को हुन् आरजु?
– खानदानको कुरा गर्दा, श्री ३ महाराज जुद्धशमशेरकी नातिनी।
– पढाइको कुरा गर्दा, मनोविज्ञानमा विद्यावारिधि, मानको कुरा गर्दा, पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउबाकी पत्नी।
– राजनीतिको कुरा गर्दा, सत्तारूढ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य, पदको कुरा गर्दा संघीय सांसद, कृषि समितिकी सभापति।
एकबारको जुनीमा यति धेरै भैसकेकी भाग्यमानी डा. आरजु राणा देउवा। तर, यति भइसकेको मान्छेको कर्मको फल भनौ वा भाग्यको लेखा, देशका हरेक साना ठूला घोटालामा उनको नाम छुटेकै हुँदैन।
फलतः उनको छवि यस्तो बनेको छ कि यो देशकै सबैभन्दा ठूलो भ्रष्टाचारी हुन् उनी। यतिसम्मकि, यो नाम नै यस्तो बदनाम भएको छ– अब कोही पनि बाबुआमा आफ्नी छोरीको नामसमेत आरजु राख्न चाहदैनन्। आरजु नाम कैकैयीकै स्थितिमा पुग्न धेरै टाढा छैन।
यो स्तम्भकार, व्यक्तिगत रूपमा आरजु नामको बाटो नै नाप्नु नपर्ने यात्री हो। बाटो नै नाप्नु नपर्ने भएपछि, यो बाटोका बारेमा जानकारी राख्नुपर्ने कारण पनि केही भएन। तर, केही समययता यो नाम बदनाम हुने ग्राफ यति छिटो यति माथि उक्लेको छ कि यो नामलाई लिएर स्तम्भकारका मनमा केही प्रश्नको फालिम लागेको छ। प्रश्नहरूको शीरमा भने यही प्रश्न छ, आखिर आरजु आफ्नै कुकर्मका कारण यति धेरै बदनाम भएकी हुन् कि उनको भाग्यको लेखा नै यस्तो हो?
आमसञ्चारको एक विद्यार्थी हुनुको नाता स्तम्भकारलाई के थाहा छ भने मिडिया कहिलै पनि स्वतन्त्र र निस्पक्ष हुदैन। कारण, हरेक मिडिया चलाउने मालिकको निश्चित स्वार्थ हुन्छ, त्यही स्वार्थको आधारमा मिडियाको सम्पादकीय नीतिको अदृश्य एजेण्डा तय हुन्छ।
अनि, त्यही एजेण्डाको आधारमा सम्पादकले मिडियाको गुड–बुक बनाउँछ। सम्पादक भनेको चाँहि प्रकाशकको सीपीआरओ– चिफ पब्लिक रिलेसन अफिसर नै हो। उसले गुड–बुक बनाउँदा केही प्रोक्सिमिटी फ्याक्टरको आधार लिन्छ जस्तो कि प्रकाशकको राजनीतिक सिद्धान्त, विचार, पार्टी, क्षेत्रीयता, धर्म, लिङ्ग आदि–इत्यादि।
यसरी कुनै न कुनै प्रोक्सिमिटीका आधारमा बनाइएको मिडियाको गुड–बुकमा परेका मानिसका लागि त्यो मिडियाले सधैंभरि सकारात्मक लेख्छ वा चुप लागेर मौनसमर्थन गर्छ। त्यस्तै गुड–बुकमा परेकामध्ये केही चाँहि अझै पुल्पुल्याइएका मिडिया डार्लिङ नै हुन्छन्। उनीहरूका लागि भने आफू सोतर भएर पनि मिडियाले पक्षपोषण गरिरहेकै हुन्छन्।
प्रस्तुत पृष्ठभूमिमा यो पंक्तिकारलाई के लागिरहेको हो भने कतै आरजु मिडियाको गुडबुकमा नपरेरै उनको छवि यस्तो बनाइएको त हैन? कतै उनी मिडिया डार्लिङ बन्न नसक्दा नै उनीमाथि यति धेरै अन्याय भैरहेको त छैन?
