एकीकृत क्रान्ति मेरै नेतृत्वमा सम्पन्न गर्छु। बन्दुकको नालबाट मात्र राज्यसत्ताको जन्म हुन्छ। प्रचण्डभन्दा ठूला क्रान्तिकारी म नै हुन्छु’ भन्ने हुँकार त झन गर्दै गरेनन्।
बरू यस्ता गफ हाँक्ने नेताहरूलाई उनले रोल्पाली भूमिबाट गतिलो पाठ दिएका छन्।
रबिले सुनेका राेल्पाली आवाज
रास्वपा सभापति रवि लामिछाने ‘जन आवाज’ सुन्ने पार्टीको केन्द्रीय नीतिअनुसार रोल्पा आए। उनले असोज २ देखि ५ गतेसम्म जनताको घरदैलोमै गएर उनीहरूको प्रशस्त आवाज सुने। उनलाई सुनाइएका केही आवाजहरूले धेरैको मन छोयो। तर मन छुनुपर्ने दलका नेता तथा कार्यकर्ताको मन छोयो–छोएन, त्यो हेर्न भने बाँकी नै छ।
माओवादी उद्गम स्थलको रुपमा चिनिने थबाङ पुगेर उनले १० वर्षे सशस्त्र विद्रोहमा ज्यान गुमाएका तेजमान घर्तीमगर ‘दीर्घ’ की छोरीको आवाज सुने। तेजमानकी छोरी रामपाखीले रविसँग रुँदै भनिन्, ‘हाम्रो देश बेचिनबाट जोगाइदिनुस्। उहाँहरू (नेताहरू) ले बिर्सिसक्नुभो। सुन काण्डमै झुण्डिनु भाको छ।’
रविले रामपाखीको आवाज सुन्ने मात्रै गरेनन्। उनले आफ्नो आवाज पनि सुनाए, ‘ब्यालेट बक्सको माध्यमबाट नेतृत्वलाई खबरदारी गरी रहनुपर्छ। राजनीतिक रुपमा सचेत हुनुपर्छ।’ रविले थबाङकै पुराना कम्युनिष्ट नेता बर्मन बुढामगरका छोरा गणेशलाई पनि भेटे। भेटमा गणेशले रविलाई भने, ‘कसैले केही वास्ता गर्दैनन्। जनयुद्धको देन माओवादीहरूले बिर्सिसके।’
२०५२ साल फागुन १ गते माओवादीले होलेरीस्थित प्रहरी चौकी आक्रमण गरी सशस्त्र विद्रोहको सुरुवात गरे। जन आवाज सुन्ने क्रममा रवि होलेरी पनि पुगे। यहाँ उनले माओवादी सशस्त्र विद्रोहबाट एकल हुन पुगेकी महिलाको आवाज सुने। उनले रविलाई रुँदै सुनाइन्, ‘बस्ने झुपडी छैन, मेरो बच्चाको पढ्ने इच्छा छ। मेरो मुखमा सीता (खाना) जान पनि गाह्रो छ।’
रोल्पाका जनताले सुनाएका यी प्रतिनिधिमूलक आवाज हुन्। यी आवाजहरू सुन्दा र हेर्दा के भन्न सकिन्छ भने जनता नेताहरूलाई आफ्ना आवाज सुनाउन र नेताका आवाज सुन्न आतुर छन्। नेताहरूले चुनाव जित्न सार्वजनिक गरेका घोषणापत्र कति कार्यान्वयन भए? कति वाचापत्र कार्यान्यन भएनन्? विगतमा रोल्पालाई के सपना देखाइएको थियो? त्यो किन पूरा हुन सकेन? के ती भन्नलाई मात्र भनिएका थिए? जनता र नेताको सम्बन्ध किन जनता-नेताको जस्तो हुन सकेन? पार्टीहरू किन गुट-उपगुट, नातावाद-कृपावादमा सीमित भए?
