सबका सब चुप भए। रेखा मिस भित्र छिरिन्।
बाँसको मसिना सिठ्ठो हातमा हल्लाउँदै आएकी रेखा मिसले भनिन्- ए, काले अगाडि आइज…!
यताउता हेर्दै म जुरुक्क उठेर अघि सरेँ। मिसले अर्को केटो पनि बोलाइन्- बिरबले पनि आइज।
स्कुलमा के नाम लेखाइदिएका थिए थाहा भएन। घरदेखि गाउँघर अनि स्कुलसम्मै मलाई ‘काले’ भन्थे।
त्यो छडी(बाँसको सिठ्ठो) नचाउँदै मिसले सोधिन्- बालाई अंग्रेजीमा के भन्छन्?
अलमलिदैँ मैले भनेँ- फादर…
फेरि सोधिन्- आमालाई अंग्रेजीमा के भन्छन्?
यसपालि त अलमल झन् बढ्यो।
अकमक्किँदै तोते बोलीमा भन्दिएँ- पातर…!
एकछिन सबका सब गलल हाँसे। मिसले त्यही छडीले सोठ्याइन्। अनि अर्को केटोलाई भनिन्- ओइ बिरबले, यसलाई एक चड्कन हान्…! उसले मेरो जाङे तान्दियो। एक त पछाडि दुईटा भ्वाङ परिसकेको जाङे एक झट्कामै खस्यो। बिरबल बाहिर दौड्यो।
म दुई हातले आँखामुख छोपेर घोप्टो परेँ। मिसले त्यसैमाथि फेरि सोठ्याइदिइन्। इज्जत नि उत्र्यो। चुटाइ नि खाइयो।
खासमा बिरबलले मसँग बदला लिएको थियो। ऊ कक्षामा जहिल्यै निदाउँथ्यो। हामीले कक्षा कोठाको धुलोमाथि ओछ्याइएका जुटका बोरामाथि नै सुतिदिन्थ्यो।
अनि सर मिसहरू कक्षामा आएर जहिल्यै मलाई भन्थे- त्यसको गालामा एक चड्कन हानेर उठा…!
मैले सधैँ उसलाई चड्कन हान्थेँ र रातोपीरो हुँदै बिरबल जर्याकजुरुक उठ्थ्यो। मुखभरिको र्याल चुहाउँदै मलाई चिम्सो आँखा तर्थ्यो।
अलिकति उमेर छिप्पिसकेको थियो। दिदीले जबर्जस्ती स्कुल लगेर छोडिदिन्थी। त्यो कति क्लास थियो, थाहा थिएन।
अंग्रेजीका ए…बि…सि….डि अक्षरहरू देख्दा त हामी चार कक्षामा पुगिसकेका थियौँ। त्यो अंग्रेजी हामीलाई नरेन्द्र न्यौपाने सरले पढाउँथे।
पछि माओवादीहरूले उनलाई ‘सरकारी जासुस’ भनेर गाउँको चौतारोमा टाउको काटेर अलि पर फालिदिएछन्। हामी सबै त्यो हेर्न पुगेका थियौँ।
एम्बुलेन्समा सरको लास राखियो। तर टाउको कसैले उठाएनन्। त्यो एम्बुलेन्समा एकजना आफन्त जानुपर्छ भने पुलिसले। तर कोही पनि अघि सरेनन्। अनि नरेन्द्र सरको लास एम्बुलेन्सको भुँइमा सुताएर मैले उनको टाउको समाएर एम्बुलेन्समा बसेँ।
त्यो भयानक यादले अहिले पनि मलाई झस्काइरहन्छ, जब अंग्रेजी पढ्न थाल्छु।
०००
लबरु सर
चार कक्षामा ‘मेरो वातावरण’ पढाउँथेँ, लबरु थारु सर। हाम्रो गाउँमा धेरैजसो थारुहरू नै बस्थे। मेरो कतिपय आफन्तहरू पनि उनीहरू नै थिए, बाआमाले साइनो लाएका।