यो पंक्तिकारलाई यदाकदा आरजुलाई शंकाको सुविधा दिन पनि मन लागेकै हो। तर, समय बित्दै जाँदा, उनले जे जस्ता थप गतिविधि र प्रतिवाद गरिरहेकी छिन्, ती सबैलाई हेर्ने हो भने उनले आफैँलाई त्यस्तो शंकाको सुविधा पनि दिन नसक्ने डिलतिर पुर्याएकी छिन्।
दृष्टान्तको रूपमा आरजु जोडिएको पछिल्लो घटना नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिऔं। यो प्रकरणका सूत्रधार मानिएका केही अभियुक्तहरूले प्रहरीसमक्ष नाम नै लिएर आरजुसम्मलाई मिलाएको दाबी गरे। मिलाएको भन्नाले उनलाई पैसा पुर्याएको भन्ने नै हो। संगीन प्रकरणको गम्भीर आरोप हो यो।
यो आरोप मात्र हो वा यसमा कुनै सत्यता पनि छ? त्यो त घटनाको स्वतन्त्र छानबिन गरेपछि नै निक्र्यौल हुने कुरा हो। तर, यसमा न आरजुसँग सोधपुछ गरियो न घटनाको त्यस कोणबाट अनुसन्धान नै गरियो। अनुसन्धान हुने गाईगुई चलिरहेकै बेला उल्टै यो प्रकरणको अनुसन्धान गरिरहेका उच्च प्रहरी अधिकारीहरूको रातारात सरूवा गरियो।
यो सरूवा प्रकरणमा आरजुलाई मज्जाले जोडेर मुलुकका सबैखाले मिडियाले समाचार बनाए। सबै कोणका मिडियाको एउटै निस्कर्ष थियो, आरजुकै जोडबलमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई उच्च प्रहरी अधिकारीहरू रातारात सरूवा गरिए।
समाचारहरूको पेटबोलीको भाषाले प्रष्टसँग के बुझ्न सकिन्थ्यो भने आफूतिर छानबिनको दिशा सोझिएपछि त्यसलाई निस्तेज पार्न उनले सबैखाले उपाय अपनाइन्। यतिसम्मकि, उनी सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका पति शेरबहादुर देउबालाई नै लिएर प्रधानमन्त्रीको सरकारी निबास बालुवाटार पुगिन्।
त्यहाँ उनले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर ती प्रहरी अधिकारीलाई पुरानो मितिको मन्त्रिपरिषदको निर्णय गराएर सरूवा गर्न बाध्य पारिन्। नेपाल प्रहरीको विभागीय मन्त्रालयका मन्त्री गृहमन्त्री राजधानी बाहिर रहेको बेला उनलाई जानकारी समेत नदिई यस्तो निर्णय गराउन आरजुले पति देउबामार्फत् सरकार ढाल्नेसम्मकै धम्की दिइन्।
अन्ततः एकथान प्रधानमन्त्रीकै लागि सबै त्याग्न तयार प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको फाइल खोलिएकै अवस्थामा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाइरहेका दुई उच्च प्रहरी अधिकारीको सरूवा गरिदिए।
– आखिर आरजु यो प्रकरणमा पानी छम्कन किन यति हत्ते गरेर लागिन्?
– सरकारले राम्रो काम गर्यो भनेर तारिफ पाइरहेको एउटा कामको पनि घाँटी निमोट्न किन प्रधानमन्त्री तयार भए होला?
– अनि, आफूलाई थाहा समेत नदिई पुरानो मितिमा प्रहरी अधिकारी सरूवा गराउने निर्णय हुँदा पनि नैतिकताको ठूलो फुई लगाउने गृहमन्त्री किन मौन भए होला?
– अझ, यस्तो हुँदै नभएको प्रस्ताव पुरानो मितिमा राखेर निर्णय गराउँदा पनि मन्त्रिपरिषदका सबै सदस्य लोतिकर्ने हुनुपर्ने खास कारण के होला त?