वास्तवमा रोल्पाका जनता त्यो सुन्न चाहन्छन्। तर राजनीतिक दलका ठूला नेताहरू जनताको घरदैलोसम्म पुग्नै सकेका छैनन्। जनताको घरदैलोमा पुगेर जनताका आवाज सुन्न ढिलाइ भइसक्यो भन्ने स्पष्ट सन्देश रवि लामिछानेले प्रष्ट रुपमा राजनीतिक दलका नेतृत्वलाई दिएका छन्।
के अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका राजनीतिक दलका नेतृत्व रास्वपाका सभापति रवि लामिछानेझैँ रोल्पाका बस्ती-बस्तीमा पुगेर जनताका आवाज सुन्लान्? के यी दलका नेता तथा कार्यकर्ताले आफ्ना नेतृत्वलाई रोल्पाका बस्तीहरूमा रविझैँ चार दिनसम्म घुमाउने हैसियत राख्लान्? प्रश्नहरू अनुत्तरित छन् र रहिरहने छन्।
अहिलेलाई यत्तिसम्म भन्न सकिन्छ, राजनीतिक दलका शीर्ष नेतृत्वमा रविको रोल्पा आगमनले एक खालको दबाब र तरङ्ग चाहिँ पक्कै सिर्जना गरेको छ। राजनीतिक दलका शीर्ष नेतृत्व मात्र होइन, तिनका स्थानीय नेता तथा कार्यकर्तामा पनि यस खालको दबाब र तरङ्ग चाहिँ पक्कै पर्न गएको छ।
रविकै शैलीमा आफ्ना शीर्ष नेतृत्वलाई सीमित स्थानीय नेता तथा कार्यकर्ताले गाउँ उतार्न पक्कै दबाब दिने केही आँकलन गर्न सकिन्छ। रविको रोल्पा आगमनले ठूला दलका ठूला नेतालाई केही सोच्न बाध्य भने अवश्य बनाएको छ। ‘जनताका आवाज सुन्न पछि पर्यौँ’ भन्ने अनुभूति गराउन बाध्य बनाएको छ। चुनावका बेला मात्र गाउँ जाने र पूरा गर्नै नसकिने आश्वासन बाँड्ने परम्परामा पुर्नविचार गर्न गतिलो दबाब दिएको छ।
प्रशंसासँगै आलोचना
रवि रोल्पा आउने खबर सार्वजनिक भइरहँदा रोल्पाका काँग्रेस, एमाले, माओवादीका कार्यकर्ताले आफ्नो नेतृत्वको चर्को आलोचना गर्ने अनुमान गरेका थिए। पार्टीका केन्द्रीय नेताहरूमा पनि यस्तै खालको आँकलन थियो। तर उनले यी दलको प्रशंसा बढी र आलोचना कम गरे। उनले राम्रा कामको खुलेर प्रशंसा गर्नुपर्ने बताए। त्यस्तै गलत कामको खुलेर सबैले विरोध गर्नुपर्नेमा जोड दिए।
कुनै दलमा आवद्ध भएकै आधारमा आफ्ना कार्यकर्ता र समर्थकको हरेक ठाउँमा बचाउ गर्ने घिनलाग्दो प्रवृत्तिको घनखोर विरोध गर्नुपर्छ भन्ने मान्यतामा जोड दिए। ‘आफ्ना जतिसुकै गल्ती गरे पनि ठीक, अरुका राम्रा काम पनि बेठीक’ भन्ने प्रवृत्ति नेपाली राजनीतिमा बढ्दो छ। रोल्पा पनि नेपाली राजनीतिमा मौलाउँदो यो प्रवृत्तिबाट अछुतो छैन। नेपाली राजनीतिलाई सही मार्गमा हिँडाउने हो भने यस खाले प्रवृत्तिको अन्त्य गर्न सबै राजनीतिक दलले समयमै सोच्नु पर्छ। जनताका साझा मुद्दामा यो वा त्यो नभनीकन सहकार्य गर्नुपर्छ।
