लभ यू जिन्दगी !

त्यो अन्तिम मध्यरात
एक्लो
तेल सकिनै लागेको
टुकीको मधुरो उज्यालोमा
जब म लेख्दै थिएँ
मेरो सुसाईडल नोटका अन्तिम हरफहरु
हो, त्यो नै बेला जिन्दगी
तिमीले भनेका थियौ–
‘बाँच्नु सबैभन्दा कठिन संघर्ष हो भने
सबैभन्दा ठुलो जीत जिन्दगी’
मैले टुकी निभाएँ
अनि पर्खिएँ भोलिको उज्यालोलाई
र त
वर्षौँ भइसक्यो
हर स्वासमा उत्सव मनाइरहेको छु जिन्दगीको
त्यसैले
मेरो यो जीतको उचाइमा तिमीलाई
मेरो यो जीतको गहिराइमा तिमीलाई
बेस्सरी अंगालो हालेर भन्न मन छ–
‘लभ यू जिन्दगी !’

हृदयभित्र राखेका मायालु नामहरुले
यो छाती चिरी निस्केर जाँदा
अनि उनीहरुकै यादमा
उनीहरु हिँड्ने मूलबाटो छेउमा वर्षैँवर्ष उभिइरहँदा पनि
‘कस्तो छौ ?’ सम्म भनेर नसोधिदिँदा
यो छातीभित्रको आकाशमा
घाम उदाउनै छाडेको थियो

एउटा अँध्यारो पृथ्वी बोकेर 
एउटा एक्लो बाटो टेकेर
बिछोड, विरह, याद र एक्लोपनको सिरेटोमा
असंख्य पीडाको हिउँदले पुरिएर उभिरहँदा
को थियो र मेरो साथमा
तिमी सिवाय
जिन्दगी!

ती बगरहरुमा म
तृष्ण पिएर उभिरहेँ
ती लहरहरुमा म
प्यासी प्यासी बगिरहेँ
तिमी म सँगसँगै उभिरह्यौ बगरहरुमा
तिमी म सँगसँगै बगिरह्यौ लहरहरुमा
मलाई पर्खिरह्यौ प्यास लुकाएर

म फूटपाथमा घिस्रिरहँदा
म भोक र प्यासले तड्पिरहँदा
म बेहोसीमा चिच्याइरहँदा
म रोइरहँदा
म आत्तिरहँदा
छोड्नेहरुले त उहिले छोडेर गइसकेका थिए
तर, यी हरेक मोडहरुमा जिन्दगी !
मात्र तिमीले पर्खिरह्यौ मलाई
चुपचाप

त्यो मूलबाटो छेउमा
त्यो मरुभूमिमा 
त्यो बञ्जर बगरमा 
ती भूमरीहरुमा
को थियो र मेरो साथमा तिमी सिवाय
जिन्दगी!

मेरा अनेकन आवेग, संवेगहरुमा
मैले तिमीलाई लतारेँ
हकारेँ, पछारेँ, पिटेँ
जलाएँ, गलाएँ
र पनि तिमीले कहिल्यै भनेनौँ–
‘मलाई दुख्यो’ भनेर
बस्, चुपचाप पर्खिरह्यौ मलाई नै
तिम्रा यी सारा गुनहरु बिर्सेर
त्यो अन्तिम मध्यरात
तिमी निदाएको मौका छोपेर
लाग्यो–
सुटुक्क निस्केर कतै टाढा जाऊँ
विलीन होऊँ यो अदृश्य हावासँगै
तर, खै कुन मोहले हो कुन्नी !
तिमीलाई त्यसरी छाड्नै सकिनँ

र त
तिमी छौ, म छु
मेरो आयुको अन्तिम बिन्दुसम्म
सम्हालेर लानेछु तिमीलाई सँगसँगै
तिमीले भनेजस्तै
संघर्ष गर्नेछु ‘बाँच्नु’का ती सबै सबै कठिनाइहरुसँग
र जित्नेछु एउटा जिन्दगी 
मेरो यो महासफरमा 
तिमी सधैँ यसरी नै सँगैसँगै भइरहनू

लभ यू जिन्दगी !


१३ जुन २०२०
कुमामोतो, जापान  (कामी कविता संग्रहबाट)


 

प्रकाशित मिति: : 2023-09-16 08:14:00

प्रतिकृया दिनुहोस्