बन्द अस्पताल अगाडि बिरामी लडिरहे, डाक्टरले ‘ज्यान’ मागिरहे!

मिनु गोले

काठमाडौं
BreaknLinks
BreaknLinks

थाकेको शरीर। मुजा परेका गाला। मलिन मुहारमा छिन्, जुम्लाकी लक्ष्मी उपाध्याय। राम्रो उपचारको खोजी गर्दै जुम्लाबाट काठमाडौंमा आएकी लक्ष्मी आइतबार वीर अस्पतालको बिरामी प्रतिक्षा कक्षमा छिन्। 

दिउँसोकाे ११ बजिसकेको छ। उपचारका लागि डाक्टर खोज्दै वीरमा पुगेकी उनले ११ बज्दासम्म डाक्टर भेट्न त के फलोअपको टिकट नै काट्न पाइनन्।

किनकी वीर अस्पताल बन्द छ।

तर लक्ष्मीको मनले अस्पतालबाट जान मानिरहेको छैन। डाक्टर भेट्ने आस बाँकी छ। उनलाई धेरै थाहा छैन। मात्र उनलाई लागेकाे छ– डाक्टर किन अस्पतालमा बन्दहड्ता छ। 

उनलाई डाक्टरले कहिलेसम्म आन्दोलन गर्छन् भन्ने थाहा छैन। डाक्टर भेट्ने आसा मरेकाे छैन र त, बन्द टिकट काउन्टरमा आँखाका नजर लगाउँदैछिन्। उनलाई लागेको छ, कतै टिकट काउन्टर खुलिहाल्छ कि! अनि डाक्टर आइहाल्छन कि! 

उनी जुम्लाबाट आएको पाँच दिन भइसक्याे। होटलमा बस्दा भएको पैसा सकिन थालिसकेको छ। छिटो घर फर्कन पाए हुन्थ्यो भन्ने लक्ष्मीलाई लागेको छ। बिडम्बना डाक्टरले फलोअपका लागि बोलाएको दिन अस्पताल नै बन्द छ। 

अस्पताल बन्दले उनलाई निरास बनाएको छ। विरक्त बनाएको छ। ‘अस्पताल बन्द छरे। यसरी आस्पताल नै बन्द गरेपछि हामीलाई समस्या माथि समस्या हुँदै जाने। आज एक दिनको कारणले हाम्रो स्वास्थ्यमा गारो  हुने। होटेलको भाडा बढ्दै जाने।’ आफ्नो भाषाको लवज मिसाउँदै उनले भनिन्। 

उनीमा पैसा सकिने डर छ। टाढाको यात्रा छ। काठमाडौं आउन, घर जान समस्या छ। ‘हामी होटलमा बसेका छौँ। कहिले खाना खान्छु। कहिले भोकै बसेको छु,’ उनले भनिन्, ‘हाम्रो आफ्नो आफन्तहरु नि छैनन्। त्यति टाढादेखि आएको पैसा पनि सकिसक्यो।’

उनले अस्पताल नै बन्द किन गरेको होला भन्दै गुनासो गरिन्। ‘यहाँ आएपछि बाँचिन्छ कि भनेर जासोतसो आएँ। तर अस्पतालमा आउँदा यसरी काउन्टर नै बन्द गरेको छ। किन गरेको हो।’ उनले गुनासो गरिन्।

आइतबार वीर आस्पतालमा जय लक्ष्मी उपाध्याय मात्रै होइन, त्रिशुलीदेखि सानुमाया पनि वीर अस्पतालमा उपचारका लागि आएकी छिन्। सानुमायालाई हप्ता–हप्तामा अस्पताल आउनुपर्छ। 

उनको अप्रेसन गर्नुछ। आज बिहान पाँच बाजेदेखि आएर पालो कुरेकी सानुमायाँले अन्ततः अस्पताल बन्द भएपछि निरास भएर घर फर्किनु परेकाे छ। ‘हामी बिहानदेखि गाउँबाट छिटै पुग्यो भने पालो आउँछ भनेर बिहानै केही पनि नखाइ आएको हो। तर यहाँ आउँदा यसरी टिकट काट्ने काउन्टरमा ताला लगाएको छ’, उनले भनिन्, 'अब घर फर्किने त होला।’

यस्तै रसुवादेखि शुक्रबहादुर स्याङदान पनि उपचारको लागि आएका छन्। उनलाई  प्रेसरको रोगले साताइरहन्छ। ‘आउन गाडी भाडा तीन हजार लाग्छ। सकिनसकि  औषधि किन्न भनेर आएको बिहानै आउँदा आस्पताल नै बन्द रहेछ,’ उनले भने  ‘बन्द भएको थाहा भएको भए आउँदिन थिए एक जना मान्छेले गर्दा हामी सबैले दुःख पायौँ।’

यी माथिका तीन बिरामी आइतबार वीर अस्पतालमा उपचार गर्न आएका हुन्। तर आज डाक्टरले अस्पताल बन्द गर्दा उनीहरु तीन जना मात्र होइन, सयौँ बिरामी अलपत्र परे। 

नेपाल चिकित्सक संघले हेटौडामा डाक्टरमाथि भएको कुटपिटको विषयलाई लिएर आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेपछि हजारौँ बिरामी उपचारबाट बन्चित भए। 

देशकै ठुलो वीर अस्पतालमा पनि सायौँ बिरामी उपचार पाउँनबाट बञ्चित भए। बाहिर डाक्टरले आन्दोलन गरिरहे। डाक्टरको पर्खामा रहेका बिरामी घण्टौँ कुरिरहे। तर उनीहरुले उपचार पाएनन्। डाक्टरले उपचार गरेनन्। 

र, बिरामी नागरिक संविधानमा व्यवस्था गरिएकाे स्वास्थ्यबाट बञ्चित नगरिने अधिकारबाट बञ्चित भए। 


आन्दोलित डाक्टर भन्छन्– हामी भगवान होइनौँ

अस्पतालको दैलो बन्द हुँदा अँधेरिएका बिरामीहरु (तस्बिरहरु)

प्रकाशित मिति: : 2023-09-17 20:37:00

प्रतिकृया दिनुहोस्