‘आफ्ना जति सबै ठीक, अरुका जति सबै बेठीक’ भन्ने प्रवृत्ति मात्रै अन्त्य गर्न सकियो भने पनि नेपाली राजनीतिमा धेरै चीज सुधार हुन्छ। जनताले परिवर्तनको अनुभूति गर्न सक्ने प्रशस्त सम्भावना हुन्छ। जनताले समृद्धि र सुशासनको अनुभूति गर्न पाउँछन्। के राजनीतिक दलका नेता र तिनका कार्यकर्ता यत्ति काम गर्न तयार छन् त? उनीहरूको भनाई र गराइ हेर्दा तयार छैनन् भन्ने नै देखिन्छ। तर रविको रोल्पा भ्रमणले यो प्रवृत्तिमा सुधार हुनुपर्छ भन्ने सन्देश दिएको छ।
एमसीसी ऐतिहासिक भुल
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा रास्वपा छ भन्ने गलत सन्देश रोल्पामा घोकाइएको थियो। यत्तिसम्म कि ‘रास्वपाले एमसीसीको बचाउ गर्छ। रवि लामिछाने एमसीसीका दलाल हुन्’ भन्ने भाष्य माओवादीका केही नेता तथा कार्यकर्ताले फैलाएका थिए। उनीहरू ‘एमसीसीको प्रचार गर्नकै लागि रवि रोल्पा आउँदैछन्’ भन्नेसम्मको गलत प्रचार गर्दै आएका थिए। यस खाले कोकोहोलो मच्चाउने क्रममा कतिले सामाजिक सञ्जाल र आम सञ्चारको दुरुपयोगसम्म गर्न भ्याए।
तर रविले आफू सञ्चारकर्मी हुँदादेखि नै एमसीसीको विपक्षमा रहेको प्रष्टीकरण दिए। उनले ‘एमसीसी ऐतिहासिक भुल थियो’ भनेर आफ्नो दस्तावेजमा लेख्ने दल रास्वपा हो भनेर माओवादी कार्यकर्ताहरूलाई सम्झाए। रास्वपाको दस्तावेजमा गएर पढ्न अनुरोध गरे। कुनै पनि विषयमा टिप्पणी गर्नुभन्दा पहिले प्रर्याप्त अध्ययन गर्न सिकाए। तथ्यमा आधारित रहेर तर्क गर्न गतिलो पाठ पढाए।
‘एउटा विकास आयोजनालाई संसदमा लगेर पास गर्नु नै गलत थियो। एमसीसी संसद बाहिर आफ्ना कार्यकर्ताले पास गर्नु हुँदैन भनेर नारा लगाउँदा भित्र सही गरेर पास गर्ने काँग्रेस, एमाले, माओवादी नै थिए। तपाईंहरूले त्यो बिर्सिनुभो? मेरो दल त स्थापना भएको एक वर्ष मात्र त भयो। हामी आउनुभन्दा अघि नै एमसीसी आइसकेको थियो। अनि मलाई एमसीसीको दलाल भन्ने? यहाँको सहीद मार्ग नबनाउने दलाल हो।’ रविले माओवादी कार्यकर्ता र जनताहरूलाई कान सुन्ने गरी, आखाँ देख्ने गरी प्रष्ट रुपमा भन्न भ्याए।
अब माओवादी कार्यकर्ताले फेरि पनि रवि र उनको पार्टी रास्वपालाई एमसीसीकै पक्षमा उभ्याउलान्? त्यो हेर्न बाँकी नै छ। अब पनि एउटा व्यक्ति अमेरिका बसेर फर्केकै आधारमा एमसीसीको दलाल भन्न थाले भने माओवादी नेता तथा कार्यकर्तामा केही समस्या छ भन्ने प्रष्ट रुपमा बुझ्नुपर्छ। अचेल माओवादी नेताकै छोरा, कार्यकर्ता र समर्थक अवैध बाटोबाट अमेरिका छिरिरहेका छन्।
अमेरिका पुगेर ‘नेपालमा कम्युनिष्टको सरकार छ। हामी कम्युनिष्ट होइनौँ। हामीलाई अमेरिकामा शरण दिनु पर्यो’ भनेर निवेदन हाल्नेहरूको कमी छैन। अवैध बाटोबाट अमेरिका जानेहरूले त्यहाँ पुगेपछि गर्ने नै यही हो। यो एमसीसीको घनघोर विरोध गर्ने माओवादी नेता, कार्यकर्ता र तिनका समर्थकले सोच्नुपर्ने, आफूलाई सच्चाउनु पर्ने विषय होइन र?
