सविन राईले ‘नेपाली संगीत’मार्फत् हल्लाउँदैछन् थाइल्यान्ड

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड

‘नामी स्टुडियो लुजा’, ‘जी–फोर रकर्स इन्टरटेनमेन्ट ग्रुप’ र ‘हंग्री आइ नेपाली, इन्डियन एण्ड चाइनीज कुइजिन’काे प्रस्तुतिमा झुम्दैछ थाइल्यान्ड—

नेपाली ‘संगीत–संसार’को चर्चामै छन्, ‘पप स्टार’ सविन राई। उनी जहाँ–जहाँ जान्छन्, त्यहाँ–त्यहाँ ‘पप गीत’ सुन्ने र नाच्नेहरूको भीड लाग्छ। ‘सविन राई एण्ड द फारोह’ देश–विदेशका नेपाली वा ‘नेपालीभाषी’ माझ लोकप्रिय छ।

उनै ‘स्टार’ सविन राई आउँदो २५ नोभेम्बरमा थाइल्यान्डको ‘सुन्दर नगरी’ बैंकक आउँदैछन्। ‘सविन राई एण्ड द फारोह’ लाइभ कन्सर्टमा म्यान्मार र थाइल्यान्डका नेपाली–माझ ‘पप संगीत’ घन्काउँदै गुञ्जिँदैछन् उनी।

थाई नेपालीसामु ‘पप स्टार’ले सुनाउनेछन्– ‘गुँरासको फेदमुनि’, ‘मलाई अँगाली देऊ’, ‘म संसार जित्ने प्रयास गर्दैछु’, ‘कोमल त्यो तिम्रो वदन’ जस्ता चर्चित गीत।

बैंककको लाइभ कन्सर्टमा सविन राई सँगसँगै सुनिँदैछन् अन्य कलाकार श्रीकृष्ण बम मल्ल, चर्चित गायिका लक्ष्मी मल्ल, चर्चित गायक दीपेश श्रेष्ठ, गायक कृष्ण विक। र, साथमा हुनेछन् स्थानीय ब्यान्ड बिजिस् आउट ब्यान्ड र द वान बैंक। अनि थाइल्यान्डका स्थानीय कलाकारहरूले आ–आफ्नाे प्रस्तुति दिनेछन्।

‘नामी स्टुडियो लुजा’को प्रस्तुतिमा हुन लागेको ‘सविन राई एण्ड द फारोह’ लाइभ समारोह ‘स्पाइसी क्लव’ प्रथुनमस्थित पेचनाबुरी–१५ बैंककमा हुँदैछ। ‘लाइभ इन बैंकक’ भन्ने नाराका साथ आयोजना गरिएको कन्सर्ट स्थानीय समयअनुसार साँझ ६ बजेदेखि सुरु हुनेछ।

गैरआवासीय नेपाली संघ थाइल्यान्डको साझेदारीमा बैंककमा आयोजित ‘लाइभ कन्सर्ट’ जी–फोर रकर्स इन्टरटेनमेन्ट ग्रुप र हंग्री आइ नेपाली, इन्डियन एण्ड चाइनीज कुइजिन मुख्य सारथि छ।

थाइल्यान्डको नेपाली संगीत समारोहमा हजारौँ थाई नेपालीहरू झुम्नेछन्। उनीहरू ‘पप स्टार’ सविन राईको पर्खाइमा छन्। र, नेपाली गीत–संगीतमा रमाउन आतुर छन्। बैंककको ‘लाइभ कन्सर्ट’ सानदार तरिकाले सम्पन्न हुने गायक दीपेश श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति: : 2023-09-22 14:16:00

प्रतिकृया दिनुहोस्