गाउँभरिका थारु होस् कि अरू हामी सबैले जोत्ने भनेकै जमिन्दारको अँधिया जमिन थियो। त्यसैले सबका सब बराबरजस्ता थिए। अलि धेरै खेतबारी कमाउनेहरू भने आफैँलाई जमिन्दारझैँ ठान्थे। हाम्रा बाले अलिकति खेतबारी अँधियामा जोत्थे। हली भने मै हुन्थेँ, सानैदेखि।
थारुहरूले हाम्रो लबरु सरलाई ‘लब्रु मास्टर’ भन्थे।
करिब डेढघण्टा थोत्रो एट्लस साइकल कुदाएर आउने लबरु सरले पढाउने त्यो ‘मेरो वातावरण’मा मलाई कहिल्यै रुचि जागेन। त्यही भएर मैले आफ्नो ‘ग्याङ’सँग त्यो क्लास सधैँ बङ्क हान्थेँ।
वर्षे बिदा सकिएर भर्खर स्कुल सुरु भएको थियो। अलि पर खरकट्टी(घर छाउने खरबारी)मा बयरको सिजन हुन्थ्यो। त्यो कक्षा सुरु हुनासाथ हाम्रो ग्याङ बयर चोर्न दौडिन्थ्यौँ। कसैले त्यो खरकट्टीका चौकीदारलाई अलि परतिर अल्झाइरहन्थे, अनि हामी दौड्नसक्नेहरू भने खरकट्टीमा पसेर बयर टिपेर ल्याउँथ्यौँ। मैले केटीहरूलाई भनेर लुकाएर अलि धेरै बयर टिप्थेँ। पछि लुकाएर केटीहरूलाई दिन्थेँ। उसै पनि मेरा केटाहरूभन्दा केटी साथीहरू धेरै हुने।
एकदिन मध्यान्तरमा पानी पर्यो। त्यसपछिको क्लास लबरु सरकै हुन्थ्यो। पानी परेपछि बडो संकट पर्यो। बयर चोर्न पनि मिलेन। कक्षा बंक हानेर कहाँ जाने?
दोस्रो बेन्चभरि हाम्रो ग्याङ देख्नासाथ लबरु सरले सिधै आदेश दिए- काले ह्याँ आइज…!
अरूहरू मुखामुख गरे। म उठेर अघि गएँ।
हात थाप्- लबरु सरले भने- आफू नि भाग्ने अरूलाई नि भगाउने?
मैले दुई हत्केला पालैपालो अघि सारेँ। छडी खाएर बानी परेका हातमा जति हाने पनि दुखेजस्तो लाग्दैनथ्यो। सायद मासु मरिसकेको थियो कि!
अनि उनले दोस्रो बेन्चका सब केटाहरूलाई अगाडि लाइन लगाएर ‘मुर्गा’ बनाइदिए। हामी एकअर्कालाई हेर्दै हाँस्थ्यौँ। लबरु सरले फेरि छडी हिर्काउँथे।
फेरि बिरबलले मेरो जाङे(हाप पाइन्ट) तान्दियो। केटीहरूले आँखामुख छोपे, केटाहरू बिल्ला हानेर हाँस्न थाले।
काले र बिरबले भोलि अपिसमा आउनू…!’ एकएक छडी हानेर लबरु सर रिसाउँदै बाहिरिए।
०००
‘तँ क्लास छोडेर भाग्छस्…?’ हेडसर इन्द्रबहादुर न्यौपानेले हकार्दै सोधे।
‘अँ भाग्छु सर…।’
‘किन क्लास छोड्स्?
‘मेरो वातावरण पढ्न मन नलाएर…।’
‘अरूलाई नि भाग्न लाउँछस्…?’
‘अँ सर, अरु नि जान्छन्…।’
‘अरूलाई नि बिगार्छस्?’