यति मात्र होइन, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई माओवादीकै सिफारिसमा पुनः पदबहाली गरिएको हो। घिसिङ त ‘एमसीसीले बनाउन लागेको प्रसारण लाइन बनाउनुपर्छ’ भन्ने पक्षमा छन्। उनी एमसीसीको वार्ड सदस्य पनि हुन्। के एमसीसीको विरोधमा कुर्लनेहरूसँग कुलमानलाई एमसीसीको दलाल भन्ने हैसियत छ? एमसीसी पास गर्न ह्विप लगाउनेहरू त काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू नै हुन्। यिनीहरूलाई एमसीसीको दलाल भन्न किन नसकेको? यी नेताहरू रोल्पा आए भने प्रवेश निषेध भन्न मिल्छ?
अराजकता होइन, विधिमा बस
हालै सर्वोच्च अदालतले हरेक नेपालीलाई नेपालको संविधान बाँड्न आदेश दियो। नेपाली जनतालाई पुष्पकमल दाहाल प्रचण्डले कहिलेसम्म संविधान बाँड्ने हुन्, त्यो हेर्न बाँकी नै छ। प्रचण्डले अदालतको आदेशको सम्मान गर्दै संविधान बाँड्ने नै हुन् भने पहिला रोल्पा, रुकुममा बाँडुन्। त्यसमा पनि प्रचण्डले विप्लव र उनका केही अराजक कार्यकर्तालाई पहिला बाँड्न प्राथमिकता देऊन्। यस खालको कार्यले अब अराजकता होइन, विधिमा बस भन्ने गतिलो सन्देश दिने छ।
रविको रोल्पा भ्रमणलाई रोक लगाउनुपर्छ भन्नेहरू पनि देखिए। विगतमा राजाहरूले जारी गरेको संविधानमा पनि कुनै नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाउनुपर्छ भन्ने व्यवस्था थिएन। नेपालको संविधानमा त झन यस्तो बेतुकको परिकल्पनासम्म गरिएको छैन। बरु नेपालको संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ।
अब भ्रमणमा रोक लगाउने कुरा गर्नेहरूले भन्न सक्नुपर्छ, ‘हामी नेपालको संविधान मान्दैनौँ। हामी विगतमा राजा जस्तै नेपालको संविधानभन्दा माथि छौँ। नेपालको संविधानले नागरिकले पालना गर्नुपर्ने कर्तव्यको पनि व्यवस्था गरेको छ। त्यो न्यूनतम कर्तव्य पनि पुरा गर्दैनौँ। हामी कानुनी शासनमा विश्वास गर्दैनौँ। हामी लोकतन्त्रमा विश्वास गर्दैनौँ। हामी गणतन्त्र नेपालका स्वघोषित छोटे राजाहरू हौँ।’ के यो भन्ने र दाबी गर्ने कानुनी हैसियत र छुट कसैलाई छ त?