यी र यस्ता अनगिन्ति प्रश्नहरू फालिम लागिरहेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएका यी हरेक प्रश्नको तीर फेरि पनि आरजुतिरै फर्किएका छन्। आरजु सुरूदेखि नै पैसा र पदका लागि बदनाम छिन्। उनी पैसा र पदका लागि जे गर्न पनि तयार हुन्छिन् भन्ने एक किसिमको भाष्य नै बनेको छ।
पैसासँग सम्बन्धित सबै ठूला घोटालामा नाम जोडिदै आएकी उनी आफू सक्षम हुँदाहुँदै पनि महिलाको कोटामा पद लिदै आएकी छिन्। कांग्रेसको केन्द्रीय सदस्य र समावेसी कोटामा सांसद उनले दुबै महिला कोटामा लिएकी हुन्। यी दृष्टान्तहरूले उनी पैसाका लागि मात्र हैन, पदका लागि पनि जे गर्न तयार हुन्छिन् भन्ने तथ्य स्थापित छ।
केही समयअघि उनी अस्वभाविक रूपमा प्रतिनिधिसभाको कृषि समितिको निर्विरोध सभापति छानिइन्। यसको अर्थ उनी संसदमा रहेका सबै दलले विरोध नै नगरी सर्वसम्मत रूपमा बनाएकी समितिकी सभापति हुन्। त्यसका लागि उनले आफू किसानकी छोरी भएको बहुलट्ठी तर्क गरेकी छिन्। ठूलो कुरा गर्ने ओलीको प्रमुख प्रतिपक्षी दल एमालेले पनि सत्ता गठबन्धनसँग लेनदेन गरेर आरजु किसानकै छोरी हुन् भनेर चोचोमा मोचो मिलायो।
संसद्मा राजनीति गर्ने सबै नांगै भए पनि बाहिर रहेकाहरू आरजु कृषि समितिमा निर्विरोध हुँदा जति हाँसे, त्योभन्दा बढी किसानकी छोरी भन्दा हाँसे। आरजु सधैं यस्तै अन्टसन्ट बोल्छिन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि जे जस्ता तर्कका साथ मिडिया ट्रायल गरेकी थिइन्, त्यसमा पनि मिडिया बलुन उनकै विपक्षमा फुटेको थियो। उनी जति बोल्दै जान्छिन्, त्यति फस्दै जान्छिन्। यसपटक मात्र हैन, विगतमा पनि कयौपटक अन्टसन्ट बोलेर आफूलाई मात्र हैन, पति देउबा र कांग्रेसलाई पनि रक्षात्मक अवस्थामा पुर्याएकी छिन्।
देउबासँग विवाह गरेयता मात्र हैन, त्यसअघि पनि आरजु सामान्य मानिस हैनन्। टाइमलाइनमा उनको जीवन हेर्याे भने उनले गरेका अनेकौ असामान्य गतिविधि देखिन्छन्। तर, ती सबै उनी एक सामान्य मानिस हुँदाका थिए, व्यक्तिगत भनेर विस्मृतिमा राख्न पाइन्छ। तर, नेपाली कांग्रेसका नेता देउबाकी पत्नी भएयता उनले गरेका गतिविधिलाई व्यक्तिगत भनेर छोड्न मिल्दैन। त्यसयता, यो वा त्यो नाममा सधैं शक्तिमा रहेर पैसा र पदप्रतिको चरम आशक्ति देखाउँदै आएकी छिन्।
बिट मार्नुअघि, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी आरजुले साम, दाम, दण्ड भेद प्रयोग गरेर जुन किसिमले अनुसन्धान अगाडि बढाइरहेका उच्च प्रहरी अधिकारीलाई सरूवा गराइन्, त्यसबाट उनी यो प्रकरणमा संलग्न रहेको अरू शंका गर्ने ठाउँ दिएकी छिन्। यसबाट उनी त ढिलोचाँडो सकिन्छिन् नै, उनका पति देउबाको राजनीतिलाई पनि अप्ठ्यारोमा पारिदिइन्। यति मात्र हैन, यसै पनि अप्ठ्यारोमा परेको कांग्रेस, माओवादी, एमालेजस्ता पुराना पार्टीहरूको राजनीति अरू धरापमा पारिदिइन्।
आशा गरौं, कांग्रेसमा सधैभरी देउबाको जय नहोला। उनका दिन गएसँगै आरजुका पनि दुर्दिन सुरू हुनेछन् नै। उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन, गिरिजाप्रसाद कोइराला गएसँगै राजनीति सकिएकी सुजातालाई नै हेरे हुन्छ। आरजुले पनि यो दुर्दान्त घटनाबाट पाठ सिके उनको त भलो हुन्थ्यो नै, उनका कारण प्रश्नको घेरामुनि परेका धेरैले पनि राहत पाउँथे।