‘एक्लै बयर चोर्न डर लाग्छ सर…।’
हेडसरले एक चड्कन हाने। मेरा बाले ढोकामा उभिएर हेरिरहेका थिए। मेरा बा त्यै स्कुलको पिउन थिए। लबरु सर छेउमा उभिएका थिए।
बिरबल हाँस्यो। लबरु सरले त्यसलाई नि चड्कन हाने।
‘यसले अस्ति एउटी केटीको मिड्डी तान्देछ सर…।’ लबरु सरले हेडसरसँग लाइनी लगाइ दिए, ‘स्कुलभरिको बेमान यै छ…।’
पर बसेकी रेखा मिसले हाँस्दै भन्दिइन्, ‘मैले एक कक्षामा पढाउँदा आमालाई अंग्रेजीमा ‘पातर’ भन्ने काले त हो…।’
बल्ल था भो, त्योबेला म एक कक्षामा पढ्नेरैछु। अक्षरहरू त थाहा थिएन, तर हामीलाई बाआमा, दिदीबहिनीलाई अंग्रेजीमा भन्ने शब्द सिकाउँथे। अंग्रेजी अक्षर त चार कक्षामा मात्रै देख्न पाइयो।
उमेर अलि भए पनि म पछिसम्मै तोते बोल्थे। सर, मिस अनि क्लासका सबले बिल्ला हान्थे। केटीहरूले जिस्काउँदा भने अलिअलि लाज लाग्थ्यो।
‘फेरि राम्रो नम्बर ल्याउँछ सर। स्कुलभरि फर्स्ट हुने केटो यै हो’, लबरु सरको बोली नसकिँदै नरेन्द्र सरले भनिदिए, ‘न लेख्न दिएको लेख्छ, न कक्षामा राम्रोसँग पढ्छ तर सोधेपछि सबै भन्दिन्छ।’
ढोकामा उभिएर हेडसरलाई हेरिरहेका मेरा बाको अनुहार अँध्यारै थियो। मलाई थाहा भइसकेको थियो- घरमा भकुराइ त खाइन्छ। अब म त्यो दिन घर जाने नै थिइनँ।
‘अब जा, क्लासबाट, भागिस् भने स्कुलबाटै निकाल्दिन्छु’, हेडसरले मेरा बालाई पनि हकार्दै भने, ‘ए बोरा यसलाई राम्रोसँग सम्हाल्। पढ्नमा तगडा छ तर बेइमान छ।’
बाले भने ‘यसलाई म ठीक पार्छु सर…।’
अब त झन् घर जाने कुरै थिएन।
०००
त्यो दिन घर गइनँ। ओली कान्छोलाई भनेर उसलाई पनि घरबाट निस्किन भनेँ। त्यो मभन्दा जेठो थियो। तर घरको कान्छो। त्यसैले गाउँभरिको ओली कान्छो। हामी एकअर्का लागि ज्यानै दिन्थ्यौँ। म घरबाट निकालिए, त्यो पनि घरमा झगडा गरेर निस्किन्थ्यो। रातभरि हामी स्कुलमा क्लासको झ्यालबाट भित्र छिरेर बेन्चमा सुत्थ्यौँ। रातभरि म भने लाइब्रेरीमै बिताउँथेँ, जे पायो त्यै किताब पढेर।
कान्छोले घरबाट भात पनि चोरेर ल्यायो। त्यै खाएर ऊ सुत्यो। मैले घरबाट स्कुलको चाबी चोरेर अपिस खोलेँ अनि लाइब्रेरीको बार नाघेर रातभरि पढेँ। बिहानपख चिसो चिसो हुन थाल्यो।
स्कुलको आँगनमा सरस्वतीको मन्दिर थियो। त्यसको टिनको पल्ला भएको ढोकाको चरबाट मसिनो छेस्को छिराएर गरालो(आग्लो) फुस्काएँ। अनि सरस्वतीको मूर्तिलाई ढाकेको कपडा ओढेर सरस्वतीकै चरणमा(भूँइमा सुते)।
बालापनका लगभग आधाभन्दा धेरै रातहरू मैले सरस्वतीकै चरणमा बिताएँ। उनकै वस्त्र ओढेर। त्यसैले मलाई सरस्वती ‘विद्याकी देवी’ भन्ने लाग्दैन। बरु उनी त मेरो केटी साथीजस्तो लाग्थ्यो। मसँगै क्लासमा एउटी सरस्वती भन्ने केटी पनि थिइ। स्कुलका धेरै केटाहरूको लाइनमा उसको पछि म पनि थिएँ। तर कहिल्यै उसले हामी कसैलाई ‘बाल’ दिइने।
०००
लाइब्रेरियन लबरु सर
लबरु सर हामीलाई ‘मेरो वातावरण’ पढाउने सरमात्रै थिएनन्। बरु उनी हाम्रो स्कुलको लाइब्रेरियन पनि थिए। अर्थात् हेडसरको अपिससँग जोडिएको भित्रीकोठामा भएका सब किताबका मालिक।
तर हामी विद्यार्थीलाई भने त्यो लाइब्रेरीमा कहिल्यै छिर्न दिन्नथे। मैले झ्यालबाट हेर्थें र मनमनै सोच्थेँ, ‘ती किताबमा के लेख्या होला…?’
लबरु सरसँग कहिलेकाहीँ रिस उठ्थ्यो, यतिका किताबका मास्टर भएर हाम्लाई एउटा नि किन पढ्न नदेको होला?’