इतिहासको सम्मान गर
धेरैलाई लागेको थियो, रोल्पा आएर रविले माओवादीको खोइरो खन्ने छ। माओवादीहरूको मानमर्दन गर्ने छ। तर रोल्पामा रविले त्यसो गरेनन्। बरु उनले भने, ‘परिवर्तनका लागि लडेका नेताहरूको नियतमा के थियो। त्यो खुल्दै जाला। मुलुकको परिवर्तनको लागि आहुति दिएकाहरूप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु।’
उनले थबाङ जनयुद्धको इपिसेन्टर रहेको बताए। उनले इतिहासको सम्मान गर्नुपर्नेमा जोड दिए। थबाङमा सहीदको सम्मानमा बनाइएका प्रतिकहरूको अवलोकन गरे। उनले रोल्पाको थबाङ र त्रिवेणी गापामा रहेको जनयुद्ध संग्राहलयको पनि अवलोकन गरे। संग्राहलयको थप विकासका लागि सल्लाह, सुझाव दिए। उनले इतिहासको सम्मान गर्नुपर्छ भन्ने गतिलो पाठ सिकाएनन् त।
पार्टीको दास होइन, सच्चा जनता बन
रविले रोल्पाको घर्तिगाउँमा आफ्नो पार्टीमा आउन इच्छा व्यक्त गर्नेहरूलाई सच्चा जनता भएर बस्नसमेत आग्रह गरे। कुनै पनि पार्टीको दास नबन्न भने। आफ्नो पार्टीको त झन दास नबन्न अनुरोध गरे। परिवर्तनको लागि सकेसम्म सडकमा आउन नपर्ने परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिए। ‘सही नेतृत्व र सच्चा जनता हुने हो भने चाँडै परिवर्तन गर्न सकिन्छ’ भन्ने विश्वास व्यक्त गरे।
उता थबाङका एक निर्वाचित जनप्रतिनिधि गुनासो गर्दै थिए, ‘मवर्षमान सर मन्त्री हुँदा उहाँलाई भेट्न काठमाडौँ गएँ। चार दिनसम्म भेट्न पाइनँ। दिनदिनै जाँदै, फर्किँदै गरेँ। भेट्नै नपाएपछि मैले माओवादीकै नेताहरूसँग गुनासो गरेँ। त्यसपछि बल्ल वर्षमान सरलाई भेट्न पाएको हुँ।’
माओवादी नेताहरू आ–आफ्ना गुटमा रमाइरहेका छन्। आफ्ना मान्छे र आसेपासेको घेराभन्दा बाहिर आउनै सकेका छैनन्। तथ्यले यही भन्छ।
आफ्नै कार्यकर्ता, त्यो पनि निर्वाचित जनप्रतिनिधिलाई समेत भेट दिन चार दिन कुर्नुपर्यो भने जनताले यी र यस्तै प्रवृत्तिका नेतालाई कहिले भेट्ने? प्रश्न मार्मिक छैन र? जनताले कार्यकर्ता, कार्यकर्ताले नेताको कार्यशैलीमा सुधार गर्न पहल गर्नुपर्ने बेला भएन र?
कुरा यत्तिमा मात्र सीमित छैन। नेकपा माओवादी केन्द्रका हालका उपाध्यक्ष, पूर्वसभामुख, मन्त्री त उनी धेरै पटक भइसकेका कृष्णबहादुर महराको पनि थोरै प्रसंग उल्लेख गरौँ। त्यो पनि उनकै छिमेकीको शब्दमा। महराको गाउँ रोल्पा नगरपालिकाको मेबाङमा पर्छ। महराका छिमेकी रास्वपाका सभापति रविलाई भेट्न लिबाङ आए।
उनले रविसँग बडो प्रष्टसँग भने, ‘म कृष्णबहादुर महराको छिमेकी। विगतमा उहाँको कट्टर समर्थक। उहाँका लागि जिउज्यान दिएको मान्छे। आजभोलि भन्न लाज लाग्छ। मेरो गाउँको नाम त मेबाङ हो। तर अचेल यो गाउँ सुनगाउँको रुपमा चिनिन्छ। सुनगाउँको रुपमा परिचित छ।’ महराका छिमेकीले त रविसँग यति मात्र भने। बाँकी भन्न अलि अप्ठ्यारो माने होलान्।
