पत्रकार सन्ताेष विष्टमाथि हातपात, कारबाही गर्न प्रेस युनियनको माग

झापा कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार सन्तोष विष्टमाथि  हातपात भएकाे छ।

गौरादह- १ का मन्जिस थापाले नियोजित रुपमा विष्टमाथि हातपात गरेकाेले पक्राउ गरी कारबाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ।

युनियन झापा जिल्ला समिति र माइपश्चीम क्षेत्रीय समितिले सोमबार विज्ञप्ति निकालेर बिएलमा कार्यरत पत्रकार विष्टमाथि गौरादहमा थापाले गत २० भाद्रमा पहिलोपटक र २४ भाद्रमा दोश्रोपटक सुनियोजित रुपमा आक्रमण प्रयास गरेको भन्दै दोषीमाथि कानुनी कारवाहीको माग गरेको हो।

विज्ञप्तिमा पछिल्लो समय समाचारमा स्थानीय विषयहरुको उठान गर्दै विकृति, विसंगतीविरुद्ध सशक्त आवाज उठाउँदै आएका विष्टमाथि भएको हातपात र आक्रमणको घटना सुनियोजित भएको युनियनको ठहर छ।

२० भाद्रको रातिकाे समयमा कृष्णाष्टमी पर्वमा आयोजित कार्यक्रमस्थलमा रहेका विष्ट गौरादहमै भएको अर्को एउटा घटनाका बारेमा फोनमार्फत् आएको जानकारीपछि घटनास्थल पुगेर आवश्यक सूचना लिई फर्किसकेको अवस्थामा आएर पहिलोपटक दुर्व्यवहार गरी ‘देखाइदिन्छु’ भन्ने धम्की दिने थापाले नै दोश्रोपटक २४ भाद्रमा राति ९ बजे विष्ट आफ्नै कार्यालय अगाडि अन्य ३/४ जनासँग कुराकानी गरी बसिरहेको अवस्थामा निहुँ खोजी हातपात गर्दै आक्रमण प्रयास गरेका थिए। विष्टसँगै रहेका अन्यले विष्टमाथि थप घटना हुनबाट रोकेका थिए।

बिएलमा प्रकाशित विभिन्न समाचारका विषयलाई लिएर विष्टलाई कतिपय मानिसहरुले फोनमार्फत् धम्की दिइरहेकै समयमा भएको उक्त घटनाको पछाडि गम्भिर कारण हुन सक्ने प्रेस युनियनको अनुमान छ।

विज्ञप्ति :

प्रकाशित मिति: : 2023-09-12 13:20:00

प्रतिकृया दिनुहोस्