त्यसैले एक दिन आइडिया लगाएँ, घरबाट चाबी चोर्ने अनि लाइब्रेरीका ती किताब पढ्ने। स्कुलका पिउन मेरा बाले स्कुलभरिका सबै चाबी घरमै राख्थे।
प्राय जुनेली रातमा म राति चाबी लिएर स्कुल जान्थेँ। हामीलाई स्कुलले नै एउटा कोठा दिएको थियो। सबै त्यसमै बस्थ्यौँ। हाम्रो आफ्नै घर, जग्गा जमिन अहिले पनि छैन।
जुनको उज्यालो झ्यालभित्रै छिर्थ्यो। झ्यालका चरबाट छिरेका ती जुनका छटाहरूमा मैले त्यो लाइब्रेरीका धेरै किताबहरू दश कक्षामा नउक्लिँदै पढिभ्याएको छु।
मक्सिम गोर्कीको ‘आमा’देखि लक्ष्मीप्रसाद देवकोटाका सबै पुस्तकहरू अनि वीपीका आत्मवृतान्तदेखि सबै उपन्यास र नेपाली ठुल्ठूला साहित्यकारका सबका सब किताबहरू लगभग मैले त्योबेलै पढिसकेको थिएँ।
नौ कक्षामा पढ्दा नेपाली किताबमा लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ?’ भन्ने पाठ पढ्नुपर्यो। त्यो त मैले जमानामै पढिसकेको रहेछु।
एक दिन बराल सरले भने- ए बोरा यो पाठ पढेर यसको सारांश भन्।
मैले किताबै नहेरी सबै भन्दिएँ…।
एकछिन अक्मक्किएर बराल सरले भने- कसरी नपढी भनिस्?
पोल खुल्यो। फेरि हेडसरकहाँ लगियो। छडी खाइयो। अनि मूर्गा बनियो। मैले किताब पढेको कारण त्यो सजाए पाएँ कि चाबी चोरेर? त्यो चाबी चोरेर अरु त केही बिगारेको चाहिँ थिइनँ।
हुन त गाउँभरि अनि स्कुलभरि ‘काले’ उसै पनि बद्नाम थियो।
पढ्नचाहिँ कक्षामा मैले कहिल्यै पढिनँ। अंग्रेजीको क्लास हुँदा म नेपालीमा कविताहरू लेखिरहन्थेँ। नेपालीको क्लास हुँदा अंग्रेजीमा लेख्ने प्रयास गर्थें। मास्टरहरूले गणितका शूत्र घोकाइरहँदा मैले घोप्टो परेर कथाहरू लेखिरहेको हुन्थेँ। विज्ञानका नियमहरू पढाउँदा मैले केटीहरूलाई ‘प्रेमपत्र’ लेखिरहेको हुन्थेँ। तर ती पत्रहरू कहिल्यै कुनै केटीलाई दिइनँ।
अनि दोस्रो बेन्च स्कुलभरि बदनाम थियो। मैले आफूले पनि पढ्दैनथेँ। त्यो बेन्चका कसैलाई पढ्न पनि दिन्नथेँ। तीन कक्षादेखि नै कक्षा उक्लिँदा हामीले त्यही बेन्च लग्यौँ माथिल्लो कक्षामा। त्यो बेन्च दश कक्षासम्मै पुर्यौँ। कहिलेकाहीँ कसैले लगे पनि स्कुलभरि खोजेर खोसेर ल्याउँथ्यौँ। बेन्च पनि प्यारो थियो, हाम्रो ग्याङ पनि।
दिनभरि स्कुलमा त्यस्तो बबाल गर्यो। अनि अर्को दिन कक्षामा सरहरूले जे सोधे पनि फटाफट भनिदिन्थेँ।
कक्षा तीनदेखि दश कक्षासम्म पढ्दा त्यो स्कुलको ‘होल फर्स्ट’ मै भएँ। अरू प्रतियोगिताहरूमा पनि पहिलो र दोस्रोबाहेक अरू केही भइनँ। पुरस्कार पाएका कापी, कलम बेचेर वरफ खाइन्थ्यो। लेखेर सकिए पो! किनकि मैले रातभरि पढ्थेँ।
कहिलेकाहीँ टुकीको मट्टितेल सकिएर दिदी सुतिसक्थी। म जुनको उज्यालो खोज्दै पढिबस्थेँ। रातभरि त्यसरी नसुतेर पढ्दा कहिलेकाहीँ दिउँसो स्कुलको खरबारीमा निदाइरहेको हुन्थेँ।
०००