देशमा कोकोहोलो मच्चाएको तर सुनपानीले शुद्ध पार्न खोजिएको ‘सुनकाण्ड’ पछि आजभोलि रोल्पामा माओवादी नेताहरूको नामसमेत फेरिएको छ। अचेल धैरेले माओवादी नेता कृष्णबहादुर महरालाई ‘सुनबहादुर महरा’ र उपमहासचिव वर्षमान पुनलाई ‘सुनमान पुन’ र पूर्व सभामुख ओनसरी घर्तीमगरलाई ‘सुनसरी घर्तीमगर’ भनेर व्यंग्यात्मक रुपमा चिन्छन्।
माओवादी नेताहरूको पछि यो उपमा जोडिनुमा उनीहरू के कति दोषी छन्, त्यो त भविष्यले बताउला नै। तर तथ्यचाहिँ के हो भने यी माओवादी नेताहरूले झुट चाहिँ बोलिरहेका छन्। हुन त महराले कहिले सत्य बोल्छन् र ! उनी कति सत्य बोल्छन् भन्ने तथ्य हेर्न विगतमा उनी सभामुख हुँदा घटेको ‘रोसन काण्ड’ हेरे पुग्छ। त्यतिले पुगेन भने चिनियाँ नागरिकसँग संवाद गरेको ‘अडियो काण्ड’ सुने पनि हुन्छ। यी काण्डहरू पुराना भए भनेर मान्ने माओवादी नेता तथा कार्यकर्ताहरूले महराको हालैको ‘सुनकाण्ड’ मा सिआइबीले दिएको रिपोट हेरे पनि पुग्छ।
महरा मात्र झुट बोलेका कहाँ हुन् र! वर्षमान पनि त झुट बोल्छन् भन्ने तथ्य महसुस गर्न उनले हालै ‘रोल्पाली चेली, सहीद परिवार अमला रोकामगर’ को सम्बन्धमा दिएको अभिव्यक्ति हेरे, सुने पुग्छ। अमलासँग वर्षमानका परिवारका सदस्यको व्यापारिक साझेदारीको फेहरिस्ट हेरे पनि हुन्छ। कम्पनी रजिष्ट्रार कार्यालयले गलत विवरण दियो भनेर भन्न पनि बेर छैन फेरि! सुन खोज्न हेलिकप्टर चार्टड गरेर रोल्पा आएको समाचार पनि माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले पढेकै हुनुपर्छ।
अब पनि तथ्य के हो भनेर नपढ्ने, नसुन्ने र नहेर्ने हो भने कहिले पढ्ने, कहिले सुन्ने र कहिले हेर्ने? हुन त कतिपय मानिसहरू तथ्य नबुझेरै फेसबुकमा लेख्न, अरुका स्टाटसमा गएर अनावश्यक टिपप्णी गर्न प्रतिस्पर्धा गर्छन्। लोकतान्त्रिकभन्दा अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्छन्। तथ्यभन्दा सुनेका, जर्बजस्त घोकाइएका विषयहरू लिएर वाद प्रतिवादमा उत्रिन्छन्। यस खाले मानिसहरूलाई कुनै पनि विषयमा टिप्पणी गर्नु र फेसबुकमा स्टाटस लेख्नुअघि राम्रोसँग अध्ययन, विश्लेषण गरेर प्रतिक्रिया जनाउन सिफारिस गर्दछु।
उपयुक्त विकल्प रोज
लोकतन्त्रमा हरेक चीजको विकल्प हुन्छ र हुनुपर्छ। संसारका लोकतान्त्रिक मुलुकहरू यही विकल्पको माध्यमबाट विकसित भएका छन्। तर हामीकहाँ लोकतन्त्रको नाममा लुटतन्त्रको अभ्यास भइरहेको छ। लोकतन्त्रलाई ‘अराजकतन्त्र’मा परिणत गर्ने जर्बजस्त कोसिस कतिपय दलकै नेता कार्यकर्ताबाट भइरहेको छ।
अहिलेको आवश्यकता भनेको हामीबीचको साझा समस्यालाई पहिचान गरेर अघि बढ्ने हो। लोकतन्त्रमा विश्वास गर्ने दलहरूले यस खाले अभ्यास गर्नुपर्ने हो। तर हामीकहाँ साझा समस्या पहिचान होइन, गुटबन्दी, बेतुकको विरोध, कागज मिलाएर पैसा असुल्ने, उपभोक्ता समितिको माइन्यूटसमेत अध्यक्षले घरमै लेखेर गाउँमा सही गराउन जाने, सही नगरे उल्टै धम्की दिने संस्कृतिको बढ्दो विकास भइरहेको छ।