स्कुलको चाबी चोरेर पढ्ने गरेको भनेर स्कुलभरि हल्ला भयो। केही दिनसम्म मेरो बाले राख्ने चाबी खोसेर हेडसरले नै लिएर गए। बा बिहानै हेडसरको घरमा गएर चाबी लिएर आउनुपर्थ्यो। फेरि बाको कुटाइ भेटियो धेरैचोटी।
लबरु सरले केही दिन मलाई निकै माया गरेजस्तो गरे। एक दिन घण्टी लागेपनि उनी निस्किएनन्। सबै जना घण्टी बज्नासाथ बाहिर निस्के। अन्तिममा उनले भने, ‘काले तँ यैँ बस्…।’
मलाई फेरि डर लाग्यो। डराइडराइ बसेँ। अरू सब हुरुरु बाहिर निस्के। अनि अलि नजिक आएर उनले मलाई एउटा चाबी दिँदै भने- यो लाइब्रेरीको चाबी हो। कसैलाई नभनेस्…।
त्यसपछि उनी गए। एकछिन त्यो चाबी हेरिरहेँ। ओल्टाइपल्टाइ हेरेँ। त्यसमा ‘लबरु सर’ लेखेको जस्तो लाग्यो। त्यसपछि फेरि रातिको बास मेरो लाइब्रेरीमै हुनथाल्यो।
१० वर्षपछि…
परीक्षा केन्द्र सदरमुकाम घोराहीमा थियो। गाउँबाट एसएलसी दिन आएपछि म भने फर्किनँ। एसएलसी परीक्षा सकेकै दिन एउटा होटेलमा गएर काम गर्न थालेँ।
परीक्षा सकियो। सब साथीहरू तितरबितर भए। मैले गाउँ नै छोडेँ। रिजल्ट आएछ, थाहा भएन। एक दिन होटलका लागि तरकारी किन्न गएका बेला स्कुलका एकजना अर्जुन सरलाई चोकमा भेटेँ।
उनले भने, ‘के पढ्न लागिस् तैँले, गाउँतिर नि देखिन्नस्…।’
‘किन सर, के पढ्ने हो र?’
उनले भने, ‘तैँले सर्टिफिकेट ल्याइनस्? तँ एसएलसी पास गर्याछस् त। गाविसले सम्मान गर्ने भनेर खोजिराख्थ्यो।’
गाउँका तीनवटा मावि स्कुलबाट एसएलसी दिनेमध्ये सबैभन्दा धेरै नम्बर मेरै रहेछ। थाहा पाउँदा एसएलसीको रिजल्ट आएको सात महिना बितिसकेको थियो।
०००
त्यसको कैयौँ वर्षपछि एक दिन बजारमा लबरु सर भेटिए। उही थोत्रो एट्लस साइकल। अलिअलि ख्याउटे अनि सेताम्य कपाल।
त्योबेला म पत्रकार भइसकेको थिएँ। लगभग दश वर्षपछि मलाई किताब पढ्न लाइब्रेरीको चाबी दिने लबरु सरलाई भेटेको थिएँ।
त्यो स्कुलमा उनले लगभग २० वर्ष पढाएछन्। तर पछि सरकारले दरबन्दीका मास्टरहरू पठाएपछि उनलाई निकालिएछ। उनले पनि परीक्षा त दिएका रहेछन्। तर नयाँहरूले टप्केछन्। सर पनि फेल भए। अनि जागिर गयो।
२० वर्ष अस्थायी भएर मास्टरी जीवन बिताएका लबरु सर रित्तो हात फर्किए, जीवन पनि स्थायी कहाँ हो र!
‘तरकारीको त भाउ नै दिन्नन्। हामीसँग ४ रुप्पेँमा किनेर यहाँ ८० मा बेच्छन्’, लबरु सरले भने, ‘अब तँ पत्रकार भएछस्, हाम्रो समाचार लेख्दे त…।’ थोत्रो एट्लसको प्याडल मार्दै अलि पर पुगेका लबरु सरको त्यो साइकलमा दुईवटा जुटका रित्ता बोरा लत्रिरहेका थिए।
लेखको भोगाइलाइ लेखाइमा मीठो तरिकाले प्रस्तुत गरियको देखियो , अब पार्ट 2/3/4/5/6/7/8/9/10 सम्म पुर्याउनु पढ्ने हामी छदै छौ 🙏❤️
एकदम हासो गर्व र उत्साह अनि प्रेरणादायी जिवन्त कथा रहेछ । सक्नु हुन्छ भने यसको अर्को पार्ट निकाल्नु भयो भने मलाई mail मा लिन्क पठाईदिनुहोला । निकै नै उत्कृष्ट लाग्छ यस्ता खालका मानिसका आफ्नै आफ्नै कथाहरु सुन्दा लेखक बाट पाठक भएर सुन्न पाउदा । लबरु सर पार्ट २ को प्रतीक्षामा रहनेछु ।