अब सधैँभरि यसो हुन सक्दैन। दल र तिनका कार्यकर्ता अब सच्चिनुपर्छ। सच्चिने आँट छैन भने सक्किन पनि तयार भएर बस्नुको विकल्प छैन। जनताको मतबाट परिवर्तन सम्भव छ। परिवर्तनलाई सबैले स्वीकार गर्नुपर्छ। त्यसको अर्को विकल्प छैन।
सधैँभरि विभाजित हुने र वाद प्रतिवादमा मात्र उत्रिनेहरूले समयमै सोचुन्। अब त केही गर्नैपर्छ। विकल्पहरूमध्येको उपयुक्त विकल्प खोज्नु र रोज्नु पर्छ। सच्चा जनताले जसले राम्रो गर्छ, उसैलाई नै सघाउने हो। विद्यमान व्यवस्थाभित्र रहेर नै अवस्था परिवर्तन गर्नुपर्छ। खराब राजनीतिक दलहरूलाई पछि पार्नुपर्छ। यी पछि पनि पर्दै जान्छन्।
रविले भने, ‘हामी फरक राजनीतिक दल लिएर आएका छौँ। हामी अर्को एमाले, काँग्रेस र माओवादी बन्न चाहन्नौँ। सही मानिसलाई लिएर संसदमा गयो भने परिवर्तन सम्भव छ।’
इमान्दार नेतृत्व नपाएको कारणले जनताले दुःख पाएको तथ्य लुकाएर लुक्ने होइन। हामीकहाँ सुधार गर्नुपर्ने चिजहरूको लामो सूची छ। मानिसहरू निराश छन्। त्यो निराशभन्दा त्यसको प्रचार अझ बढी छ। निराशाकै बीचबाट जसले आशाको सञ्चार गर्न सक्यो, भविष्यमा त्यो नै सफल हुने हो। भिजनरी मानिसको हातमा राज्यसत्ता आयो भने परिवर्तन सम्भव छ।
राजनिति देखि दिक्क भएका मान्छेलाइ नया चाहिएको छ ।सुसासन कायम गर्ने पार्टि चाहिएको छ तर सजिलो छैन । प्रदेश खारेज गर्ने पार्टी चाहिएको छ । पुराना पार्टिले नया किसिमले काम गर्नेकि बिना जगमा बनेेको घरमा बस्ने छनौट जनताको हो ।
जाबो ४ दिन बसेर, स्थानीयको कुरा सुनेर केही हुनेवाला छैन । अमेरिकाले नेपाल मिसन सक्सेस गर्न पठाएको एउटा प्रमुख पात्र हो रबि जो मिसन ८४ भनेर दौडिरहेका छन् । नेपालमा कुनै पनि हालतमा सैन्य अड्डा राखेर चीन लाई नीग्रानी गर्न चाहन्छ अमेरिका । pentagan को document अध्ययन गर्दा सबै बुझिन्छ । अब ८४ मा रबि लाई नेपाली सस्करणको जेलेन्स्की बनाएर सैन्य बेस राख्ने सम्झौता गर्न आतुर छ अमेरिका । नेपालका अन्य राजनीतिक दलहरु बाट यो योजना पार नलागे पछि रास्वपा मार्फत आएको छ अमेरिका ।
खसिको ताउकाको मुल्य तोकेर कुकुरको मासु बेच्ने सिद्धान्त हो। देखाउने दात र चपाउने दात हेर्दा एउतै हो तर फरक हुन्छ। के रोल्पामा रबि 4 दिन बसेर साच्चै रोल्पाको रबिले भनेको जत्तिको बिकास र परिवर्तन,समस्या समाधान होला ? यो नाजायज कुरा हो।चार दिन बस्दैमा समस्या समाधान हुन असम्भव छ। भोलि कुनै मन्त्री,प्रधानमन्त्री भयो भने सबभन्दा पहिले थुक्ने,बिर्सिने यहि बादर चरीत्रका मानिस हुन। यो नेपालको राजनीतिको मुख्य समस्या जुनसुकै पार्तीको यहि हो ।होइन भने मेरो कान कातेर फाल्थे।???????